देवदह । तिहारजस्ता पर्व, हरेक उत्सव र घटनाहरूमा सबैभन्दा खोजिने, चाहिने र नभई नहुने 'फूल'मा समेत देश आत्मनिर्भर हुन नसक्दा बर्षेनी करोडौं रकम विदेशीईरहेको छ । फूलको अभावमा मगमग बास्ना आउने सुन्दर फूलको बदलामा प्लास्टिकबाट निर्मित फूलका माला पहिरिन मानिसहरू बाध्य छन् र हाल आएर प्लास्टिककै फूलले प्राकृतिक फूलको स्थान ओगट्ने खतरा समेत बढेर गएको छ ।
यसै सन्दर्भमा पृथक कार्यले चर्चा बटुल्दै आएको देवदह नगरपालिका वडा नं. ५ ले विदेशी फूलको आयात रोक्न र फूलमा आत्मनिर्भर हुनको लागि वडाबासीलाई वितरण गरेका फूलका विरुवाले उत्पादन दिन सुरू गरेका छन् । देवदह-५ का हरेक घर अगाडि र कतिपयको कौशीमा समेत मनै लोभ्याउने गरि ढकमक्क फूल फूलेका छन् । प्रत्येक घर धुरिलाई ३ वटाका दरले वितरण गरिएका ६ हजार तीन सय र स्थानियहरूले आफै उत्पादन गरेर रोपेका फूलका विरुवाहरूले यतिबेला चाडपर्वलाई पुग्ने गरि फूल मात्रै उत्पादन गरेका छैनन्, वडाका सबै टोलहरूलाई नै सुन्दर र सुगन्धित बनाएका छन् ।
देवदह नगरपालिकाका नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रे परिवर्तनको सुरुवात आफैबाट र सानासाना कामबाट गर्नुपर्छ भन्ने उद्धेश्यले वडामा संचालन भएका सृजनशील कार्यमध्ये फूलका विरुवा वितरण पनि एक भएको बताउँछन् । वडाभित्रका २१ वटा टोलका दुई हजार २९५ घर धुरीलाई वडाले वितरण गरेका झन्डै ६ हजार तीन सय फूलका विरुवा र स्थानीयहरूले आफ्नै पहलमा रोपेका विरुवाले समेत राम्रो उत्पादन दिएको र वडा फूलमा आत्मनिर्भर भएको उनको भनाई छ ।

"हामीले सामान्य ठानेका तर हामीलाई सधै चाहिने स-साना बस्तुको खरिदमा राज्यको ठूलो पुँजी बाहिरिएको छ" उनी भन्छन्, "हामीलाई दैनिक जीवनमा आवश्यक बस्तुहरू हामीले आफै उत्पादन गर्नुपर्छ भन्ने चेतना मात्रै विकास भयो भने हामी एकदिन श्रम निर्यात गर्ने देशबाट उत्पादन निर्यात अवस्थामा पुग्न सक्छौं ।" सेतोमसीसंग कुरा गर्दै वडा अध्यक्ष डुम्रेले आगामी दिनमा फूलमात्र नभएर खुर्सानी लगायतका दैनिक उपभोग्य बस्तुका बिरुवा समेत वडाले उपलब्ध गराउने गरि योजना बनाएको बताए ।
देवदह-५ का स्थानीय खेम न्यौपानेले वडा कार्यालयले उपलब्ध गराएका विरुवाले फूलको उत्पादनसंगै वडाको सुन्दरता बढाएको बताए । आगामी दिनमा समेत वडा कार्यालयले यस प्रकारका रचनात्मक कामलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उनले वडाले अझै धेरै फूलका विरुवा उपलब्ध गराए देवदह नगरपालिकाका १२ वटै वडामा आवश्यक फूल देवदह -५ ले घरघरमै उत्पादन गर्न सक्ने बताए ।

त्यसैगरी गोठादी मार्ग हरियाली टोल निवासी शारदा त्रिपाठी वडाले फूलको विरुवा दिएर राम्रोसंग लगाउनु हामी हेर्न आउछौं भनेपछि थप विरुवा समेत खोजेर फूल लगाएको र राम्रो उत्पादन दिएको बताईन् । "मलाई लाग्छ, हाम्रो वडालाई चाहिने फूल अहिले हामीसंग छ, सधै तीन-चार सय तिरेर एउटा माला किन्नुपर्ने हामी अहिले कसैलाई आवश्यक परे दुई-चार वटा माला उन्न पुग्ने फूल दिनसक्ने भएका छौं" उनले भनिन्, "फूल लगाउन पर्ने रहेछ, यसले सुन्दरतासंगै हाम्रो पैसा पनि जोगाउने रहेछ भन्ने ज्ञान भएको छ ।"
आगामी दिनमा व्यवसायिक फूल खेति गर्न चाहनेलाई समेत वडाले विरुवा र तालिम दियो भने देवदह फूल निर्यात गर्ने नगर बन्न सक्ने उनको भनाई छ ।

देवदहस्थित बुद्ध सामुदायिक वन र वनक्षेत्रभित्र संचालित राष्ट्रिय गौतम बुद्ध उद्यान (काष्ठकला पार्क) का अध्यक्ष टेक बहादुर राना पनि वडाले दिएको दुई सय विरुवा पार्कमा लगाईएको र ढकमक्क फूलेका फूलले उद्यानको शोभा बढाएको बताउँछन् । आगामीदिनमा अझै धेरै फूल रोप्ने योजना पार्कले बनाएको उल्लेख गर्दै उनले पार्कमा फूलेका फूल स्थानीयलाई सुपथ मूल्यमा बिक्रि गरिने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology