एजेन्सी । श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवास कब्जा गरेका छन् । देशका विभिन्न स्थानबाट, बस, ट्रक, रेल र कार चढेर राजधानी कोलम्बो पुगेका हजारौँ प्रदर्शनकारीले राष्टपति निवास कब्जा गरेका समाचार संस्था एएफपीले जनाएको छ ।
प्रदर्शनकारीले प्रहरीको अवरोध हटाउँदै राष्ट्रपति राजापाक्षेको निवास वरपर पुगेर ढुंगा तथा इट्टा प्रहार गरेका छन् । प्रदर्शनकारी राष्ट्रपति निवासमा पसेका र केहीले खुसीयाली मनाइरहेका दृष्य सार्वजनिक भएका छन् ।
केही प्रदर्शनकारीले राष्ट्रपति निवासको पौडी पोखरीमा पौडीको मज्जा पनि लिएका छन् ।
प्रदर्शनकारीले निवास घेर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सेनाले सुरक्षित ठाउँमा लगेको खबरमा उल्लेख छ ।
आजको प्रदर्शन आर्थिक संकट सुरु भएयताकै ठूलो भएको खबरमा उल्लेख छ ।
प्रहरीले सयौँ राउण्ड अश्रुग्यास र हवाई फायर गरेको छ । उनिहरुले राष्ट्रपतिले पारिवारिक व्यक्तिलाई मात्रै मुख्य पदमा नियुक्ति गरेको र आफ्नो स्वार्थको लागि देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् ।
२ करोड २० लाख जनसंख्या भएको श्रीलंका आर्थिक रुपमा टाट पल्टिएको छ । औषधि, इन्धन, खाद्यान्न लगायतका वस्तुको चरम अभाव भएको छ ।
नागरिक भोकमरीमा पुगेका छन्, विद्यालयहरु बन्द हुने क्रम बढेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology