हामी यतिबेला संसदीय निर्वाचनको संघारमा छौ । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनको काम सम्पन्न भईसेकेको छ । अब सबै उम्मेदवारहरुले अब्बल भनाउनमा कुनै कसर बाकी राख्ने छैनन् । त्यसैले को कति, कसरी र कस्तो अब्बल उम्मेदवार हो भनेर पहिल्याउन मतदातालाई पर्याप्त अलमल हुनेछ । यदि तपाईको मताधिकार तपाईकै विवेकको नियन्त्रणमा छ भने, तपाई कुनै अमुक पार्टी र व्यक्तिको अन्धभक्त होइन भने र तपाई अनेकन प्रलोभन र स्वार्थहरुको घेराबन्दीमा हुनुहुन्न भने तपाईमा अलमल हुनु स्वभाविक पनि हो । यसै पनि व्यक्तिको क्षमता पहिचान गर्नु गार्ह्यो काम हो । तथापी केही सीमाहरु हामीले बनाउन आवश्यक छ जसले गर्दा अब्बल को हो भन्ने कुरा छुट्याउन सकिन्छ ।
अहिलेको निर्वाचन पहिलेको भन्दा केही भिन्न देखिएको छ । अहिले कुनै एक पार्टी एकल रुपमा मैदानमा छैनन् । सत्तारूढ गठबन्धन र विपक्षी गठबन्धनका कारण यसपाली पार्टीलाई होइन उम्मेदवारलाई मात्र हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ । यस लेखमा अलमलमा परेकाहरुका लागि अब्बल उम्मेदवार पहिचान गर्ने केही तरिकाहरुको बारेमा छलफल गर्ने प्रयत्न गरेको छु ।
१. व्यक्तिगत आचरण
हामीले एउटा असल/अब्बल उम्मेदवारमा हेर्नुपर्ने प्राथमिक कुरा हो, उम्मेदवारको व्यक्तिगत आचरण । सबैभन्दा पहिले मैले मत दिदै गरेको उम्मेदवार कस्तो व्यक्ति हो भन्ने जान्नु महत्वपूर्ण छ । उसले भोलि कस्तो काम गर्छ भन्ने कुरा उसको आनीबानी, खानपिन, मदिरा, जुवातास, परस्त्री, दुव्र्यसन आदि बिषयमा उसको स्वभाव कस्तो छ भन्ने कुराले धेरै हदसम्म भूमिका खेल्छ । त्यसैले उनीहरुको व्यक्तिगत आचरणका बारेमा जानकारहरुबाट जान्ने प्रयास गरौ । अन्यथा तपाईहरुले जिताएर पठाएका नेताको अनेक काण्ड सुनेर लज्जित हुन र पछुताउनु पर्ला ।
२. योजना र कार्यक्रम
अब्बल र सक्षम उम्मेदवारसंग प्रष्ट योजना र कार्यक्रमहरु हुन्छन् । ति योजनाहरु पुरा गर्न सकिने र औचित्यपूर्ण हुन्छन्, हावादारी र सतही हुदैनन् । आर्थिक तथा भौतिक विकासका कार्यक्रम, पर्यावरण संरक्षणका कार्यक्रम तथा सामाजिक र साँस्कृतिक हितका कार्यक्रमहरुको विस्तृत योजना, तिनको पारदर्शी स्रोत र परिचालनको योजना प्रष्ट रुपमा हुन्छन् । ति योजनाहरु दिगो विकासको अवधारणामा आधारित हुन्छन् । असल उम्मेदवारमा यथार्थको धरातलमा बनाइएका योजनाहरु हुन्छन् ।
३. उम्मेदवारको स्थानीयता
हामीले हेर्नुपर्ने अर्को कुरा हो, उम्मेदवारको स्थानीयता । तपाईले मत दिने उम्मेदवार तपाईकै सेरोफेरोको बासिन्दा हो भने तपाईले उसको आनीबानी, स्वभाव, चरित्र, काम गर्ने शैली, वैचारिकी आदिको बारेमा कि पहिल्यै जानीसक्नु भएको छ कि अब जान्न सहज हुनेछ । अर्को कुरा स्थानीय उम्मेदवारले नै स्थानीय आवश्यकता र समस्याहरुको बारेमा जानेको हुन्छ, जनताहरुमा भिजेको हुन्छ । जनताहरुका भईपरी आउने समस्याहरुको समाधानको लागि निरन्तर रुपमा काम गर्न सक्छ । त्यसैले ऊ नै उक्त ठाउँको साँचो प्रतिनिधी बन्न सक्छ ।
चुनावमा भोट दिनु नागरिकको अधिकार मात्रै होइन दायित्व पनि हो । तर त्यो दायित्व त्यतिबेला मात्रै पूरा गरेको ठहर्छ जतिबेला हामीले बिना प्रभाव र बिना दबाब सही मान्छेलाई भोट दिन्छौ । त्यसकारण असल आचरण भएको, ईमान्दार, नैतिकवान्, जवाफदेही, योजना र दुरदृष्टि भएको, राम्रो समन्वयकारी र व्यस्थापकीय क्षमता भएको, अध्ययनशील र कानुनको पालना गर्न सक्ने उम्मेदवार छानेर भोट दिनुहोस् । आर्थिक तथा अन्य प्रलोभन दिनेहरुलाई भोट नदिनुहोस् । झुठो आश्वासन दिनेहरुलाई भोट नदिनुहोस् । वाचा पुरा नगर्नेहरुलाई भोट नदिनुहोस् । समग्रमा ‘उम्मेदवारको विगत र आफ्ना सन्तानको भविष्य’ सम्झेर भोट दिनुहोस् ।
४. उम्मेदवारको विगत
तपाईले मत खसाल्नु अघि राम्रोसंग उम्मेदवारको विगतलाई नियाल्नुहोस् । उसले विगतमा गरेका कामहरु, देश र जनताको संकटमा उसले खेलेको भूमिका तथा उसको व्यक्तित्वका विविध आयामहरुको बारेमा सम्झनुहोस् । किनभने विगतमा उसले प्राप्त गरेका भूमिकाहरुमा उसले न्याय गर्न सकेको रहेनछ भने उसलाई शंकाको सुविधा दिएर किन जोखिम लिने?
५. पहिलेको घोषणापत्र
यदि उम्मेदवार पहिले पनि विजयी भएको हो भने उसले पहिले वाचा गरे अनुसारको काम भए नभएको हेर्नुपर्दछ । त्यसको लागि पहिलेको घोषणापत्र तथा भाषणहरु हेर्नुपर्छ । यदि घोषणापत्रमा उल्लेख गरिएका र आश्वासन दिए अनुसार काम भएको छैन, काम गर्न नसकेकोमा कारण सहित लिखित रुपमा माफी मागेको छैन भने त्यस्ता उम्मेदवारलाई पुनः मत दिनु घातक हुन्छ । उसको सफेद झुठलाई अनुमोदन गरेको ठहर्छ । यो उम्मेदवारको न्यूनतम ईमान्दारिता र नैतिकताको बिषय हो जुन नेता बन्ने व्यक्तिमा हुनैपर्ने प्राथमिक गुण हो ।
६. विज्ञता र क्षमता
अर्को मुख्य कुरा उम्मेदवारको विज्ञता र क्षमता हेर्नुहोस् । उसको विज्ञताको क्षेत्र कुन हो? उक्त विज्ञताले जनताको खास प्रतिनिधी बनेर तमाम समस्याहरुमा समाधानका उपाय खोज्न सहयोग गर्छ कि गर्दैन? उसको जनताका माझमा बसेर देश र जनताप्रति बफादार बनेर काम गर्ने क्षमता कस्तो छ? नेतृत्व क्षमता कस्तो छ? स्थानीय, प्रदेश र संघीय निकायहरुबिच समन्वय गरेर काम गर्ने क्षमता कस्तो छ? मुल्याङ्कन गर्नुहोस् । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मन्चहरुमा विविध बिषयहरुमा आफ्नो प्रस्तुती दिन सक्ने, वैचारिक वहस गर्न सक्ने क्षमता भएको अध्ययनशील नेतृत्व नै आजको आवश्यकता हो ।
७. वैचारिकी
उम्मेदवारको वैचारिकीलाई नियाल्नुहोस् । मुख्य कुरा नागरिकको मानवीय मुल्य सहितको लोकतान्त्रिक हक अधिकारहरुप्रति प्रतिबद्ध उम्मेदवारलाई छान्नुहोस् । सामाजिक तथा आर्थिक रुपमा पिँधमा रहेका वर्गप्रति सम्मान र सहानुभूति राख्ने र उनीहरुका लागि काम गर्न सक्ने उम्मेदवारलाई नै मत दिनुहोस् । माथी उल्लेखित बिषयहरुमा उसको दृष्टिकोणको प्रष्टता विगतमा उसले लेखेका, बोलेका सामाग्रीहरुबाट र गरेका कामहरुबाट जान्न सकिन्छ ।
८. सर्वस्वीकार्यता
तपाईले मत दिने व्यक्तिमा हुनैपर्ने गुण हो, सर्वस्वीकार्यता । अर्थात् सबै जात, लिङ्ग, भाषा, धर्म, आस्थाका जनताहरुप्रति समान भाव राख्ने उम्मेदवार हाम्रो छनोटमा पर्नुपर्छ । कसैलाई पनि कुनै पनि दृष्टिकोणबाट विभेद नगर्ने नेता नै खास नेता हो । त्यसैगरी खास पार्टीका मतदाताहरुप्रति मात्रै सकारात्मक हुने खालको उम्मेदवारलाई मत दिनु कदापी हुदैन । जितेर गईसकेपछि दलीय संलग्नतालाई बिर्सेर सबैसंग समान व्यवहार गर्न सक्ने नेतालाई नै सबै वर्गका जनताहरुले स्वीकार्न सक्दछन् ।
९. उम्मेदवारको आम्दानीको स्रोत
सचेत मतदाताले उम्मेदवारको आम्दानीको स्रोत खोज्नुपर्छ । उसको घर कसरी चलिरहेको छ ? उसको सम्पत्ति विवरण के कस्तो छ? आदि कुरा हामीले खोज्यौ भने एउटा असल उम्मेदवारले पारदर्शी रुपमा जनतालाई बताउँछ नै । बताउनैपर्छ । यदि बताउन सकेन, बताउन चाहेन वा कुनै पनि बहानामा बताएन भने त्यस्ता उम्मेदवारलाई हामीले मत दिनुहुदैन । अर्को कुरा उम्मेदवार आर्थिक तथा नैतिक भ्रष्टाचारबाट मुक्त भएको पनि हुनुपर्छ । कसैले पनि किन राजनिती गरिरहेको छ, त्यो हेर्नुपर्छ । पैसा कमाउन, नाम कमाउन, शक्तिको अभ्यास गर्न अथवा विशुद्ध समाजसेवाको भावनाले? यि प्रश्नहरुको उत्तर खोजेर मात्रै मत दिनु असल मतदाताको दायित्व हो ।
१०. आलोचनात्मक चेत
आफूभन्दा ठुला नेताले गरेको गल्तीप्रति सचेत रुपमा आवाज उठाउन नसक्ने र नेताको चाटुकारितामा व्यस्त रहनेहरुले जनताको राजनिती गर्न सक्दैनन् । अमूक नेतालाई रिझाउने नाममा देश र जनताप्रति घात गरिरहेका हुन्छन् । अर्को कुरा त्यस्ता ‘एस म्यान’हरुले आफूले पनि उस्तै चाटुकारिता खोजिरहेका हुन्छन् । त्यसैले उनीहरुले सक्षम नेतृत्व दिन पनि सक्दैनन् र जन्माउन पनि सक्दैनन् । यसर्थ आफ्नो मत दिने उम्मेदवार छान्दा उसको आलोचनात्मक चेत कस्तो छ, हेर्नुहोस् ।
११. कानुनको पालक
तपाईले छान्ने उम्मेदवार कानुनको पालक हुनुपर्छ । उक्त उम्मेदवार विभिन्न जिम्मेवारीहरुमा रहँदा उसले कानुनको पालना गरेको थियो कि अवहेलना गरेको थियो, त्यसको अध्ययन गर्नुहोस् । किनभने जसले कानुन विपरितका कार्यहरु गर्ने गरेको छ ऊ कहिल्यै पनि असल नागरिक बन्न सक्दैन, जो असल नागरिक बनेको छैन त्यो असल नेता कदापी बन्न सक्दैन । आफै कानुनको पालक छैन भने त्यसले अरुलाई कानुनको पालना गराउँछ र असल कानुन बनाउँछ भन्नेमा विश्वास गर्न सकिदैन र हुँदैन पनि ।
अन्त्यमा,
आदरणीय मतदाताहरु, मतदान भनेको यस्तो पवित्र कार्य हो जहाँ तपाईको विवेकको परिक्षण हुन्छ । तपाई एक सार्वभौम नागरिक, आफ्नो मतको सर्वाधिकार आफ्नै विवेकमा कायम रहेको एक सार्वभौम नागरिक । त्यसैले आफ्नो अमूल्य मतलाई कसैको वहकाउमा आएर, कुनै स्वार्थमा परेर तथा कुनै किसिमले बिक्रीमा राखेर अवमूल्यन नगर्नुहोस् । मतदान जस्तो पुनीत कार्यमा तपाईले अलिकति मिहिनेत गर्नैपर्छ । आफ्नो उम्मेदवारलाई पर्गेल्ने सन्दर्भमा । मतदान जहिले पनि गोप्य हुन्छ, त्यसैले कसैको प्रभाव र दबाबमा पर्नबाट तपाई सजिलै जोगिन सक्नुहुन्छ तर तपाई अलिकति आत्मविश्वासी हुनैपर्छ । आगामी आवधिक चुनाव पाँच बर्षका लागि हो । पाँच बर्ष सानो समय होइन । यो कालखण्ड काम गर्नेहरुका लागि काम गरेर उदाहरण पेश गर्न तथा देश र जनताको भविष्य निर्माण गर्न सकिने आधारहरु मज्जाले तयार गर्न सकिने समय हो । त्यसैले मतदानलाई खेलाची नसम्झौ ।
चुनावमा भोट दिनु नागरिकको अधिकार मात्रै होइन दायित्व पनि हो । तर त्यो दायित्व त्यतिबेला मात्रै पूरा गरेको ठहर्छ जतिबेला हामीले बिना प्रभाव र बिना दबाब सही मान्छेलाई भोट दिन्छौ । त्यसकारण असल आचरण भएको, ईमान्दार, नैतिकवान्, जवाफदेही, योजना र दुरदृष्टि भएको, राम्रो समन्वयकारी र व्यस्थापकीय क्षमता भएको, अध्ययनशील र कानुनको पालना गर्न सक्ने उम्मेदवार छानेर भोट दिनुहोस् । आर्थिक तथा अन्य प्रलोभन दिनेहरुलाई भोट नदिनुहोस् । झुठो आश्वासन दिनेहरुलाई भोट नदिनुहोस् । वाचा पुरा नगर्नेहरुलाई भोट नदिनुहोस् । समग्रमा ‘उम्मेदवारको विगत र आफ्ना सन्तानको भविष्य’ सम्झेर भोट दिनुहोस् ।
समसामयिक विषयमा कलम चलाउने लेखक उदय अधिवक्ता समेत हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology