केही बर्ष अघिको घटना सम्झन्छु । देवदह-४, भवानीपुरमा भलिबल प्रतियोगिता आयोजना भएको थियो । जिल्ला बाहिरबाट पनि राम्रै मानिएका क्लबहरु प्रतियोगितामा सहभागी हुन आएका थिए । आयोजकले पनि एउटा टिम खेलाएको थियो । समुह चरणकै खेल भईरहदा एक्कासी विवाद सिर्जना भयो । विवादको बिषय थियो, एक खेलाडीको सहभागीता । आयोजक टिमबाट खेलेको एक खेलाडीले खेल्न पाउदैनन्, उनले नखेल्ले भए मात्रै हामी खेल्छौ भनेर विभिन्न क्लबहरुले विवाद सिर्जना गरिरहेका थिए । पछि उनी नखेलेरै उक्त प्रतियोगिता अगाडि बढाइयो । सुन्दा अचम्म लागे पनि यो घटना कुनै नौलो थिएन । रुपन्देही आसपासमा हुने प्रतियोगिताहरुमा अक्सर यस्तो हुने गर्छ । ति खेल्न नपाएका वा खेले भनेर विरोध गरिएको खेलाडी अरु कोही होइनन्, प्रताप खवास हुन् ।
भलिबलका पुर्व राष्ट्रिय खेलाडी प्रताप खवास नाम अनुसारकै प्रतापी छन् । यिनले आफ्नो खेल कौशलका कारण सिङ्गो देवदहको नाम उचो बनाएका छन् । भलिबल खेलमा देशको प्रतिनिधित्व गरेर कैयौ खेल खेले । त्यो मुकाममा पुग्न सफल प्रताप एक्ला देवदहबासी हुन् । देवदहमा भलिबलको पर्याय बनेका प्रताप त्यसै बनेका होइनन् । यिनले चढेका उकालीहरु र झरेका ओरालीहरुका कथा अनगिन्ती छन् ।
वि. सं. २०३२ चैत्र १५ गते तत्कालिन केरवानी गा.वि.स. वडा नं. ८ विजयपुर (हाल देवदह वडा नं. ४) मा माता नन्दकला घर्ती खवास र पिता केशव खवासको तेस्रो सन्तानको रुपमा जन्मिएका प्रतापका दुई दिदिहरु थिए । उनको बाल्यकाल ठिकठाक नै बित्यो । त्यतिबेला गाउँमा एउटा भलिबल क्लब थियो । विजय युवा क्लब नामको क्लब जहाँ जान्थ्यो, उत्कृष्ट प्रर्दशन गरेर आउथ्यो । त्यसैको खेल हेरेर हुर्किएका हुन् प्रताप । कुल बहादुर खवास, प्रेम चौधरी, हरिवंश खवास, हुमाकान्त पराजुली, बालकृष्ण बस्याल, छबिलाल जिसी, जोखु कँवर लगायतको राम्रो टिम थियो । प्रताप सम्झन्छन्, “उहाँहरुको खेल देखेर हुर्किएको हुँ, उहाँहरुकै प्रेरणाले भलिबलमा लागेको हुँ । विशेषगरी काइला काका कुल बहादुर खवासले मलाई उत्प्रेरित गर्नुहुन्थ्यो ।“ यसरी भलिबल खेलमा उनको रुचि र संलग्नता बढ्दै गयो । अग्ला कदका उनलाई उचाईले पनि साथ दियो । उनी भवानीपुरमा रहेको महामाया भवानी माध्यमिक विद्यालयमा पढ्थे । उनले विद्यालयमा हुने भलिबलका खेलहरु खेल्न थाले । । टेक्निकहरु सिक्दै गए । उनमा निखार आउदै गयो । यसरी उनी विद्यालयको मुख्य खेलाडी बने । विद्यालय स्तरीय विभिन्न भलिबल प्रतियोगिताहरुमा उनले विद्यालयलाई धेरै उपाधीहरु जिताए ।
तिनताका विद्यालयहरु बिच विरेन्द्र शिल्ड प्रतियोगिता हुन्थ्यो । उनी कक्षा ७ मा पढ्थे । उनलाई सम्झना भएसम्म २०४८ साल तिरको कुरा हो । विरेन्द्र शिल्ड प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गरेर खेल्न गएको उनको टिम रुपन्देही जिल्लाकै प्रथम भयो । हो, यहाँबाट हो उनलाई अब भलिबलमै करियर बनाउनुपर्छ भन्ने लागेको । उनले अब सपना देख्न थाले । जिल्ला भरीका उत्कृष्ट खेलाडीहरुलाई समेटेर जिल्लाको टिम बन्ने भयो । भैरहवााको पक्लिहवा क्याम्पसमा सम्पन्न भएको छनोटमा प्रताप खवास छानिए । महामाया भवानी मा. वि. बाट गएका मध्ये जिल्लाको टिममा छनोटमा पर्ने उनी एक्ला खेलाडी थिए । जिल्लास्तरीय खेलमा पनि उनले उत्कृष्ट प्रर्दशन गरे । उनको टिमले उपाधि जित्यो । त्यसपछि उनी लुम्बिनी अञ्चलको टिममा पर्न सफल भए । रुपन्देहीबाट लुम्बिनी अञ्चलको टिममा छनोट हुने उनी एक्ला खेलाडी थिए । “त्यतिबेला तालिमका लागि प्रत्येक दिन कालिका मा. वि., वुटवलमा जानुपथ्र्यो । खैरेनीबाट बुटवलसम्मको बसभाडा २ रुपैया लाग्थ्यो । प्रत्येक दिन ३ घण्टा तालिम गर्नु पथ्र्यो । उक्त तालिमका क्रममा मैले धेरै कुराहरु सिके” उनी सम्झन्छन् । उनको लुम्बिनी अञ्चलको टिम पोखरामा गएर राष्ट्रिय खेल खेल्यो जसमा द्धितीय भयो । त्यस प्रतियोगितामा पनि उनले राम्रो प्रदर्शन गरे । त्यसपछि उनी कोच तथा व्यवस्थापकहरुको आँखामा परे ।
समय बित्दै थियो, प्रताप प्रतियोगिताहरु खेल्दै थिए । यसै क्रममा वि.सं. २०५२ सालमा बुटवल धागो कारखानामा खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भयो । जसमा नेपाल आर्मी, प्रहरी लगायतका टिमहरु पनि सामेल भए । उनलाई धागो कारखानाको टिमबाट खेल्न प्रस्ताव आयो । भलिबल खेल्न भनेपछि हुरुक्क हुने प्रतापले स्वीकारी हाले । उक्त प्रतियोगितामा आर्मी, प्रहरी लगायतका घाघडान टिमहरुलाई हराएर धागो कारखानाको टिमले उपाधि जितेको थियो । त्यसपछि त उनी प्रहरीका उच्च अधिकृतहरुको आँखामा परिहाले । उनलाई प्रहरी तालिम केन्द्र बुटवलबाट खेल्न प्रस्ताव आयो । एस एल सीको परिक्षा नजिकिदै गरेको कारणले आफ्नो ध्यान पढाईमै केन्द्रित गर्ने बताएर उनले प्रस्तावलाई अस्वीकार गरिदिए ।
देवदहलाई भलिबलको हब बनाउने उनको सपना छ । त्यसका लागि आफूले पहल गरेपनि स्थानिय निकायले चासो नदिएको उनको गुनासो छ । “भलिबलको विकासको लागि ‘देवदह भलिबल क्लब’ गठन गरेको छु तर बजेट अभावमा प्रतियोगिता गर्न सकिएको छैन । अरु स्थानीय निकायहरुले विभिन्न प्रतियोगिता आयोजना गर्छन्, त्यसमा म नै अफिसियलको रुपमा काम गरिरहेको हुन्छु । तर आफ्नै ठाउँमा प्रतियोगिता गर्न नसक्दा चित्त दुख्छ । भलिबल खेललाई उपेक्षा गरेको हो कि जस्तो लाग्छ” उनले दुखेसो पोखे ।
उनले वि.सं. २०५२ सालको एस एल सी दिए । सोही बर्ष चैत्र महिनाको अन्तिम तिर भवानीपुरमा चैते दशैको मेलाको अवसरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना भयो । उक्त प्रतियोगितामा प्रहरी तालिम केन्द्र बुटवललाई प्रताप खवास संलग्न भएको विजय युवा क्लबले हरायो । त्यसपछि उनलाई महेन्द्र पुलिस क्लबबाट खेल्न प्रस्ताव आयो । उनले सल्लाह गरेर निर्णय दिने बताए । उनले बाबा केशव खवास र मेन्टर तथा काका कुल बहादुर खवासलाई सोधे । उनी सम्झन्छन् “उहाँहरुले खेल्न सल्लाह दिनुभयो । जागिर पनि हुने, खेल्न पनि पाइने, खेलमा अझ निखारता पनि आउने देखेपछि प्रहरीबाट खेल्ने निर्णय गरेँ ।“ उनले थपे, “नियुक्ति लिनकै लागी नागरिकता पनि बनाएँ ।“ महेन्द्र पुलिस क्लबबाट खेल्न पाउनु उनको जीवनको टर्निङ पोइन्ट बन्यो । त्यहाँ उनले उच्च स्तरको तालिम पाए, अनुशासन र डाइट पनि व्यवस्थित भयो । अब उनको एउटै लक्ष्य बन्यो, प्लेइङ सेटमा पर्ने । उनले सोही अनुसार मिहिनेत गर्न थाले । नभन्दै सोलुखुम्बुमा भएको एउटा प्रतियोगिताको फाइनल खेलमा खेल्ने मौका के पाएका थिए उनले आफूलाई प्रमाणित गरिहाले । उक्त खेलमा अब्बल प्रर्दशन गरे पछि उनी निरन्तर रुपमा प्लेइङ सेटमा पर्न थाले । प्रतापले फेरी अर्को सपना देखे, राष्ट्रिय टिममा पर्ने ।
अनुशासन, मिहिनेत, लगनशिलता र सपनाले उनलाई त्यो मुकाममा पक्कै पनि पुगिन्छ भन्ने थाहा थियो । त्यसैले उनले थप मिहिनेत गर्न थाले । त्यतिबेला त उनलाई डाइटको लागि तलबले पनि पुग्ने अवस्था थिएन । कहिलेकाही घरबाट मगाएर र साथीभाईहरुसंग सरसापट लिएर समेत खर्च धान्न परेको उनी बताउँछन् । जब तपाई लगनशील, धैर्य र आशावादी भएर लक्ष्यमा केन्द्रित भएर लाग्नुहुन्छ तब तपाईलाई रोक्न सक्ने को? हो, यस्तै भयो । वि. सं. २०६० सालमा धनगढीमा भएको एक प्रतियोगितामा प्रतापले उत्कृष्ट खेल प्रर्दशन गरे । उनले उक्त प्रतियोगितामा बेस्ट सेटरको पुरस्कार जिते । त्यसपछि त उनलाई राष्ट्रिय टिमको क्याम्पमा बोलाइयो । उनी ६४ जनाको क्याम्पबाट उत्कृष्ठ १२ जनामा परे । अब उनको सपना पुरा भएको थियो । एउटा सामान्य परिवारमा जन्मेको केटो देशको प्रतिनिधित्व गरेर खेल्न पाउनु सानो उपलब्धि थिएन । उनले राष्ट्रिय टिमबाट सन् २००४ मा पहिलोपटक पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा खेले । त्यसको केही समय पछि बंगलादेशमा हुने ‘बिच भलिबल’ (बालुवामा खेलिने भलिबल) प्रतियोगिताका लागि २ जना खेलाडी छनोट गर्नुपर्ने थियो नेपालले । त्यसमा पनि प्रेम भण्डारी र प्रताप छनोट भए । यसरी उनले आफूलाई अब्बल साबित गर्दै लगे ।

त्यो समय देशमा माओवादीको शसस्त्र संघर्ष उत्कर्षमा थियो र उनको खेल जीवन पनि । सबैलाई प्रभाव पारेको शसस्त्र संघर्षले प्रताप र उनको खेल जीवनलाई पनि छोडेन । माओवादीले यता घरमा प्रहरीको जागिर छोड्न दबाब दिन थाले । धेरै धम्की र दबाब आएपछि उनले प्रहरीको जागिर र राष्ट्रिय खेलाडीको दर्जा दुवै छोड्न बाध्य भए । उकालो चढिरहेको उनको खेल जीवनमा एकाएक ब्रेक लाग्यो । “त्यतिबेला धेरै दु:ख लाग्यो तर पनि बाँच्न पाउनु नै ठुलो कुरा हो भनेर चित्त बुझाए” उनले विगत सम्झिए । देशमा बस्ने अवस्था नभएपछि उनी विदेशिने निर्णय गरे । साथी मार्फत् अबुधावी प्रहरीमा आवेदन दिए, एक नम्बरमा नाम निस्कियो । उनी युएई हानिए । उनी खेलाडी थिए । उनको मुख्य काम थियो खेल्नु । खेल्नकै लागि उनी प्रहरीमा गएका थिए । उनको सौभाग्य अबुधाबी गएर पनि उनी अबुधाबी प्रहरीको टिमबाट भलिबल नै खेले । सुरु सुरुमा नेपाली क्लबबाट पनि खेले । पछि उनको खेल देखिसकेपछि उनलाई विपक्षी टिमले खेल्नै नदिएको उनी सम्झन्छन् । युएईमा उनले भारतीय, भियतनामी, इरानी, श्रीलङ्कन, अरबी लगायतका विदेशी क्लबहरुबाट पनि खेले । एक दशक भन्दा बढी समय युएई बस्दा उनले भलिबल खेले, प्रशिक्षण गरे र पैसा पनि राम्रो कमाए ।
विदेशमा कति बस्ने भनेर २०७२ सालमा उनी विदेश नफर्किने गरेर देश फर्किए । “त्यतिबेला नेपाल आएर भलिबल प्रशिक्षण मात्रै गर्छु भन्ने थियो तर यहाँ आएपछि विभिन्न क्लबहरुले खेल्न बोलाए, अझै खेल्नुपर्छ भनेर साथीभाईहरुले पनि सम्झाए त्यसपछि फेरी खेल्न थाले” उनी भन्छन् । त्यसयता उनी भलिबल खेल्नकै लागि देशभरी हिडे । अझै पनि हिडिरहेकै छन् । अझै पनि कर गरेका ठाउँमा उनी खेल्न जान्छन् । पाँच दशक उमेर पार गर्नै लाग्दा पनि खानपिनमा अपानाएको कडा अनुशासनका कारण उनको शरिर आज पनि तन्दुरुस्त छ । अब त उनमा खेल्ने भन्दा पनि प्रशिक्षण गर्ने चाहना छ । त्यसैले अहिले उनी रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश र ए डिभिजन क्लब मणिमुकुन्द भलिबल क्लबको प्रशिक्षकको भुमिकामा छन् । खेलाडीहरु उत्पादन गरिरहेका छन् । आफूले उत्पादन गरेका खेलाडीहरु राष्ट्रिय टिमसम्म पुगेको उनी बताउँछन् । विभिन्न विद्यालयहरुको प्रशिक्षकको रुपमा भुमिका निभाएका उनले प्रतिभावान् खेलाडीहरुलाई छात्रवृत्ति उपलब्ध गराएर प्रशिक्षण दिईरहेका छन् । देवदहमा पनि केही गरौ भनेर उनी हालसालै बुद्ध पब्लिक बोर्डिङ स्कुलमा पनि प्रशिक्षकको रुपमा जोडिएका छन् । अब उनी विशुद्ध प्रशिक्षण र विकासमा केन्द्रित हुन चाहन्छन् ।
विगत लामो समयदेखि निरन्तर भलिबलप्रतिको उनको लगाब आज पनि उस्तै छ, जति सुरुवाती चरणमा थियो । विशेष गरी देवदहलाई भलिबलको हब बनाउने उनको सपना छ । त्यसका लागि आफूले पहल गरेपनि स्थानिय निकायले चासो नदिएको उनको गुनासो छ । “भलिबलको विकासको लागि ‘देवदह भलिबल क्लब’ गठन गरेको छु तर बजेट अभावमा प्रतियोगिता गर्न सकिएको छैन । अरु स्थानीय निकायहरुले विभिन्न प्रतियोगिता आयोजना गर्छन्, त्यसमा म नै अफिसियलको रुपमा काम गरिरहेको हुन्छु । तर आफ्नै ठाउँमा प्रतियोगिता गर्न नसक्दा चित्त दुख्छ । भलिबल खेललाई उपेक्षा गरेको हो कि जस्तो लाग्छ” उनले दुखेसो पोखे ।
“जिन्दगीलाई फर्केर हेर्दा खेलकुदमा लागेकोमा कुनै पछुतो छैन मलाई । पढाईलाई अगाडि बढाउन नपाएको र माओबादीको धम्की नआएको भए अझै केही समय देशको प्रतिनिधित्व गरेर खेल्थे जस्तो लाग्छ । यत्ति कुरामा नमिठो लाग्छ । अरु त जे भयो राम्रै भयो भन्नेमा छु । बरु म सबैलाई आफ्ना सन्तानहरुलाई खेलकुदमा लगाउन सल्लाह दिन्छु । खेलकुदले शारिरीक तथा मानसिक रुपमा मानिसलाई बलियो बनाउँछ ।” खेलकुदमा लागेकोमा तपाई सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा उनले एकै सासमा जवाफ फर्काए । तपाईको सफलताको मुल कारण के हो? मेरो प्रश्नमा उनी एकछिन घोरिए र भने, “आफ्नो क्षमता चिन्नु, सपना देख्नु र अनुशासनमा बसी कडा मिहिनेत गर्नु ।“ उनले मलाई मात्र जवाफ दिएका होइनन्, सबैलाई सन्देश दिएका हुन् । उनले पाएको सफलतामा उनको परिवारको ठुलो भूमिका रहेको उनी बताउँछन् । बुवा, आमाले सधै खेल्नका लागि हौसला दिएको र घरमा समय दिन नपाउँदा पनि श्रीमतीले कहिल्यै पनि गुनासो नगरेको बरु खेल्नको लागि उत्प्रेरित गरेको उनको भनाई छ । एक छोरा र एक छोरीका पिता उनले छोराछोरीले पनि आफ्नो सफलतामा गौरवान्वित महसुस गरेकोले पनि आफू सन्तुष्ट रहेको बताउँछन् ।
प्रताप खवास देवदहको यस्ता ‘आइकन’ हुन्, जसलाई हेरेर वर्तमान पुस्ताले गर्व गर्न सक्छ र भावी पुस्ताले सपना सजाउन सक्छ । देशकै गहना बनेका यिनलाई देवदहले जन्माउनु र हुर्काउनु गौरवको विषय हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology