देवदह । देवदह नगरपालिकाको वडा नं ७ बालमैत्री वडा घोषणा हुने भएको छ । वडा कार्यालयको सभाहलमा दुई दिनसम्म संचालित सर्वपक्षीय बैठकले बालमैत्री स्थानीय शासनका सबै सूचक पुरा गरि २०८२ जेठ मसान्तभित्र बालमैत्री वडा घोषणा गर्ने निर्णय गरेको हो ।
सोमबार र मंगलबार गरि दुई दिनसम्म जारी योजना बैठकले बालमैत्री सहजकर्तासंगको समन्वयमा सबै सूचक पुरा गरि चालु आर्थिक वर्षभित्रै बालमैत्री वडा घोषणा गर्ने निर्णय गरेको वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।
'वडा बाल प्रोफाइल तयार भैसकेको छ' वडा अध्यक्ष अधिकारीले भने, '५१ मध्ये २६ सूचक पुरा भएका छन् । अन्य सूचक पनि पुरा गरेर बालमैत्री वडा घोषणा गर्छौं ।'
बालमैत्री वडा घोषणा अभियानमा वडामा रहेका विद्यालय, टोलविकास संस्था, बाल क्लब, स्वास्थ्य संस्थासहित सम्पूर्ण वडावासी परिचालित हुने र तोकिएको समयमै कार्यसम्पन्न गरिने वडा कार्यालयले जनाएको छ ।
देवदह नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ सम्म सबै वडालाई बालमैत्री वडा घोषणा गरेर देवदहलाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरेकोमा आर्थिक वर्ष २०८१/०८२ मा वडा नं ६, ७, ८ र ९ लाई बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।
नगरपालिकाको वडा नं ५ गत असार ३१ गते नै बालमैत्री घोषणा भैसकेको छ । गतवर्ष नै बालमैत्री वडा घोषणा गर्ने लक्ष्य लिइएको भएपनि घोषणा हुन नसकेको वडा नं १० ले पनि बालमैत्री वडा अभियान संचालन गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology