देवदह । नेपाल कम्युनिस्ट पार्टी (एमाले) देवदह नगर कमिटीका अध्यक्ष टिकाराम चापागाईंले एमाले परित्याग गरेका छन् । देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको घोँषणा गरेका हुन् ।
पार्टीमा सधैंभरी सिमित मान्छे नेता हुने र कार्यकर्ताको विशाल पंक्ति सधै कार्यकर्ता नै रहिरहनुपर्ने बेथितिको विरुद्ध आफुले विद्रोह गरेको उल्लेख गर्दै उनले आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोँषणा गरे ।
चापागाईंले प्रजातान्त्र तथा दलिय व्यवस्था अपरिहार्य रहे पनि पछिल्लो समय हरेक पार्टिहरुमा निरंकुश प्रवृत्ति हावी भएको दाबी गर्दै आँफु स्वतन्त्र रुपमा रहेर देश तथा आफ्नो क्षेत्रको समग्र विकासमा समर्पित हुने बताए ।
४१ वर्षदेखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको स्मरण गर्दै उनले स्थानीय विकासका लागि स्थानीय नेतृत्वले राजनीतिको बागडोर सम्हाल्नुपर्नेमा जोड दिए ।
तत्कालीन एमालेको आफ्नो गाउँ आफै बनाऔं नारालाई स्मरण गर्दै चापागाईंले भने, "हामीले आफ्नो गाउँ आफै बनाऔं त भन्यौं तर आफ्नो क्षेत्र आफै विकास गरौं भनेर स्थानीय नेतालाई भुमिका दिने काम कहिले गरेनौं ।" उनले अगाडि थपे "यसरी सधै भरी बाहिरका मान्छे चुनावमा झोला बोकेर आउने र सांसद जितेर जाने प्रवृत्तिले विकास सम्भव छैन ।"
गंगालाल श्रेष्ठहरू झुन्डिएर मात्रै प्रजातन्त्र आएको उल्लेख गर्दै चापागाईंले आफू यस क्षेत्रको विकास र समृद्धिको लागि झुण्डिन तयार रहेको प्रण गरे । "म जित्छु, मैले यहाँका नागरिकसंग दशकौंदेखि संगै काम गरेको छु, सुखदु:ख बाँडेको छु, तर यदि पराजय नै भोगेछु भनेपनि यहीँ रहेर यहि समाजको समृद्धिका लागि काम गर्नेछु" उनले भने ।
स्मरण रहोस्, यस अघि वि. सं. २०७४ सालमा भएको स्थानीय चुनावमा चापागाईं कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार हिरा केसीसंग झिनो मतले पराजित भएका थिए ।
यस क्षेत्रका चर्चित नेता चापागाईंको पार्टी परित्याग आगामी निर्वाचनमा एमालेलाई भारी पर्ने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology