देवदह । देवदह नगरपालिकामा रातको नौ बजेपछि देउसी भैलो खेल्न निषेध गरिएको छ । नगर कार्यपालिकाको बिहिबार सम्पन्न बैठकले मौलिक रीति, परम्परा र संस्कृतिलाई प्रोत्साहन गर्न र नागरिकको सुरक्षाको ख्याल गर्दै नगरबासीमा विशेष आह्वान गर्ने निर्णय गरेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
नगरपालिकाले ठूलो आवाजमा साउण्ड सिस्टम प्रयोग नगर्न अनुरोध गर्दै जुवा-तास-कौडा-सट्टेबाजी-झण्डापूर्जा लगायतका खेल खेल्न र खेलाउन निषेध गरेको छ । मदिरा र मदिराजन्य वस्तुको विक्रि वितरण रातीको ९ बजेसम्म अनुमति प्राप्त व्यवसायीबाट मात्र गर्ने तथा स्वीकृत नलिई कुनै पनि चिठ्ठा उपहारका कार्यक्रम संचालन नगर्न नगराउन नगरपालिकाले अनुरोध गरेको छ । पटाका लगायतका प्रज्वलनशील वस्तु पड्काउने एवं विष्फोटक पदार्थको उत्पादन भण्डारण विक्रि वितरण, परिवहन र पैठारी गर्नेलाई कारवाही गरिने समेत नगरपालिकाले जनाएको छ ।
सम्पूर्ण व्यवसाय तथा पसलहरुमा अनिवार्य रुपमा मूल्य सूची राख्न अनुरोध गर्दै नगरपालिकाले नगरभित्रको स्थानीय फूलहरुको उत्पादनलाई प्रवर्धन गर्न र फूल उत्पादक किसानहरुलाई प्रोत्साहन गर्नको लागि दिपावली, छठ लगायतका पर्वहरुमा स्थानीय फूलमालाको मात्र प्रयोग गर्न आह्वान गरेको छ ।
देवदहमा प्लाष्टिकजन्य फूल मालाको प्रयोग र विक्रि वितरणमा गर्न रोक लगाईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology