काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने बताएका छन् । विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशबारे भने पार्टी र सत्तारु गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने उनले बताए ।
राष्ट्रपति भण्डारीले आइतबार मात्र १५ बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले विधेयक पुनर्विचार गर्न पठाउने व्यवस्था संविधानमै रहेको बताए ।
‘कुनै विधेयकलाई फिर्ता पठाउन चाहनुभयो भने पठाउन पाउने व्यवस्था गरेकै हो,’ उनले भने, ‘संविधानमा गरेको व्यवस्थाका आधारमा फर्काएकै कुरालाई लिएर ठूलो आक्रोश प्रतिक्रिया व्यक्त गर्नुपर्ने, असंवैधानिक भन्नुपर्ने मलाई लाग्दैन ।’
राष्ट्रपतिले दिएको सन्देश स्वीकार गर्ने वा विधेयक फेरि जस्ताको तस्तै पठाउने भन्ने संसदको विषय भएको महामन्त्री थापाले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology