एउटा झोला भिरेर कहिले पुर्व कहिले पश्चिम, कहिले स्वदेश, कहिले विदेश भाषा सिकाउदै दौडिरहेका भिम गुरुङ्गलाई के ले दौडाएको होला ? यसो सोचि बस्छु । अनुमानलाई थन्क्याएर वास्तविकता बुझिहालौ न त भनेर यो लेखनी तयार पारे । एकैछिन हामी भिम गुरुङ्गसंगै बसौ । उनका कथा नउधिनी त कहाँ पुरा हुन्छ र देवदह रत्न खोजी अभियान ।
पत्रकार, लेखक, शिक्षक, राजनितीकर्मी, समाजसेवी तथा भाषा संरक्षणका अभियन्ता जस्ता अनेक परिचयहरुमा फैलिएका भिम गुरुङ्ग आफूलाई मुलत भाषा संरक्षणका अभियन्ताका रुपमा चिनाउन चाहन्छन् । भाषाको उन्नयनमा भिम गुरुङ्गको जस्तो लगन र परिश्रम सायदै कसैको होला देवदहमा । गुरुङ्ग भाषाको सन्दर्भमा त उनको परिचय व्यापक छ र त्यो विश्वभरका गुरुङ्ग भाषी र गुरुङ्ग भाषाप्रेमीहरुमाझ फैलिएको छ । यिनको यो परिचय यत्तिकै बनेको होइन । यसका लागि उनले कति हण्डर र ठक्कर खाएका छन् । कति वेवास्ता र अपमानको सिकार बनेका छन् त्यो त उनैलाई थाहा छ । आज थोरै भए पनि हामीलाई पनि थाहा हुनेछ ।
वि. सं. २०५३ सालमा केही साथीहरुसंग मिलेर देवदहको खैरेनीमा गुरुङ्ग भाषा पढाउने विद्यायल ‘देवदह मदर टङ्ग्स एकेडेमी’ स्थापना गरे । जसले २०५३ साल माघ १ गते देखि पठन पाठन सुरु गर्यो । उनको यो कार्यको देशैभर चर्चा भयो । तमु (गुरुङ्ग) भाषा पढाउने यो नेपालकै पहिलो विद्यालय हो ।
वि. सं. २०२६ सालमा पर्वत जिल्लाको तत्कालिन होश्राङ्दी वडा नं. ७ (हाल महाशिला वडा नं. १) जन्मिएका भिम संयुक्त परिवारमा हुर्के बढे । कक्षा १ देखि ४ सम्म गाउँकै लक्ष्मीदय प्राथमिक विद्यालयमा र ६ कक्षा देखि १० कक्षा सम्म सूर्य माध्यमिक विद्यालय होश्राङ्दीमा पढेका उनले वि. सं. २०५१ सालको प्रवेशिका परीक्षा दिएपछि लक्ष्मीदय प्रा. वि. मै ४ बर्ष पढाए । त्यसपछि उनी अध्ययनको लागि बुटवल झरे । बुटवल बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा उनी राजनितीमा पनि सक्रिय हुन थाले । भनौ न, क्याम्पसमा हुने राजनितीक गतिविधीबाट उनी अछुतो रहन सकेनन् । अछुतो रहुन् पनि कसरी, कक्षा ९ मा पढ्दा अनेरास्ववियुको स्कुल कमिटीको सचिव भैसकेका जो थिए । विद्यार्थी राजनिती हुदै पार्टी राजनितीमा क्रियाशिल भएका उनी विभिन्न आन्दोलनहरुमा सक्रिय पनि भए । त्यसैगरी जनसांस्कृतिक मोर्चाहरुमा आबद्ध भएर गाउँ गाउँ हिडेका पनि छन् । उही समयमा भिम पत्रकारितामा पनि सक्रिय रहे । वि.सं. २०४० सालमा ‘बुद्ध सन्देश’मा रिर्पोटिङ्ग गरेर पत्रकारिता सुरु गरेका उनले रेडियो लुम्बिनीमा भाषिक समाचार वाचक हुदै रेडियो देवदहको स्टेशन म्यानेजरसम्म भएर काम गरे । त्यसैगरी स्थानीय देवदह साप्ताहिकको संस्थापक रहेका उनी हाल पनि सोही संस्थामा व्यवस्थापकको रुपमा क्रियाशिल छन् ।
आफ्नो परिचयलाई बहुविधामा फैलाएका उनको खास परिचय तिरै लागौं । उनलाई धेरैले चिन्ने र उनलाई पनि गर्व लाग्ने क्षेत्र भाषा संरक्षणको क्षेत्र हो । उनले यो क्षेत्रमा आफ्नो अग्लो परिचय बनाएका छन् । भाषा सिकाउनैका लागि उनी नेपालका गुरुङ्ग जातिको बाहुल्य क्षेत्रहरुमा पुगेका छन् भने गुरुङ्ग जातिको बसोबास रहेका विदेशका विभिन्न ठाउँहरु पनि पुगेका छन् । लाखौं नयाँ पुस्तालाई गुरुङ्ग भाषा सिकाएका छन् । यो उनको रुची र समर्पणले सम्भव भएको हो । लगाव र जिम्मेवारीबोधले सम्भव भएको हो ।

उनले गुरुङ्ग भाषा घरमै आमाबाट सिके । पुरै गाउँ नै गुरुङ्ग भाषा बोल्थ्यो । तर जब उनी अध्ययनका लागि विद्यालय जान थाले त्यहाँ उनले अर्को भाषामा पढ्नुपर्यो । उनले विस्तारै थाहा पाउँदै गए कि उनको मातृभाषा त सबैले बोल्ने रहेनछन् । यहाँ त धेरै जातिको बसोबास रहेछ । उनीहरुको आ-आफ्नै भाषाहरु रहेछन् । तर सबै भाषीहरुले खस भाषामा पढ्नै पर्थ्यो । खस भाषा एक सम्पर्क भाषा थियो । उनले यो पनि विस्तारै नै थाहा पाए कि गुरुङ्ग जातिले पनि आफ्नो मातृभाषा बोल्न छोडेछन् । यो थाहा पाएपछि उनको चित्त दुख्यो । र, आफुले यो क्षेत्रमा केही काम गर्ने अठोट लिए ।
बुटवल झरेपछि हो उनले यो कुरालाई अझ घनिभुत रुपमा बुझ्न पाएको । उनको अठोटलाई मलजल गर्यो बहुदलले । देशमा बहुदल आएपछि एउटा जागरण आयो । आफ्नो भाषा र संस्कृतिप्रति मानिसहरुको सचेतना बढ्दै गयो । खुलारुपमा कार्यक्रमहरु गर्न पाइने भयो । फलस्वरुप विभिन्न गतिविधीहरु हुन थाले । सोही क्रममा भिम गुरुङ्गमा आफ्नो भाषाप्रतिको मोह र भाषा संरक्षणमा काम गर्ने हुटहुटी जागृत भएर आयो । गुरुङ्गहरुको संगठन तमु छोंज धी रुपन्देही जिल्लाका अध्यक्ष नरमान गुरुङ्ग, आफ्ना मावली हजुरबुवा डम्बर बहादुर गुरुङ्ग र भाषा लिपीका विद्धान् बालनरसिंह गुरुङ्गको प्रेरणाले उनी यो क्षेत्रमा होमिए । उनले गुरुङ्ग भाषाको संरक्षणमा नै आफ्नो जिन्दगी समर्पण गर्ने अठोट लिए । “नेपाल बहुजाति, बहुभाषा र बहु संस्कृतिको सुन्दर फुलबारी हो भने गुरुङ्ग जाति त्यस फुलबारीको एउटा सुन्दर फुल हो । यो जाति आफ्नै भाषा र संस्कृतिले धनी जाति हो । बिडम्बना पछिल्लो समय गुरुङ्ग भाषाका प्रयोगकर्ताहरु कम हुदै गएका छन् । नयाँ पुस्ताले आफ्नै मातृभाषा बिर्सिदै गइरहेका छन् । संस्कृति र भाषा संरक्षण भनेको जातिय अस्तित्व रक्षाका लागि महत्वपूर्ण छ । त्यसैले म भाषा संरक्षणमा जोडिएको हुँ ।“ उनले आफू भाषा संरक्षणमा सक्रिय हुनुको उद्देश्य एकै क्षणभरमै बताए ।
उनी भाषा संरक्षणका विभिन्न अभियानहरुमा जोडिए । विभिन्न कार्यक्रम, गोष्ठि, सेमिनार तथा तालिमहरुमा सहभागी हुन थाले । कसरी भाषा प्रशिक्षण गर्ने भनेर प्रशिक्षण लिए । बुटवल बहुमुखी क्याम्पसमा नेपाल तमु विद्यार्थी छोंज धी को संस्थापक बने । माउ संस्था तमु छोंज धीको पश्चिमाञ्चल सचिव हुदै केन्द्रिय सचिवसम्म बनेर धेरै कुरा सिके र सिकाए । यसै क्रममा वि. सं. २०५८ सालमा बालनरसिंह गुरुङ्गबाट तमुहरुको लिपि खेमा लिपिको प्रशिक्षण लिएको र त्यस प्रशिक्षणबाट ‘तमु भाषा तथा खेमा लिपी विकास केन्द्रिय समिति’ स्थापना गरेर देशव्यापी प्रशिक्षणमा निस्किएको उनी बताउँछन् । उक्त टिममा सुन कुमारी गुरुङ, केबी गुरुङ्ग, मोहनलाल गुरुङ्ग, प्रेम घले, ओम प्रकाश गुरुङ्ग, अमन गुरुङ्ग लगायत रहेका थिए । त्यतिबेलादेखि गुरुङ्ग भाषा तथा लिपीको प्रशिक्षण दिन थालेका भिम आजसम्म पनि प्रशिक्षणमा व्यस्त छन् । उनी थाकेका छैनन् । उत्साह र लगाब अझ बढेको छ । “त्यतिबेला हामीले गुरुङ्ग बाहुल्य क्षेत्रहरु स्याङ्जा, पर्वत, कास्की, गोरखा, चितवन, लमजुङ, काठमांडौ, दाङ, सुर्खेत, बाँके, बर्दिया, सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरुमा पुगेर प्रशिक्षण दिएका थियौं” उनी सम्झन्छन् ।

वि. सं. २०४२ सालमा काठमांडौमा तमु छोंज धीको प्रथम राष्ट्रिय महाधिवेशन भएको थियो, जहाँ देश र विदेशबाट उपस्थित भएका सबैले गुरुङ्ग भाषा संरक्षण गर्न अझ काम गर्नुपर्ने विचारहरु प्रकट गरे । त्यसपछि उनमा आफूले देवदहमै केही गर्ने विचार पलायो । फलस्वरुप वि. सं. २०५३ सालमा केही साथीहरुसंग मिलेर देवदहको खैरेनीमा गुरुङ्ग भाषा पढाउने विद्यायल ‘देवदह मदर टङ्ग्स एकेडेमी’ स्थापना गरे । जसले २०५३ साल माघ ०१ गते देखि पठन पाठन सुरु गर्यो । उनको यो कार्यको देशैभर चर्चा भयो । तमु (गुरुङ्ग) भाषा पढाउने यो विद्यालय नेपालकै पहिलो थियो । जसले गर्दा उनको ख्याती फराकिलो बन्यो । त्यतिबेला उनको टिममा दान बहादुर आले, डम्मर बहादुर थापा, झमन थापा, जसमान गुरुङ्ग, भिम बहादुर गुरुङ्ग, सुरेन्द्र गुरुङ्ग, दलबहादुर पाइजा लगायत थिए । जसले विद्यालय खोल्न भरपुर साथ दिए । उक्त विद्यालय अहिले पनि चलिरहेको छ, जहाँ इच्छुक बाबुनानीहरुलाई तमु भाषा तथा मगर भाषा सिकाउने गरिन्छ । यस विद्यालयले देवदह क्षेत्रलाई नै राष्ट्रियव्यापी रुपमा प्रतिष्ठित बनाएको उनको बुझाई छ ।
विद्यालय स्थापनाको केही समयपछि सिक्किमबाट ६ जना शिक्षकहरु बोलाएर उहाँहरुबाट अंग्रेजी भाषा सिकेको र उहाँहरुलाई गुरुङ्ग भाषा सिकाएको उनी बताउँछन् । मातृभाषा संरक्षणमा काम गर्दा पाएका स्याबासीहरु मात्रै उनको सम्पत्ति होइनन्, सास्तीहरु पनि उनका सम्पत्ति हुन् । “विद्यालय संचालन गर्दा धेरै चुनौतीहरु पनि सामना गरियो । अहिले पनि गरिएकै छ । बाहुन क्षेत्रीहरुले गुरुङ्ग भाषा पढाउँछ भनेर बालबच्चाहरु नपठाउने, गुरुङ्ग मगरले भाषा पढेर झनै बोदो हुन्छन् भनेर बालबच्चाहरु नपठाउने । हामी उहिले देखि अहिलेसम्म दोहोरो मारमा छौ । तर पनि हामी निरन्तर लागिरहेका छौ । हामीले भाषा सिकाईरहेका छौ । विस्तारै सचेतना फैलिएको छ ।“ उनी हार नखाने मुडमा छन् । हाल उनको विद्यालयमा गुरुङ्ग भाषाका ६ जना र मगर भाषामा ४ जना शिक्षकहरु रहेका छन् ।
उनी अहिले पनि प्रशिक्षणका लागि हिडिरहेकै भेटिन्छन् । प्रशिक्षणका क्रममा भारतको दार्जिलिङ्ग, सिक्किम, दिल्ली र हङकङ सम्म पनि पुगेका उनी अझै थाकेका छैनन् । यो यात्रामा उनलाई विद्यालयका प्रधानाध्यपक राम बहादुर गुरुङ्ग, बालनरसिंह गुरुङ्ग, सिक्किमका मेघराज गुरुङ्ग र भुटानका कर्मा गुरुङ्गले जहिल्यै हौसला र साथ दिएको उनी सम्झन्छन् । त्यस्तै श्रीमती शुशिला गुरुङ्गको निरन्तर साथले पनि यो क्षेत्रमा टिकिरहन सकेको उनको बुझाई छ । उनको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाहरुले उनलाई पुरस्कृत पनि गरेका छन् । वि. सं. २०६२ सालमा भद्रकुमारी सेवा सदनबाट एक लाख राशिको पुरस्कार प्रदान गरेको छ भने लुम्बिनी वाङ्मय प्रतिष्ठानबाट लुम्बिनी रत्नका रुपमा दुई पटक सम्मान गरेको छ । त्यसैगरी तमु समाज इजरायल, आदिबासी महासंघ रुपन्देही र देवदह तथा देवदह नगरपालिकाको वडा नं. ५ ले उनलाई सम्मान गरेका छन् भने तमु समाज, बेल्जियमले तमु भाषा पुस्तक छपाइका लागि आर्थिक सहायता प्रदान गरेको छ ।

भिम गुरुङ्गले भाषा प्रशिक्षण मात्रै गर्दैनन् । उनले भाषा सिकाउने पुस्तक पनि लेखेका छन् । वि.सं. २०४६ सालमा तमु क्युई लुले (गुरुङ्ग भाषा सिकौ), वि.सं. २०४८ सालमा तमु क्युई लुले प्रा ङ्ही (गुरुङ्ग भाषा सिकौ, कक्षा दुई), वि.सं. २०७४ सालमा तमु ताँ पोंले (गुरुङ्ग कुरा बोलौ) र वि.सं. २०७८ सालमा तमु क्युई प्ह्री गुरुङ्ग वर्णमाला पुस्तक प्रकाशन गरेका छन् । कतिपय पुस्तकको त दोस्रो संस्करण पनि छापिएको छ । त्यस्तै उनले कोभिड १९ सम्बन्धी ४२ हजार शब्दहरु रहेको डकुमेन्ट्रीको नेपालीबाट गुरुङ्ग भाषामा अनुवाद पनि गरेका छन् । हाल उनले गुरुङ्ग व्याकरण तयार पार्दै छन् । यसरी सिङ्गो जिन्दगीको उर्बर समय नै गुरुङ्ग भाषा संरक्षणमा बिताएका भिम आफूलाई सन्तुष्ट नै पाउँछन् । भन्छन्, “बाँकी जिन्दगी पनि यसरी नै भाषाको उन्नयनमा बिताउन मन छ ।“ उनी आफूले सक्दो गरेको तर यसलाई राज्यले नै महत्व नदिएको दुखेसो पोख्छन् । “बहुल भाषा संस्कृति नै हाम्रो चिनारी हो, यसैलाई संरक्षण गर्न सकिएन भने हाम्रो सौन्दर्य रहदैन त्यसैले हरेक भाषा र संस्कृतिको संरक्षणमा राज्य नै अग्रसर भएर लाग्नुपर्छ । पछिल्लो समय गण्डकी प्रदेशले गुरुङ्ग भाषालाई कामकाजी भाषाको रुपमा अगाडि बढाउने भनेको छ, यो सकारात्मक छ । गुरुङ्ग भाषालाई मात्रै होइन राज्यले हरेक भाषाको संरक्षण गर्नु जरुरी छ । भाषा रहेन भने हाम्रो संस्कृति पनि रहदैन ।“ उनले एक सासमा भने । “केही बर्ष अघि देवदह नगरपालिकाले थारु, मगर र गुरुङ्ग गरी तिन वटा भाषाहरुलाई समेटेर वृत्तचित्र बनाएको थियो, उक्त काम अझै सकिएको छैन । प्रकाशन प्रशारणमा ल्याएको छैन । भाषा र संस्कृतिको उत्थानका लागि गरिएको सानो काम पनि पुर्ण गर्न सकिदैन भने यिनीहरुबाट ठूला ठूला कामको अपेक्षा कसरी गर्ने?” उनी दुखेसो र प्रश्न एकैपटक गर्छन् ।
‘गुरुङ्ग भाषालाई मात्रै ध्यान दियो, एकपक्षीय भयो, भिम गुरुङ्ग सबैको बन्न सकेन भन्छन् नी’ बसाईको अन्तिम तिर मैले केही आलोचनाका स्वरहरु सुनाए । उनी एकछिन पनि अलमल नगरी बोल्न थाले, “यो कुरा मैले पनि सुनेको छु । यो मप्रतिको अपेक्षा पनि हो । तर म एक जनाले सबै भाषाहरुको लागि काम गर्न भ्याउदिन, सबैले आ-आफ्नो भाषाको संरक्षणमा काम गर्न आवश्यक छ । जसरी मैले गरे त्यसरी सबैले काम गर्ने हो भने सबै भाषाहरुको उन्नयन हुने थियो । सबै भाषाहरुमा काम गर्न नसक्नु मेरो समय र क्षमताको सिमितता हो । मलाई यसरी नै बुझिदिनुहुन सबैलाई आग्रह गर्दछु ।“ हुन पनि हो सबैले आ-आफ्नो भाषा र संस्कृतिको जर्गेनामा क्रियाशिल हुने हो भने सबै भाषाहरुको स्वतः उन्नयन हुने थियो । पछिल्लो समयमा नयाँ पुस्तामा मातृभाषाप्रतिको उदासिनताले उनी चिन्तित छन् । भन्छन् “हामी जस्ता प्रशिक्षकहरु अझ क्रियाशिल हुनुपर्ने समय हो यो ।“ गुरुङ्ग भाषाप्रति मात्रै होइन अहिले सबै मातृभाषाहरुप्रति नयाँ पुस्तामा रुचि कम र विदेशी भाषा प्रति रुचि बढ्दै गएको छ । त्यसैले पनि उनी जस्ता मातृभाषा संरक्षणमा लागेका अभियन्ताहरुको महत्व र आवश्यकता अझ बढेर गएको छ ।
यसरी गुरुङ्ग भाषा संरक्षणका अभियन्ता भिम गुरुङ्गलाई के ले दौडाएको रहेछ वास्तविकता पत्ता लाग्यो । आफ्नो मातृभाषाप्रतिको माया, समर्पण र अठोटले रहेछ । भाषा र संस्कृतिप्रतिको लगाबले रहेछ । जिम्मेवारीबोधले रहेछ । जम्माजम्मी एउटा सपना र एउटा हुटहुटीले रहेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology