देवदह । देवदह नगरपालिका वडा नं ५ का टोल विकास संस्थाले भोटेकोशी बाढी प्रभावितहरुलाई ९ लाख १४ हजार ६ सय ७२ रुपैंया संकलन गरेर पठाएका छन् ।
वडाका विभिन्न २१ वटा टोल विकास संस्थाले टोलबासीहरुलाई यथासक्य सहयोगको लागि अपिल गरेर त्यसबाट संकलित ९ लाख १४ हजार ६ सय ७२ रुपैंया रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको खातामा दाखिला गरेका हुन् ।
टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आजै उक्त रकम दाखिला गरि सो को सक्कल भौचर वडा कार्यालयमा बुझाएको अध्यक्ष गणेश डुम्रेले सेतोमसीलाई जानकारी दिए । अध्यक्ष डुम्रेका अनुसार टोल विकास संस्था संगै २ वटा आमा समुह तथा एउटा व्यवसायिक प्रतिष्ठानबाट समेत सहयोग संकलन भएको छ ।
राहत संकलन प्रति खुशि व्यक्त गर्दै डुम्रेले भने, ‘टोल विकास संस्थाहरुले यसअघि पनि विपद्मा परेका बेला सहयोग गर्दै आएकोमा यसपटक राष्ट्रिय विपत्तिको समयमा एकजुट भएर राहत रकम संकलन गर्नुभएको छ, यो सरहानीय कार्य हो ।’ देशलाई दुखेको बेला एउटा नागरिकलाई पिडा हुनु सामान्य भएको भन्दै उनले मानविय सेवामा खटिएका टोलविकास संस्थाका पदाधिकारी तथा सम्पूर्ण टोलवासीलाई धन्यवाद व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology