एक पत्रकार, एक राजनितिकर्मी, एक योजनाकार, एक अभियन्ता, एक संगठक, एक वामपन्थी लेखक । देवदहको माटोमा यी सबै परिचय एक व्यक्तिमा खोज्ने हो भने नि:सन्देह उनी हुन्, सिद्धिचरण भट्टराई । देवदहको बौद्धिक तप्काको नेतृत्व गरिरहेका उनको चर्चा बिना देवदह रत्नको अभियान अधुरो रहन्छ ।
उनी देवदहमा पत्रकारिताको जग बसाउने व्यक्ति हुन् । उनी राजधानी बाहिर पहिलोपटक सामुदायिक टेलिभिजन स्थापना गर्ने एक टेलिभिजनकर्मी र पत्रकार हुन् । उनी लुम्बिनी प्रदेश क्षेत्रमा भएका वामपन्थी आन्दोलनका एक जुझारु योद्धा हुन् । उनी गुल्मी, स्याङ्जा र रुपन्देहीमा कम्युनिष्ट पार्टीका एक संगठक हुन् । उनी देवदहका धेरै विकास आयोजनाहरुका परिकल्पनाकार हुन् । उनी विभिन्न सामाजिक अभियानहरुका एक अथक अभियन्ता हुन् । उनी नेपाली वामपन्थी आन्दोलनलाई समृद्ध बनाउने केही पुस्तक र सयौं लेखहरुका लेखक पनि हुन् । उनी एक यस्ता बागी अनुहार पनि हुन्, जसले आफ्नै परिधिभित्रका अन्याय, अत्याचार र बेथितीका विरुद्ध हम्मर ठोक्न सक्छ ।
वि. सं. २०२९ सालमा गुल्मीको तत्कालिन ठुलो लुम्पेक वडा नं. ९, धुसेनी (हाल सत्यवती वडा नं. २) मा जन्मिएका सिद्धिचरणको बाल्यकाल सुखैले बितेको हो । आमाबुवाका १२ जना सन्तानमध्ये १०औँ नम्बरका उनले अध्ययनमा समस्या भोग्नु परेन । कक्षा ३ सम्म श्री धुसेनी प्रा. वि. मा, कक्षा ४ जनता मा. वि., विर्घामा, कक्षा ५ देखि ७ सम्म लक्ष्मीपुर नि. मा. वि. चेहेमीमा र कक्षा ८ देखि १० सम्म जनता मा. वि., विर्घामा अध्ययन गरेका उनी पढाईमा मध्यम थिए भने अतिरिक्त क्रियाकलापमा मेधावी थिए ।
उनका बुवा पन्चायतकालिन समयका वडा अध्यक्ष थिए भने आमा गृहिणी थिइन् । धुसेनी प्रा. वि. का संस्थापक रहेका उनका बुवाको समय राजनिती र समाजसेवामै व्यतित हुन्थ्यो, त्यसैले घर व्यवहारमा खासै समय दिन भ्याउदैनथे । आमाले भने अरुको जग्गा अधिया गरेर तथा बाख्रा पालेर सन्तानलाई पढाएको उनी सम्झन्छन् । उनका बुवा इमान्दार मानिस थिए । एउटा घटना सम्झदै उनी भन्छन्, “बुवा म पढ्ने विद्यालयको अध्यक्ष हुनुहुन्थ्यो । म कक्षा ३ मा पढ्थे । केही समय पहिला विद्यालयबाट पिकनिक जादा घ्यू र अन्नसहित तिन रुपैया उठाइएको थियो । आमासंग पैसा नभएर मैले दिन पाइन । उक्त। पैसा बाँकी छ भनेर मेरो परिक्षाफल रोकियो । बुवाले मैले भन्न मिल्दैन भनेर भन्दिन मान्नुभएन । बुवा नैतिकताको कसीमा त्यति उच्च हुनुहुन्थ्यो ।"
जब उनी कक्षा ८ मा पुगे, पढ्नको लागि विर्घा जानु पर्थ्यो । स्याङ्जा जिल्लाको विर्घा जान कालीगण्डकी नदी तर्नुपर्थ्यो । घरबाट ३ घण्टा लाग्थ्यो । विर्घा भनेको राजनितीक थलो थियो, जहाँ नेविसंघ र अखिलको प्रतिष्पर्धा चर्को थियो । त्यहाँ को कम्युनिष्ट र को काङ्ग्रेस भाषण सुनेर चिन्नुपर्थ्यो । कम्युनिष्टले भाषणको अन्त्य गर्दा ‘धन्यवाद’ भन्थे । काङ्ग्रेसले ‘जय नेपाल’ भन्थे । एकदिन विद्यालयमा खेल्दै गर्दा कसैले ‘जय नेपाल, खुइले कपाल’ भनेको सुने । त्यहाँ उक्त भनाई कम्युनिष्टले काङ्ग्रेसलाई जिस्क्याउन प्रयोग हुने रहेछ । केही दिनपछि साथीहरुसंग खेल्दा उनले ‘जय नेपाल, खुइले कपाल’ भने । उनले त्यो रमाइलो मानेर भनेका थिए । त्यसको अर्थ थाहा थिएन । नेविसंघका युवाहरूले त्यो सुनेछन् र गौडामा लुकेर पिट्ने योजना। बनाएछन् । “धन्न इतिहास पढाउने शिक्षक चण्डीप्रसाद पाण्डेले देखेर जोगाउनु भयो र पिटाई खानु परेन । त्यस दिनदेखि म राजनीतितिर आकर्षित भए । नेविसंघप्रति नकारात्मक र अखिलप्रति सकारात्मक भए ।” उनले आफू राजनितीतिर आकर्षित हुनुको कारण बताउँछन् । उनी विद्रोही स्वभावका बालक थिए । एउटा घटना उनको मानसपटलमा अझै ताजै छ । “विद्यालय जाँदा आउँदा गाउँको नजिक पर्ने बाटोमा त्यस गाउँका बासिन्दाहरुले दिसा गर्ने गर्थे । मैले साथीहरुलाई भेला गरेर ‘बाटो निर्माण र गुहे बाटो विरुद्धको संघर्ष’ नाम दिएर आन्दोलन सुरु गरें । हामीलाई दमन गर्न खोजियो । हामी त्यतिबेला स्कुल जाँदा सबैले लौरो बोकेर जान्थ्यौ र नाराबाजी गर्थ्यौं । पछि चर्पी बनाउने र बाटोमा दिसा नगर्ने सहमति भयो” उनी उक्त घटनाको बेलीविस्तार लगाउँछन् ।

संगठनको बल देखेका उनले गुल्मीबाट विर्घा (स्याङ्जा) पढ्न आउने विद्यार्थीहरुलाई भेला पारेर गुल्मेली विद्यार्थी संगठन बनाए । त्यसपछि उनलाई अनेरास्ववियूले सदस्य बन्न आग्रह गर्यो । नेविसंघपबाट झण्डै कुटिएका उनले आग्रहलाई स्वीकार गरे । यसरी उनी कम्युनिष्ट पार्टीको भातृ संगठनमार्फत् राजनितीमा प्रवेश गरे । अब उनी अनेरास्ववियूको प्रारम्भिक कमिटीका सदस्य भए । पन्चायतकालिन समय थियो । राजनितीक गतिविधी गर्न प्रतिबन्ध थियो । त्यसैले उनी लगायत विद्यार्थीहरु गाउँ-गाउँमा गोप्य रुपमा राजनीति प्रेरित कविता सुनाउने, नाटक देखाउने, वैचारिक मन्थन गर्नेजस्ता गतिविधीहरुमा खटिए । उनको वक्तृत्वकला, नेतृत्वकला, वैचारिकता र जुझारुपन देखेका अग्रजहरुले उनलाई नेतृत्वमा स्थापित गर्न खाजे । त्यसैले उनी विद्यालयको अन्तर सदन समितिमा (जहाँ प्र.अ. अध्यक्ष रहन्थे) विद्यार्थीहरुको तर्फबाट सदस्य बनाइए । यसरी उनी त्यहाँको विद्यार्थी राजनितीमा स्थापित हुदै गए । उनको सक्रियता राज्यको संयन्त्रसम्म नपुग्ने कुरै भएन । त्यसैले उनले वि. सं. २०४५ सालमा प्रवेशिका परिक्षा दिदा एकजना प्रहरीले उनलाई मात्रै पहरा दिएको उनी सम्झन्छन् । यता घरमा बुवाले राजनीति नगर्न दबाब दिईरहन्थे । तर दाईहरुको समर्थन पाएको उनको सम्झना छ । “एक जना दाईले ‘यो राजनिती फोहोर खेल हो यसमा लाग्नुहुन्न’ भनेर भारतबाट पत्र लेख्नुभएको थियो । ‘मैले किन राजनीतिमा लाग्नुपर्छ’ भन्ने बुझाएर प्रतिउत्तर लेखेपछि उहाँले पनि समर्थन गर्नुभयो” उनी भन्छन् ।
उनी वि. सं. २०४६ सालको जनआन्दोलनमा विभिन्न विद्यालयहरुमा संगठन बनाउँदै हिडे । सोही क्रममा उनलाई प्रहरीले पक्राउ गर्यो । विद्यालयबाट प्रहरी चौकीसम्म घिसार्दै लगेको सम्झना ताजै छ उनलाई । “त्यतिबेला विभिन्न राजनितीक दलहरुका स्थानीय नेताहरु शंकर पाण्डे, महेन्द्र थापा, वेदप्रसाद भट्टराई लगायतलाई पनि पक्रेको थियो । म १७ बर्षको सबैभन्दा कान्छो राजबन्दी थिए, त्यसैले १९ दिनमा छोडिदियो” उनी सम्झन्छन् । उनी जेलबाट छुटेपछि गुल्मीको तम्घास क्षेत्रमा खटाइए । आन्दोलनका क्रममा उनी गुल्मीका तम्घास, बलेटक्सार, खैरेनी, आपचौर, जुहाङजस्ता ठाउँहरुमा पुगे । चैत्र २६ गते बहुदलको घोषणा भयो । आन्दोलन सकियो र सकियो उनको गुल्मीको बसाई पनि ।
उनले प्रवेशिका उत्तीर्ण गरे । अध्ययनलाई निरन्तरता दिन उनी बुटवल झरे । उनी अनेरास्ववियुको रुपन्देही जिल्ला कमिटीमा आबद्ध भए । वि. सं. २०४७ सालमा विद्यार्थी राजनितीबाट पार्टी राजनितीमा प्रवेश गरे । वि. सं. २०४८ सालमा वुटवल बहुमुखी क्याम्पसको इन्चार्ज तोकिए ।
सधै राजनिती मात्रै गरेर गुजारा चल्ने पक्कै थिएन । उनी भारतमा रहेका दाजुसंग बसेर आईटी बिषय पढ्ने योजनाका साथ भारत हानिए । त्यहाँ उनले अलिकति पैसा जम्मा गरेर पढ्ने उद्देश्यले काम गर्न थाले । जब पैतिस हजार जति पैसा जम्मा भयो, उनलाई नेपालमै आएर पढ्ने र यतै करियर बनाउने सोंच आयो । दाजुसंग सल्लाह गरेर उनी नेपाल फर्किए । उनी बुटवल बहुमुखी क्याम्पसमै बिएलमा भर्ना भए भने जनसंघर्ष दैनिक पत्रिकामा काम पनि गर्न थाले । अब उनको अर्को यात्रा सुरु भएको थियो । करियरको यात्रा । पत्रकारितामा यसरी मिहिनत गर्न थाले कि एकै बर्षमा जनसंघर्ष दैनिकले उनलाई पाल्पा जिल्ला हेर्ने गरी खटायो । पाल्पामा हुँदा उनले समगरमाथा दैनिकमा पनि एक बर्ष काम गरे । नेकपा माले हुदै पार्टी एकिकरण भई नेकपा एमाले भएका उनी पार्टीको रुपन्देही जिल्लाको प्रचार विभागमा समेत काम गर्न थाले । वि.सं. २०५४ साल तिर पार्टीले चलाएको मिसन पत्रकारिता अन्र्तगतको ‘श्रीनगर साप्ताहिक’मा काम गरे । यसैबिचमा उनी आफैले ‘बुटवल साप्ताहिक’ स्थापना गरि तीन वर्षसम्म चलाएको पनि स्मरण गर्छन् । वि. सं. २०५८ तिर पार्टी निकट साथीहरु मिलेर सहकारी मोडेलमा ‘मेचीकाली दैनिक’ सुरु गरी त्यसैमा कार्यकारी सम्पादकको रूपमा काम गर्न थालेको उनी बताउँछन् ।

यता पार्टी राजनितीमा उनले नेकपा एमालेले अब क्रान्तिकारी धार समाउनुपर्छ भनेर पार्टीभित्रै पैरवी गर्न थाले भने विभिन्न लेखहरु समेत लेख्न थाले । जुन कुरा सुधारवादी पंक्तिलाई मनपर्ने कुरै थिएन । उनी थिए सानैदेखि आलोचनात्मक चेत भएका र विद्रोही स्वभावका । उनले पार्टी भित्रको दक्षिणपन्थी धारलाई लेख तथा मन्तव्यका माध्यमबाट प्रहार गर्न थालेपछि पार्टीभित्रै विरोधीहरु जन्मिन थाले । उनी कार्यकर्ताको आचरण कम्युनिष्ट विचार अनुरुप हुनुपर्ने ठान्थे । उनी आन्तरिक मात्रै नभएर कम्युनिष्ट पार्टीले कस्तो विश्व दृष्टि राख्ने भन्ने बिषयमा पनि लेखिरहन्थे । यसै क्रममा अमेरिकी रणनितीका बिषयमा लेखेको एउटा लेखको कारण उनलाई पार्टीले स्पष्टिकरण सोध्यो । माफी नमागेपछि प्रचार विभागबाट हटायो । त्यसपछि अर्को लेख ‘कम्यूनिष्ट आन्दोलनमा रायमाझीपथको यात्रा शृंखला (दैनिक लुम्बिनी)’ का कारण पार्टीले उनलाई साधारण सदस्यबाटै निकाल्यो । उनी वि. सं. २०५९ बाट करिब ६ बर्ष पार्टीबाट निष्कासनमा परेर बस्नुपर्यो । हक्की र निडर स्वभावका यि क्रान्तिकारी आज पनि पछुतो मान्दैनन् । “मैले लेखेको कुरा कहिल्यै पनि पार्टीको सिद्धान्त र विचारका विरुद्ध थिएन तर केही नेताहरुको स्वार्थका कारण पार्टी नै विचलनमा जान थाल्यो, मैले लेखेर, बोलेर खबरदारी गरेको हूँ, मलाई कुनै पछुतो छैन । विचारमा कहिल्यै र कसैसंग सम्झौता गरिन ।” उनी भन्छन् ।
उनी पार्टी विहीन भएको समयमा ‘द्धन्द्धपिडीतहरुको जीवनरक्षा अभियान’ र ‘संविधानसभाको लागी नागरिक जागरण अभियान’ जस्ता कार्यक्रम लिएर गाउँगाउँ हिडे । नेकपा एमालेको संगठन बनाउँदा गाउँगाउँ हिडेका यिनलाई नयाँ जिम्मेवारी लिएर पुन गाउँ गाउँमा पुग्न कठिन भएन । यसै क्रममा यिनले ‘संविधानसभा, किन र कसरी’ भन्ने पुस्तक पनि लेखे । यही समय उनी गैरसरकारी संस्था महासंघ, रुपन्देहीको अध्यक्ष समेत बने । ‘पिपुल्स मुभमेन्ट’ भन्ने भूमिगत अभियान पनि चलाए । जुन अभियानमा डा. कृष्ण न्यौपाने, वसन्त खनाल र दिपक विश्वकर्मा लगायत व्यक्तित्वहरु समेत संलग्न रहेको उनी बताउँछन् । उक्त समयमा उनले थप पुस्तक र लेखहरु प्रकाशन पनि गरे । ‘जबज र प्रचण्डपथ’ भन्ने पुस्तक त्यतिबेला नै हो प्रकाशित भएको । त्यस्तै युवाहरुलाई वैचारिक बनाउन ‘चिन्तन अभियान’का १४ वटा श्रृङ्खलाहरु संचालन गरे । वि. सं. २०६६ सालको एकदिन नेकपा एमालेका जिल्ला ईन्चार्ज लिला गिरीले घरमै बोलाएर पार्टीमा काम गर्न आग्रह गरे । उनी राजी भए । उनी माथिको कारबाही फिर्ता भयो । पुरानै पार्टी सदस्यता कायम भयो । पार्टीले उनलाई देवदहको ईन्चार्ज बनाएर खटायो । उनी पुनः एमालेको सांगठनिक काममा फर्किए । देवदहमा उनले एमालेको संगठनलाई मजबुद बनाउन धेरै मिहिनेत गरे र सफल पनि भए ।

केही समय पहिले पार्टी नै विभाजन हुँदा उनी एकिकृत समाजवादी पार्टीमा समाहित भए । राजनितीक सक्रियताका हिसाबले हाल उनी एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य छन् । पार्टीमा काम गर्दा उनले वर्गीय मुद्दामा बढी काम गरे । विपन्न, सिमान्तकृत र पिछडिएका समुदायको हकहित र उत्थानमा बढी जोड दिए । ‘सुकुम्बासी मुक्ति अभियान, देवदह’ स्थापना गरेर सुकुम्बासीहरुको आवाज बुलन्द पारे । पछि ‘भूमिहिन सुकुम्बासी संगठन’ को रुपन्देही जिल्ला अध्यक्ष समेत भए । सिक्टहनमा जमिनदारले कब्जा गरेको जग्गा किसानहरुलाई नै फिर्ता गर्न सफल भए ।
देवदहमा पत्रकारिताको जग बसाल्ने जस पनि उनलाई जान्छ । ‘विकासका लागि सुचना तथा संचार अभियान (ईम्मोड, नेपाल) स्थापना गरेर देवदहमा ग्रामिण पत्रकारिता तालिम संचालन गरे । तालिममा सहभागी उत्कृष्ट जनशक्तिलाई लिएर पाक्षिक भित्तेपत्रिका ‘देवदह सन्देश’ संचालन गरे । गाउँगाउँमा सूचना र साक्षरतामा योगदान पु¥याएको उक्त टिममा झविन्द्र देवकोटा, मोहन ठाकुर, पवन पौडेल, शुशिला भट्टराई, शिवप्रसाद काफ्ले, सन्देश ढुंगाना, अर्जुनप्रसाद न्यौपाने, कृष्ण गौतम लगायतका जुझारु युवाहरु थिए । यसैगरी वि. सं. २०६६ सालमा उनकै नेतृत्वमा राजधानी बाहिर पहिलो सामुदायिक टेलिभिजन ‘लुम्बिनी टेलिभिजन’ को स्थापना गरी कार्यकारी निर्देशक भई काम गरे । उनी त्यसमा कार्यक्रम संचालक देखि प्रशासनिक कामहरु समेत हेर्थे । उनले त्यसबेला भुई मानिसको समस्या मिडियामा आउनुपर्छ भन्ने उद्देश्यले गाउँ गाउँमा गई समस्याहरु उजागर गर्थे ।

यसैगरी सिद्धिचरण भट्टराईले देवदहमा अनेक किसिमका विकास निर्माण र सामाजिक अभियानहरु संचालन गरेका छन् । ड्रिम देवदह नामक संस्था स्थापना गरेर माटो परिक्षण अभियान, सूचना केन्द्र स्थापना, बुद्धदर्शन पाठ्यक्रम निर्माण, काष्ठकला पार्क निर्माण, प्रस्तर कला पार्क निर्माण, चैते देशै मेलामा फोटो प्रर्दशन, नेपालमै पहिलोपटक पार्क सम्मेलन लगायतका अभियानहरु उनकै परिकल्पनाका उपज हुन् । साथै देवदहमा निरन्तर वैचारिक वहस तथा छलफलका कार्यक्रमहरु चलाईरहन्छन् । केही बर्ष अघि देवदह मा. वि., शितलनगरको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर पनि काम गरे । उनले त्यहाँ हुँदा गरेका सुधारका कामहरु जस्तैः चिल्ड्रेन पार्क, मन्टेश्वरी स्थापना, कम्प्युटर ल्याब स्थापना आदिको उनका ‘विरोधीहरु’ पनि प्रशंसा गर्छन् । सोही क्रममा देवदहभरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको संजाल बनाई एकिकृत रुपमा सुधारका काम गर्ने परिपाटीको समेत विकास गरे । त्यस्तै देवदहका अन्य सामाजिक क्रियाकलापहरुमा उनको उपस्थित अनिवार्य रहने गरेको छ ।
उनी विकासमा स्थानीय स्रोत साधनको परिचालन गर्नुपर्छ भन्ने अवधारणाका पैरवीकर्ता पनि हुन् । उनी नेकपा एमालेमै हुँदा देशमै पहिलो पटक वि. सं. २०६६ सालमा देवदहमा ‘देवदहको विकास दृष्टिकोण’ बनाएर घोषणा गरेको उनी सम्झन्छन् । हरेक स्थानीय निकायले आफ्नो विकास दृष्टिकोण आफै बनाउनुपर्छ, माथिबाट थोपरेको दृष्टिकोणले काम गर्दैन भन्ने उनको धारणा छ । “त्यतिबेला देवदहको मात्रै होइन रुपन्देही जिल्लाकै विकास दृष्टिकोण पनि पार्टीबाट निर्णय गराएको थिए” उनी सम्झन्छन् ।
हाल लुम्बिनी विकास कोषका कोषाध्यक्षको गहन जिम्मेवारीमा रहेर उनले समग्र लुम्बिनी क्षेत्रकै विकासमा योगदान गरिरहेका छन् । यसैक्रममा उनकै पहलमा हालै मात्र कपिलवस्तुको सगरहवामा ‘प्रस्तर मुर्तिकला कार्यशाला’ सम्पन्न भयो । उनी देवदह, कपिलवस्तु, नवलपरासी सबैलाई समेटेर एकिकृत लुम्बिनीको विकास गरी यहाँको ऐतिहासिक महत्व स्थापित गर्ने, पर्यटनको विकास गर्ने र जनताको जीवनस्तर माथि उठाउने काममा तल्लिन छन् ।
दुई छोरा र दुई छोरीका पिता उनको विवाह विं. सं. २०५३ सालमा शुशिला भट्टराईसंग भएको थियो । उनी सामाजिक, राजनितिक र व्यवसायिक जीवनमा मात्रै सफल छैनन्, पारिवारिक जीवनमा पनि सफल छन् । घरमा हुँदा श्रीमान् श्रीमती मिलेर खाना पकाउने, सरसफाई गर्ने गर्छन् । यो कुरा उनीबाट सबैले सिक्नु आवश्यक छ । उनी विचारले मात्र होइन व्यवहारले नै कम्युनिष्ट छन् । जुझारु, लडाकु, सरल र प्रष्ट । आर्थिक उपार्जन र उत्प्रेरणाका लागि देवदहमै अर्गानिक कृषि फर्म संचालन गरेका छन् । जीवनको मध्यान्हतिर आईपुग्दा उनी आफ्नो जीवनसंग बेस्सरी सन्तुष्ट छन् । “आजसम्म व्यक्तिगत फाइदाका लागि कसैको नराम्रोलाई राम्रो र राम्रोलाई नराम्रो भनिन । कसैलाई रिझाएर माथी पुग्नुपर्छ भन्ने सोचिन । जे गरे राम्रोको लागि गरे । आफ्नो ब्रह्मले देखेको सत्य बोले, लेखे । जे पाए आफ्नो क्षमताले पाए, कसैको निगाहाले पाइन” उनी आफूप्रति गर्व गर्दै भन्छन् ।

पत्रकार, लेखक, योजनाकार, राजनितीकर्मी, अभियन्ता अनेक परिचयमा फैलाएका उनी मूलतः आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउँछन् । विकृति र बिसंगतिको विरोध गर्दा उनले पाइला पाइलामा सास्ती पनि बेहोरेका छन् । तथापी उनी डराउने र पछाडी हट्ने खालका मानिस होइनन् । अनेक चुनौतीहरुसंग लड्दै निष्ठा र इमानको बाटोमा हिडिरहेका सिद्धिचरणले देवदह र लुम्बिनीको विकासका लागि अनेक सपना देखेका छन् र काम गरिरहेका छन् । उनी न त हौसला दिदा हौसिन्छन्, न त लखेड्दा रोकिन्छन् । उनी त नदी हुन्, जसलाई आफ्नो गन्तव्य र उद्देश्य थाहा छ, त्यसैले बगीरहन्छन् - निरन्तर । उनी गलत गर्ने आफ्नै मानिसहरुलाई पनि छोड्दैनन् । असल गर्ने जो कोहीलाई प्रोत्साहन गर्छन् । उनले हरेक काम व्यक्तिलाई सोचेर होइन, समाजलाई सोचेर गर्छन् । आजको लागि मात्र सोचेर होइन, भोलिको लागि पनि सोचेर गर्छन् । उनको यही स्पष्टता, सपना र विचारले देवदहलाई सकारात्मक योगदान दिईरहोस् । शुभकामना ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology