देवदह । नेतृत्व विकासको लागि सकारात्मक उर्जा आवश्यक हुन्छ । सकारात्मक उर्जाले सहि सोँच र दृष्टिकोण निर्माणमा मद्धत गर्छ । आइतवार रुपन्देहीको देवदहमा सकारात्मक सोँच सहितको नेतृत्व विकासका लागि एउटा कार्यक्रम आयोजना गरियो ।
देवदह नगरपालिका वडा नं ५ को आयोजनामा भएको उक्त कार्यक्रमको उद्धेश्य सोँच शैली र संरचनाको पुननिर्माण गर्ने रहेको थियो । जसले समुदायमा रहेका विभिन्न संघसंस्था र संरचनागत निकायको नेतृत्व गर्नेहरुलाई आत्मचेतना र जिम्मेवारीको नयाँ बाटोतर्फ हिँड्न प्रेरित गरोस् ।
कार्यक्रममा सहभागीहरु संस्थागत रुपमा पदाधिकारी वा प्रतिनिधि मात्र थिएनन् । उनीहरु आफ्नै क्षेत्रमा भूमिका निर्वाह गर्दै आएका आमा÷महिला समूहका अग्रणी महिला, सहकारीका प्रबन्धक, विद्यालयका प्राचार्य, टोल विकास संस्थाका सदस्यदेखि सामुदायिक वनका सदस्यहरुसम्म थिए । उनीहरु विभिन्न पृष्ठभूमिबाट आएका भए पनि सबैको एउटै साझा आकांक्षा थियो आफुले नेतृत्व गरेको संस्थामार्फत समाजलाई अझ सबल, सचेत र आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने ।
मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी कार्यक्रमका प्रशिक्षक थिए । उनले कार्यक्रममा प्रस्तुत गरेको विषय र शव्दहरुले सहभागिहरुमा उत्सुकता र कौतुहलता प्रदान गरेको देखिन्थ्यो । सकारात्मक सोँचबाटै समाज परिवर्तन सम्भव रहेको बताएका उनले त्यसको लागि नेतृत्वकर्तामा तिव्र इच्छाशक्ति हुनुपर्नेमा जोड दिए । उनको प्रशिक्षण केवल विचारको सन्देश मात्र थिएन, अनुभव र जीवनदर्शन मिश्रीत भाव थियो । जसले सहभागीहरुको अनुहारमा विश्वास र आत्मबलको झिल्को दर्शाएको थियो ।
कार्यक्रममा सहभागि देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले वडा स्तरमा हुने रचनात्मक कामले नगरकै प्रतिनिधित्व गरेकोमा खुसी व्यक्त गरिन् । ‘वडाले राम्रो काम गर्दै गयो भने नगरको भविष्य आफैं उज्यालो हुन्छ । उनले भनिन्, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा वडा नं ५ ले गरेको योगदान नगरको समृद्धि र सफलतासंग जोडिएको छ ।’
नगरका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले हरेक वर्षजसो संघसंस्थामा नेतृत्व परिवर्तन हुनसक्ने भएकाले यस्ता कार्यक्रमलाई नियमित बनाउनुपर्ने धारणा राखे । सकारात्मक उर्जा बिना समाज स्थिर रहन नसक्ने बताएका उनले अभियानको निरन्तरताले मात्र त्यसको सार्थकता सिद्ध हुने बताए ।
कार्यक्रममा बोल्दै नगर प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले वडाले गरेको अभ्यास केवल वडा स्तरमै सीमित नरहि नगरभर फैलिनुपर्ने धारण व्यक्त गरे । उनले भने, ‘नेतृत्व भनेको केवल पद होइन, सोँच हो । यो प्रशिक्षणले सोँच, शैली र संरचनाको पुनर्निर्माण गर्ने अवसर सिर्जना गर्नेमा म विश्वस्त छु ।’
कार्यक्रममा सहभागीहरुको अनुहारमा देखिएको उत्साह नै यसको सफलता थियो । प्रभु बैङ्क लिमिटेड खैरेनी शाखाको सहयोगमा भएको एकदिने कार्यक्रमले सकारात्मक सोँच विकासका लागि प्रदान गरेको ज्ञानको नतिजा तत्काल नदेखिन सक्छ । तर उपस्थित आमा समूहका सदस्यले आफ्ना अनुभव समूहमा बाँड्दा, विद्यालयका प्रतिनिधिले भविष्यको शिक्षा प्रणालीको खाका कोर्दा, सहकारीका पदाधिकारीले आर्थिक आत्मनिर्भरताबारे संस्थामा बहस पैरवी गर्न सक्दा, सामुदायिक वनका सदस्यहरुले प्रकृतिसँगको सामिप्यता सम्झिेर नीति र कार्यक्रम निर्माण गरेर लागु गर्दा यो कार्यक्रमको सार्थककता देखिनेछ ।
यसरी, एउटा वडाले आफ्नो आर्थिक स्रोत विना अन्य निकायसँगको सहकार्यमा गरेको सानो प्रयासले समग्र नगरलाई नयाँ चेतनाको प्रत्याभुति दिलाउन सक्छ । छिटपुट रुपमा बजेट विनियोजन गरेर कर्मकाण्डी कार्यक्रम बनाइनुको साटो यि र यस्ता दिर्घकालिन सरोकार राख्ने विषयसहितका कार्यक्रमहरुको सिको अन्य वडाले समेत गर्नुपर्ने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology