बुटवल । तिहारको अवसरमा बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित शुक्रपथमा आयोजित महोत्सवको शुक्रबार साँझ बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले दीप प्रज्ज्वलन गरि उद्घाटन गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको गौरवपूर्ण इतिहास र बुटवल उद्योग वाणिज्य संघको लामो व्यावसायिक विरासतलाई स्मरण गर्दै सहरको आर्थिक विकासमा स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले बुटवलको व्यापार, व्यवसाय र आर्थिक गतिविधिलाई चलायमान बनाउन उपमहानगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको उल्लेख गरे । औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि स्थानीय सरकार फरक सोच र प्राथमिकतासहित अघि बढेको बताउँदै उनले मोतीपुर औद्योगिक क्षेत्र स्थापना र बुटवल १५ मा कृषि उपज केन्द्र निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराए ।
त्यसैगरी बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले महोत्सवले बजार चलायमान गराउने वबश्वास व्यक्त गरिन् । बुटवल समयसापेक्ष डिजिटल प्रविधिमा अघि बढेको बताउँदै उनले समयको मागसंगै अगाडि बढ्न उद्योगी व्यवसायीलाई आग्रह गरिन् ।
बुटवल उपमहानगरपालिका संरक्षक रहेको दीपावली सडक खाना महोत्सव यहि कात्तिक २२ गतेसम्म अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन गरिने छ । महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी ५० वटा स्टल रहने छन् ।
महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले स्थानीय उत्पादन, खानाका परिकार र व्यवसायको प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सवले दीपावलीको सांस्कृतिक महत्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको पनि बताए ।
महोत्सवमा खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत समेटिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology