देवदह । घडीले दिनको १२ बझाउन केही समय बाँकी छ । सुर्य शिरैमाथि अडिएको छ । चर्को घाममा एक हातले छाता र अर्को हातले प्लेकार्ड अनि ब्यानर समाउदै यहाँका विद्यालय र टोलहरूमा बनेका बाल क्लब, टोल सुधार समिति र स्थानीय आमा समूहका प्रतिनिधिसहित झन्डै एक हजार जनाको प्रभातफेरी वडा कार्यालयबाट नगरपालिकाको कार्यालयतर्फ अघि बढिरहेको छ । यो देवदह नगरपालिका वडा नं ५ नगरकै पहिलो बालमैत्री र वातावरणमैत्री वडा घोषणा हुँदै गरेको खुसियालीमा सोमबार देवदहमा देखिएको दृश्य हो ।
गर्मी, धुलो र कतिपय ठाउंमा हिलो टेक्दै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा, वडा नं ५ का वडा अध्यक्ष समेत रहेका नगर प्रवक्ता गणेश डुम्रे सहितका जनप्रतिनिधि, विद्यार्थी र स्थानीय नागरिक वडा कार्यालयदेखि झन्डै तीन किलोमिटरको दुरीमा रहेको नगरपालिका पुगे । पन्चेबाजाको तालमा नाच्दै, बालमैत्री स्थानीय शासन सम्बन्धि नारामा स्वरमा स्वर मिसाउँदै स्थानीयहरू १२ बजे नगरपालिकामा भेला भए ।
नगरपालिकाको सभाहलमा एक भव्य समारोहबीच रूपन्देही जिल्ला समन्वय समिति संयोजक उमाकान्त चपागाईंले देवदह ५ लाई बालमैत्री वडा घोषणा गर्दै प्रमाण पत्र प्रदान गरे भने देवदहको पहिलो वातावरणमैत्री वडाको प्रमाणपत्र नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले प्रदान गरे ।
बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रममा प्रतिवेदन पेश गर्दै वडा अध्यक्ष गणेश डुम्रेले २०७८ सालदेखि सुरू भएको अभियानले सफलता प्राप्त गरेको बताए । ५१ वटा बालमैत्री सूचक पुरा गर्न वडाका २१ वटा टोल विकास संस्था, १९ वटा आमा समुह, विद्यालय र बाल क्लबले महत्वपुर्ण सहयोग पुर्याएको बताए । २ हजार १९५ घरधुरी र आठ हजार ९०० जनसंख्या रहेको वडाका सबैको योगदानले मात्र सफलता प्राप्त भएको उल्लेख गर्दै उनले बालमैत्री वडाको रूपमा वडालाई टिकाइराख्नको लागि समेत सबैको सहयोग रहने विश्वास व्यक्त गरे ।
त्यसैगरी वडाअध्यक्ष डुम्रेले वडालाई वातावरणमैत्री वडा बनाउन २०७८ साल चैत्र २२ गते विश्व वातावरण दिवसबाट सुरू गरिएको सरसफाई अभियानले सार्थकता पाएकोले बालमैत्रीजस्तै देवदहको पहिलो वातावरणमैत्री वडा पनि देवदह ५ बन्न सकेको बताए । वडाले गरेको कामले समग्र नगरकै समाजिक विकासमा योगदान गर्ने विश्वास व्यक्त गर्दै उनले बालमैत्री र वातावरणमैत्री वडा घोषणापछि यसलाई दिगो रुप दिने चुनौती थपिएको बताए ।
कार्यक्रममा बोल्दै रूपन्देही जिल्ला समन्वय समिति संयोजक उमाकान्त चपागाईंले नेपाली समाजले आफुलाई परिस्कृत गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड पुरा गरिरहेको बताए । बालमैत्री स्थानीय शासनका ५१ सूचक पुरा गर्नु आफैमा महत्वपुर्ण आर्थिक - सामाजिक परिवर्तन भएको उल्लेख गर्दै संयोजक चपागाईंले बालमैत्री, वातावरणमैत्री वा युवामैत्री स्थानीय तह घोषणा गर्नु आफैमा महत्वपुर्ण उपलब्धि भएपनि यसलाई निरन्तरता दिने र टिकाइराख्ने विषय चुनौतिपूर्ण हुने बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले नगरपालिका बालमैत्री नगर निर्माणको दिशामा अघि बढेको बताए । हाम्रा बालबालिका सुरक्षित छन्, उनीह

रूको भविष्य उज्जवल छ । हामी वातावरणमैत्री छौ र हामी यसलाई व्यवहारमै कार्यान्वयन गर्न सक्छौं भन्ने सन्देश वडा नं ५ ले दिएको बताउंदै खरेलले नगरको सबै वडाले राम्रो कुराको सिको गर्दै दिगो बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर बाल संजाल फोकल पर्सन परशुराम ढकाल, बालक्लबका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतले बोलेका थिए ।
वडाका विभिन्न संघसंस्थालाई सम्मान समेत गरिएको सो कार्यक्रममा बालमैत्री वडा दिगोपना रणनैतिक पुस्तकसमेत विमोचन गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology