कास्की । तिहारका अवसरमा पोखरामा मात्रै दुई करोड ५० लाख रुपियाँको फूल तथा माला बिक्री हुने अनुमान गरिएको छ।
फ्लोरिकल्चर एसोसियसन, कास्कीका अनुसार यो पटक तिहारलाई लक्षित गरेर दुई लाख फूलका बेर्ना रोपिएको छ ।
फ्लोरिकल्चर एसोसियसन, कास्कीका पूर्वअध्यक्ष दयाकुमार द्वाले तिहारमा बढी फूल बिक्री हुँदा फूलको उत्पादनलाई बढाएको बताए। “हरेक कार्यक्रममा फूलको मालाको प्रयोग हुन्छ। तिहारमा फूलको व्यापार राम्रो हुन्छ,” उनले भने ।
तर, कास्की फूलमा आत्मनिर्भर भने छैन। यहाँ लमजुङ, स्याङ्जा, गोरखादेखि फूल आउने गरेको छ ।
द्वाकाअनुसार गण्डकी प्रदेशमा ४८ जनाले फूलको व्यवसाय गरेका छन्। व्यवसायीलाई सम्बन्धित निकायले नहेरिदिँदा समस्या परेको उनकाे गुनासो छ।
पुष्प नीति र कार्यक्रम भए पनि सरकारले यसलाई प्राथमिकतामा नराख्दा फूल खेती फस्टाउन नसकेको उनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology