कविता "मान्छे"
चासो त्यो धनको छ मान पदको, मान्छे डुब्यो स्वार्थमा ।
जाग्यो रोग अझै कडा किसिमले, फैलिन्छ रे विश्वमा ।।
कोरोना अझ क्रुद्ध भो अवनिमा, बढ्दो छ यो लोकमा।
सारा विश्व छ त्रासका कहरमा , पर्छन् सबै शोकमा ।।-१
यस्तो हालतमा यहाँ मुलुकमा , उफ्रिन्छ मान्छे किन।
रोगी मानिस मर्छ अौषधि विना , नेता निदाए किन।।
कुन् कर्तव्य ठुलो थियोे मनुजको , सोच्दैन मान्छे किन।
नेताको मन डुल्छ उच्च पदमा, हान्छन् झटारो किन।।-२
भन्छन् अाज अभाव अक्सिजनको, बढ्दो छ त्यो बेसरी।
छैनन् ठाउँ यथेष्ट हस्पिटलमा , जाग्यो दशा हे हरि ।।
यस्तो नाजुक चाल अाज छ यहाँ, नेता रमे मोजले।
मान्छेमा नव ज्ञान चेत नभए , मर्छन् निकै रोगले ।।-३
सत्ता मात्र ठुलो हुँदैन थलमा, भन्ने विचारीकन ।
जागून् मानिस सन्त भक्त अगुवा,सङ्लो बनाई मन।।
बोल्छन् तुच्छ कुरा गरेर झगडा,फुट्छन् विना अर्थले।
जुट्छन् स्वार्थ र लाभका कहरले,सिद्धान्तका खोलले।।-४
शिक्षा ज्ञान कला दया सीप विना, मान्छे बन्यो लम्पट।
सच्चा खेल र देश प्रेम नभए, पर्ला अझै सङ्कट।।
ऐले यो युगमा यसै मुलुकमा, मान्छे भए अाहत।
मान्छेको मन त्यो प्रदूषित भए , मिल्दैन है राहत ।।-५
✍️ के. पी. पौडेल, रसुवा
हाल :काठमाडौं
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology