देवदह । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
शनिबार संसदीय क्षेत्र नम्बर १ र देवदह नगर समितिको संयुक्त बैठकले बोहराको एकल नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको राप्रपाले जनाएको छ ।
बैठकमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री ताहिर अली, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, तोयानाथ लम्साल, स्वाती थापा, क्षेत्र नम्बर १ का उपाध्यक्ष बसन्त न्यौपाने, देवदह नगरपालिकाका अध्यक्ष माधव रिमाल लगायतको उपस्थिति रहेको थियो ।
बोहरा रुपन्देही क्षेत्र नम्बर १ वा ३ मध्य एउटा क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने चर्चा चलिरहेको बेला राप्रपा क्षेत्र नं. १ ले बोहराको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
यस अघि नेकपा एमाले र नेकपा माओवादीको संयुक्त प्यानलबाट एमाले नेता छविलाल विश्वकर्मा निर्वाचित भएका थिए । यस क्षेत्रबाट नेपाली कांग्रेसका नेता अब्दुल रज्जाक निर्वाचन लड्ने चर्चा छ ।
केन्द्रिय तहमा एमाले र राप्रपाविच चुनावी सहकार्यको लागी गृहकार्य चलिरहेको अवस्थामा बोहोरा क्षेत्र नं. १ बाट सिफारिस भएसंगै एमाले नेता छविलाल विश्वकर्मा यही क्षेत्रबाट प्रत्यक्ष लड्ने छन् वा बोहोराका लागि एमालेले मैदान छोड्ने छ भन्ने चर्चा सुरु भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology