देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय देवदह-५, ले दशैँ विशेष कार्यक्रम गरेको छ । संस्कार र संस्कृतिको संरक्षण गर्दै पुर्खाले हस्तान्तरण गरेको सांस्कृतिक विरासत नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
विद्यालयले पूर्व प्राथमिक तहका बालबालिकालाई लक्षित गरी आयोजना गरेको कार्यक्रममा दशैँको सांस्कृतिक महत्व, टीका, जमरा र दक्षिणाको परम्परालाई व्यवहारमै अनुभूति गराउने प्रयास गरिएको थियो । कार्यक्रमले रङ्गीचङ्गी पोसाकमा सजिएका बालबालिकामा चाडपर्वप्रतिको उत्साह थप्दै नेपाली मौलिक संस्कार र परम्परासँग परिचित गराउने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा प्रिन्सिपल कृष्णप्रसाद गैरेले विद्यालयले पाठ्यक्रममा आधारित पठनपाठनसँगै नेपाली संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले विजया दशमी, शुभ दीपावली, छठ तथा नेपाल संवत् ११४७ को अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुको उज्जवल शैक्षिक भविष्यको कामना गरे ।
सोही अवसरमा विद्यालयका सहायक प्रिन्सिपल रोशी गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै साना बालबालिकालाई टीका, दक्षिणा र जमरासहित शुभकामना पत्र तथा बालदर्पण पत्रिका प्रदान गरिन् ।
पूर्व प्राथमिक तहका सम्पूर्ण शिक्षक तथा कर्मचारीको उपस्थितिमा भएको कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजन, पूर्व प्राथमिक तहका इन्चार्ज मनमाया रुचालको अध्यक्षता र शिक्षक सृष्टि विश्वकर्माको सञ्चालनमा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology