कृष्ण अन्जान, गुल्मी । परिश्रमीका लागि कुनै पनि पेशा सानाे या ठुलाे हुँदैन भन्ने उदाहरण हुन रुरुक्षेत्र गाउँपालिका १ भट्कुवा नहकुलेका युवराज ज्ञवाली ।
उनी दशवर्ष देखि भट्कुवामा सिलाई कटाईकाे पेशालाई व्यवसायीक बनाएर बसेका मात्र छैनन यति बेला गाउँमा कपडा सिलाउने उनि मात्र हुन ।
दिनरात फुर्सदै हुँदैन कपडा काट्ने सिलाउने कामले सिलाई मसिन चलाउँदै युवराजले भने ।
शुरुमा उनले अँगालेकाे सिलाई पेशालाई गाउँमा जमाउन ठुलै कसरत गर्नु परेकाे तिताे यथार्थ उनीसँग छ । जाति विशेषले गर्दै आईरहेकाे पेशा अँगाल्न गाउँमा आउँदा अपमान खप्नसम्म खपियाे तर निरन्तर लागिरहेँ र यतिबेला मेराे पेशा सम्मानित मात्र बनेकाे छैन कि लुगा सिलाउन परे म नभै हुँदै हुँदैन ।
गाउँमा विगतमा परियार समुदायले बालिघरे प्रथामा लुगा सिलाउने चलन थियाे । विस्तारै गाउँबाट याे समुदाय वसाई सरेपछि भाेट्केलीहरुलाई करिब पाँच किलोमिटर तल रिडीबजारमा लुगा सिलाउन जानू पर्ने वाध्यता बन्याे ।
यहि गाउँकाे वाध्यतालाई बुझेर युवराज ज्ञवालीले गाउँमै सिलाई कटाईकाे व्यवसाय शुरु गरेकाे बताउँछन ।
सन १९८८ तिर भारतकाे लुधियाना बस्दा उनले याे पेशा अँगालेका हुन ।लुधियानाबाट दिल्ली सरेपछि उनी यहि पेशामा निरन्तर लागिरहे । "पढाइ थिएन । अरु सीप सिक्न सकिएन । याे सीप सजिलो पनि लाग्याे र सिकिहालेँ गाउँमा आएर यहि सीपलाई व्यवसाय बनाउँदा शुरुशुरुमा बाहुनका छाेराले लुगा सिलाउन थाल्याे भनेर छिछि र दुरदुर भईयाे। त्याे एउटा समय थियाे तर छिटै समय फेरियाे" उनले भने ।
उनले गाउँमा मुख्यरुपले सर्ट, पाईन्ट,लेडिज सुट, चाेलाे, ब्लाउज सिलाउने गर्छन । "स्कुलकाे ड्रेस सिलाउने सिजन, तिज, दशैँ, विवाहमा त साह्रै भिडभाड हुन्छ । जीवन सँगिनि लक्ष्मीले पनि राम्रै साथ दिएकि छिन" ज्ञवालीले भने ।
एउटा सिलाई मसिन र एउटा ईन्टरलकबाट काम चलाउँदै आएका युवराज ज्ञवालीलाई उनले दशवर्ष देखि धानेकाे सिलाई पेशा प्रति राज्यले एक नजर पनि लगाएकाे छैन । त्यसैपनि गाउँ रित्तिँदै छ । गाउँका विश्वकर्माका आरनहरु खालि छन । परियार समुदायले गाउँ छाडेका छन । न गाउँमा दाम्ला, नाम्ला बुन्नेहरु छन न त अरु पेशा अँगाल्ने समुदाय नै गाउँमा छ । यस्ताे अवस्थामा गाउँमै बसेर सिलाई कटाईकाे सेवा दिने युवराज ज्ञवालीले हिजो भन्दा आज सम्मानित हुँदै गएको महसुस भएको बताउँछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology