देवदहको संगीतको चर्चा हुनु तर उनको नाम नआउनु, त्यो चर्चा नै होइन । देवदहमा सांगीतिक कार्यक्रम हुनु र त्यस कार्यक्रममा उनी नहुनु । यो बिरलै हुन्छ । एक किसिमले उनी देवदहको सांगीतिक गतिविधीहरुका पर्याय नै हुन् भन्दा हुन्छ । हरेक गतिविधीहरुमा फरक हुने उनको भूमिका मात्रै हो । कहिले निर्णायकको रुपमा, कहिले आयोजकको रुपमा, कहिले अतिथीको रुपमा, कहिले उत्प्रेरकको रुपमा त कहिले सांगीतिक अभियन्ताको रुपमा । यि संगीत साधक अरु कोही होइनन्, सबैका सुपरिचित गायक तथा संगीतकार तेजु अर्याल हुन् ।
वि. सं. २०२८ साल कात्तिक २५ गते गुल्मी जिल्लाको हर्मीचौर, गिदुवामा पिता कमलापती अर्याल र माता सुमित्रा अर्यालको माइलो सन्तानको रुपमा जन्मिएका तेजु अर्यालले जन्मस्थानमा धेरै समय बिताउन पाएनन् । उनको परिवार २०३२ सालमा मधेस झर्यो । हालको देवदह नगरपालिका वडा नं. ४ विजयपुरमा । त्यहाँबाट पनि ३/४ बर्ष पछि सितलनगर बसाईसराई गर्यो उनको परिवारले । उनको शिक्षादिक्षा भवानीपुर स्थित महामाया भवानी माध्यमिक विद्यालयबाट सुरु भयो । बुटवल बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र उत्तीर्ण गरेका उनले संगीतमा थुप्रै तालिमहरु मार्फत् अनौपचारिक शिक्षा हासिल गरेका छन् ।
संगीतमा कसरी तानिए तेजु ?
उनी संगीतमा कसरी तानिए? अब त्यतातिर लागौ । उनी अध्ययनरत विद्यालय महामाया भवानी माध्यमिक विद्यालयको हरेक बार्षिक उत्सवमा सांगीतिक कार्यक्रम हुन्थ्यो । ति कार्यक्रमहरुले उनलाई आकर्षित गर्थ्यो । ति कार्यक्रमहरुमा उनले भाग लिन थाले । गीत गाउन र बाद्यवादन बजाउन थाले । यसरी उनी संगीतको मोहमा तानिए । उनले आफू गीत गाउन सक्छु भन्ने थाहा पाए । त्यहाँ कार्यरत धन बहादुर गुरुङ्ग उनका सांगीतिक गुरु हुन् । उनले नै उनलाई उत्प्रेरित गरे, सिकाए । तेजु विस्तारै देउसी भैलो कार्यक्रममा व्यस्त हुन थाले । उनले त्यस्ता कार्यक्रमहरुको नेतृत्व नै लिन थाले । विस्तारै संगीतको नशा लाग्न थाल्यो । त्यही नशाले आजसम्म उनलाई संगीतमा लीन बनाइरहेको छ ।
उनले वि.सं. २०५२ सालमा रेडियो नेपालको क्षेत्रिय प्रसारण, पोखराद्धारा आयोजित लोकगीत प्रतियोगितामा सहभागी हुने अवसर पाए । त्यही प्रतियोगिता नै उनको सांगीतिक जीवनको टर्निङ पोइन्ट बन्यो । त्यहाँ उपस्थित रामभक्त जोजिजु, श्याम श्रेष्ठ लगायतले आफूलाई लोकगीत होइन, आधुनिक गीत गाउन सुझाव दिएको उनले अहिले पनि झल्झली सम्झिएका छन् । त्यसपछि उनको बाटो मोडियो । दार्जिलिङबाट आएका गुरु दिपकसिंह कालीकोटेसंग बुटवलमा गएर गीतार सिक्न थाले । यसै क्रममा वि.सं. २०५३ सालमा वुटवलमा केही साथीहरुसंग मिलेर मिलन ब्यान्ड स्थापना गरे । जसमा उनीसंगै सन्तोष हितान, रमेश भट्टराई, प्रदिप न्यौपाने, लालु सेन्चुरी, महेश जोशी थिए । यही ब्यान्ड मार्फत् आफ्ना सांगीतिक प्रस्तुतीहरु दिए । उनको आवाज र शब्दमा ३ वटा गीतहरु रहेको थियो ।
उनी वि. सं. २०५४ सालमा विदेश जाने सोंच सहित काठमाडौ गएका थिए । रेडियो नेपालमा स्वर परिक्षा दिन पाइने र परिक्षामा पास भए गीत गाउन पाइने कुरा साथीभाईबाट थाहा पाएपछि उनी रेडियो नेपाल पसे । स्वर परिक्षा दिए । पास भए । त्यसपछि उनी घर फर्किए । स्वर परिक्षामा पास भएपछि उनको मनमा गीत रेकर्ड गर्ने उत्साह जाग्यो । केही समय पछि जुन माटोमा मैले आँखा खोले ... बोलको गीत रेकर्ड गरे। त्यसपछि त जे भयो कमालै भयो ।
गीत गाएर मात्र त चुलो बाल्न कठिन थियो उतिबेला । त्यसैले उनी वि. सं. २०५४ सालमा विदेश जाने सोंच सहित काठमाडौ गएका थिए । रेडियो नेपालमा स्वर परिक्षा दिन पाइने र परिक्षामा पास भए गीत गाउन पाइने कुरा साथीभाईबाट थाहा पाएपछि उनी रेडियो नेपाल पसे । स्वर परिक्षा दिए । पास भए । त्यसपछि उनी घर फर्किए । स्वर परिक्षामा पास भएपछि उनको मनमा गीत रेकर्ड गर्ने उत्साह जाग्यो । केही समय पछि उनले आफ्नै शब्द र गुरु धन बहादुर गुरुङ्गको संगीतमा जुन माटोमा मैले आँखा खोले ... बोलको गीत रेकर्ड गरे । त्यसपछि त जे भयो कमालै भयो । जताततै यो गीतको चर्चा हुन थाल्यो । उनलाई यो गीतले फराकिलो पहिचान दियो । परिणाम स्वरुप उनले विदेश जाने सोंच त्यागेर देशमै बसेर गीत संगीतमा केही गर्ने योजना बनाए । संगीतमा सम्भावना देखेरै होला रेडियो नेपालमा आबद्ध संगीतकारहरु मीरा राणा, कमल परियार र चन्द्रकला शाहले भोकल क्लास लिन सु्झाव दिए । यो सुझावलाई ग्रहण गरेर उनले बागेश्वरी संगीतालय, बुटवलमा सुरेश सेन्चुरीसंग भोकल क्लास लिन थाले । अभ्यासका लागि हार्मोनियम किन्न हातमा लगाएको घडी बेचेको र बहिनी सितासंग रू. ५०० सापट लिएको कुरा अझै सम्झनामा छ उनको । ठट्यौली पारामा भन्छन्, “बहिनीको सापट अझै तिरेको छैन ।“
वि. सं. २०६० मा एकल शब्द, स्वर र संगीतमा आधुनिक तथा लोक पप गीतहरुको एल्बम निकाले । एल्बमको नाम नतिजा थियो । जसमा ८ वटा गीतहरु समावेश थियो । उक्त एल्बम चार हजार प्रति बिकेको थियो । जसबाट उनलाई संगीत क्षेत्रमै लाग्न प्रेरणा मिलेको उनी सम्झन्छन् । हालसम्म उनले दर्जनौ राष्ट्रिय गीतहरु, आधुनिक गीतहरु, गजलहरु, भजनहरु तथा तामाङ सेलो समेत गाएका छन् । त्यसका साथै लोकगीतका प्रतियोगिताहरुमा समेत प्रथम र द्धितीय पुरस्कारहरु पाएका छन् । वि. सं. २०७१ सालमा देवदहमा ‘तेजु अर्याल एकल साँझ’ को आयोजना गरेर त्यसबाट प्राप्त रकम प्रजापती गौतमी प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्रीहरु प्रदान गरेका उनी संगीतकै क्षेत्रबाट धेरै सामाजिक क्रियाकलापहरुमा सक्रिय छन् । वि. सं. २०७२ सालको भुकम्पपछी सरुभक्तको नेतृत्वमा सम्पन्न भएको ‘भुकम्प सम्बन्धी सांस्कृतिक जनचेतना अभियान २०७२’ मा सहभागी भएका थिए । यसैगरी देवदह क्षेत्रका लगभग सबै विद्यालयहरुका बार्षिकोत्सवदेखि रजत, स्वर्ण महोत्सवसम्म सांगीतिक नेतृत्व लिएर बिना पारिश्रमिक सांगीतिक गतिविधीहरुमा सहभागी भएका छन् । पछिल्लोपटक केही निजी विद्यालयहरुले पारिश्रमिक पनि दिएको उनी सम्झन्छन् । एक हिसाबले उनी देवदह क्षेत्रका सांगीतिक गतिविधीहरुका मसिहा हुन् भन्दा अत्युक्ति नहोला । देवदहमा मात्रै सिमित नभएर रुपन्देहीका विभिन्न स्थानहरुका आयोजना हुने संगीतका रियालिटी शोहरुमा समेत उनले निर्णयकको रुपमा काम गरिसकेका छन् । त्यसैगरी २०४६ सालको राजनीतिक परिवर्तन पछी १५ बर्ष सम्म निरन्तर रुपमा जनवादी कलाकार भएर देशका विभिन्न ठाउँहरुमा गएर सांगीतिक अभियानहरुमा काम गरेको तथा विभिन्न धार्मिक अनुष्ठानहरुमा भजन गायन तथा लेखनबाट योगदान गरेको अनुभव छ उनीसंग ।
जीवनका उर्जाशील उमेर संगीतमा बिताएका तेजुले देवदहको संगीतको बारेमा केही सपनाहरु साँचेका छन् । देवदहको परिचयलाई समेटेर चिनारी गीत बनाएका उनीसंग देवदहलाई सांगीतिक नगरपालिका बनाउने सपना छ । यही उद्देश्यका साथ उनले नगरपालिकालाई ध्यानाकर्षण पनि गराएका छन् । उनको सपनाको खाका कस्तो छ त्यो तेजुले समयको कुनै विन्दुमा बताउलान्, उनको सपनाले उडान कसरी भर्ने हो ? त्यो भविष्यले नै बताउला । अहिलेलाई हामीले यत्ती त मज्जाले भन्न सकिन्छ कि लामो समयदेखि देवदहको माटोमा सांगीतिक कर्ममा पसिना सिंचिएका तेजु अर्याल देवदहका एक सुगन्ध हुन् ।
उनी आफू मात्रै संगीतमा समर्पित छैनन्, उनको परिवार नै संगीतमा मस्त छ । उनका दुई छोराहरु समेत गायन र बाद्यबादनमा सक्रिय छन् । १९ बर्षिय जेठो छोरा अनुभव अर्याल र १४ बर्षिय कान्छो छोरा सम्भव अर्यालले उनको पाइलालाई पछ्याएका छन् । उनीहरुले विभिन्न प्रतियोगिताहरुमा भाग लिएर पुरस्कार समेत जितेका छन् । उनीहरु दुवै हार्मोनियम, किर्बोड, मादल, बाँसुरी लगायतका बाद्यबादनका साधनहरुमा पोख्त छन् । त्यति मात्रै नभएर उनकी श्रीमती विमला अर्यालले समेत गीत लेखनमा सम्पादनको काम गरेर तथा सल्लाह, सुझाव दिएर सहयोग गर्ने गरेको उनी बताउँछन् । एक प्राथमिक विद्यालयकी शिक्षक समेत रहेकी श्रीमतीको साथ, सहयोग र हौसलाकै कारण आफू आजसम्म संगीतमा टिकेको उनी सुनाउँछन् । उनले २०७९ सालमा ‘भरिपुर्ण’ नामको तीजगीत समेत निकालेकी छिन् । उनको घरमा देखिने सांगीतिक माहौलले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ ।
केही बर्ष भैरहवामा ‘भैरहवा कला केन्द्र’ संचालन गरेर नयाँ पुस्तालाई संगीत समेत सिकाएका उनले आर्थिक रुपमा आत्मनिर्भर बन्न सेनेटरी उद्योग संचालन गरिरहेका छन् । संगीतमा योगदान गरे बापत विभिन्न संस्थाहरुबाट पाएका सम्मानहरु मध्ये नेशनल बक्स अफिस म्यूजिक अवार्डमा भजन तर्फ उत्कृष्ट संगीत कम्पोजमा थाइल्यान्ड पुगेर प्राप्त गरेको अवार्डलाई उनी बिशेष मान्छन् । “मेरो लागि त्यो भन्दा विशेष छ श्रोता र दर्शकहरुको माया । देवदहबासीहरुले दिनुभएको सम्मान र माया ।“ उनी कृतज्ञ सुनिए । जीवनका उर्जाशील उमेर संगीतमा बिताएका तेजुले देवदहको संगीतको बारेमा केही सपनाहरु साँचेका छन् । देवदहको परिचयलाई समेटेर चिनारी गीत बनाएका उनीसंग देवदहलाई सांगीतिक नगरपालिका बनाउने सपना छ । यही उद्देश्यका साथ उनले नगरपालिकालाई ध्यानाकर्षण पनि गराएका छन् । उनको सपनाको खाका कस्तो छ त्यो तेजुले समयको कुनै विन्दुमा बताउलान्, उनको सपनाले उडान कसरी भर्ने हो ? त्यो भविष्यले नै बताउला । अहिलेलाई हामीले यत्ती त मज्जाले भन्न सकिन्छ कि लामो समयदेखि देवदहको माटोमा सांगीतिक कर्ममा पसिना सिंचिएका तेजु अर्याल देवदहका एक सुगन्ध हुन् ।
(लोकतन्त्र, सामाजिक न्याय र सुशासनको पक्षमा निरन्तर कलम चलाउँदै आएको सेतोमसीले खबरदारीसंगै देशका विभिन्न स्थानबाट समाज र राष्ट्रको लागि योगदान दिने व्यक्ति तथा संघसंस्थाहरूको बारेमा खोजमूलक रिपोर्ट तयार गर्ने र समाजमा सकारात्मक सोंचलाई प्रवाह गर्ने काम समेत गरिरहेको छ। सोही क्रममा देवदहमा रहेर यहाँको विकासको लागि विभिन्न कालखण्डमा विभिन्न क्षेत्र/विधाबाट महत्वपूर्ण योगदान दिने व्यक्तिहरूको बारेमा खोज्ने र लेख्ने अभियान स्वरूप ‘देवदह रत्न’ नामक स्तम्भको सुरूवात गरेकाछौं। स्तम्भकार विनोद उदयसंगको सहकार्यमा हामीले यसलाई निरन्तर रूपमा अघि बढाउनेछौं । हरेक महिनाको पहिलो शनिबार नयाँ पात्रको कथाका सहित देवदह रत्न स्तम्भ प्रकाशन हुनेछ । साथै हरेक महिनाको तेस्रो शनिबार कथाको भिडियो सामग्री पनि प्रशारण गरिनेछ । - सम्पादक )
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology