Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह रत्न

मगर भाषा संरक्षणका अविचलित सिपाही

मगर भाषा संरक्षणका अविचलित सिपाही

images
  • मगर भाषा संरक्षणका अविचलित सिपाही
    images
    images

    दल बहादुर बिरकट्टा मगर, देवदह र आसपासमा यो अनेक आयामहरुमा परिचित नाम हो । राजनितीकर्मी, समाजसेवी तथा भाषा संरक्षणका अथक अभियन्ता । उनी पुर्व शिक्षक र पुर्व भारतीय सैनिक पनि हुन् । तर देवदहभन्दा बाहिर निस्केपछि उनको परिचय भाषा संरक्षणका अभियन्ताका रुपमा देशभरी र नेपाली भाषी मगर समुदाय भएका विदेशी भूमिहरुमा पनि परिचित नाम हो । यिनले ६७ बर्षे जीवनको रुखबाट उमेरका धेरै पातहरु मगर भाषा र संस्कृतिको संरक्षण तथा मगर समुदायको सर्वाङ्गीण हितका खातिर सुकाएका छन्, खसालेका छन् । अनेक हण्डर ठक्कर र आरोपहरु सहेर उनी आजसम्म पनि अविचलित आफ्नो समुदायको हित रक्षाका लागि खटिरहेकै भेटिन्छन् । मगर समुदायका लागि त यिनी अभिभावक र सेवक भैहाले । सिंगो समाजका लागि पनि एक उर्जा, उत्प्रेरणा र उदाहरण हुन् ।

    images
    images
    images

    यिनी आखिर को हुन्? किन यसरी यतापट्टि लागे त? हाम्रो खास चासो र सरोकार यही छ अहिले ।  

    images
    images
    images

    वि. सं. २०१४ आश्विन २० गते स्याङ्जा जिल्लाको विरुवा गाउँपालिका वडा नं. ५ मोचाबारी (साबिकको मालमुल स्यानीचौर गाउँ पन्चायत) मा जन्मिएमा दल बहादुरका चार जना दिदिहरु र एक जना दाई थिए । पछि एक बहिनी र भाई पनि थपिए । गाउँकै श्री जामुने डाँडा प्रा. वि. मा कक्षा ५ सम्म र गाउँबाट १ घण्टाको दुरीमा पुगिने बिरुवा बजारमा रहेको श्री नवज्योती माध्यमिक विद्यालयबाट कक्षा १० सम्म पढे । वि. सं. २०३२ सालमा टेस्ट पास भएपछि उनको जीवनले नयाँ मोड लियो । ठुलो परिवार भएको कारण पारिवारिक जिम्मेवारी र गाउँले तथा आफन्तीहरु धेरै जसो भारतीय सेनामा काम गर्ने भएकाले १८ बर्षे लक्का जवानको मनमा थप पढ्ने भन्दा पनि कसरी हुन्छ छिटो भारतीय सेनामा भर्ती हुने रहर पलायो । भारतीय सेनामा जाने हुटहुटी यति थियो कि मुखमै आएको प्रवेशिका परिक्षा पनि हापेर उनी भारत तिर लागे । भर्ती भए । उनको सपना पुरा भयो ।    
      
    भारतीय सेनामा उनले करिब १६ बर्ष काम गरे । पढ्ने चाहनालाई फेरि ब्युउताउँदै उनले सेनामै रहँदा म्याट्रिक र ईन्टरमिडियट पास गरे । भारतीय सेनाका रुपमा उनले भारतका विभिन्न स्थानहरु लद्याख, राजस्थान, बनारस, धार्चुला, भोपाल र मणिपुरमा काम गरे । भारतीय सेनामा काम गर्दा भारतमा विभिन्न राज्यहरुमा सरकारले प्रान्तीय भाषाहरुलाई मान्यता दिएको, सरकारी कामकाजमा प्रयोग गरेको र तत् तत् भाषाहरुका विश्वविद्यालय समेत खोलेको देखेका उनमा आफ्नो भाषाप्रति लगाव बढ्यो र आफ्नो देशमा किन यस्तो छैन भन्ने प्रश्नले उनलाई बारम्बार खल्बल्याउन थाल्यो । उनमा आफ्नो समुदाय (मगर समुदाय) को भाषा र संस्कृति जोगाउन काम गर्नुपर्छ भन्ने सचेतना कहाँबाट आयो भन्ने प्रश्नको उत्तर, हो यही निरबाट पाउन सकिन्छ ।

    images
    images
    images

    भारतीय सेनाबाट स्वेच्छिक अवकाश लिई वि.सं. २०४९ सालमा नेपालमा आए । छोरालाई रुपन्देहीको बुटवलमा रहेको रत्ना विद्यापिठको छात्राबासमा राखेर पढाईरहेका उनलाई सोही विद्यालयमा शिक्षक बन्न प्रस्ताव आयो । उनले स्वीकार गरे । त्यसै क्रममा एक जना साथीले उनलाई केही साथीहरु मिलेर विद्यालय खोलौ भन्ने प्रस्ताव राखे । उनी मन्जुर भए । त्यसरी सुरु भएको थियो, क्याम्ब्रिज बोर्डिङ्ग स्कुल जुन अहिले मनास्लु बोर्डिङ्ग स्कुलको नामबाट कालिकानगरमा संचालित छ । त्यहाँ उनले सहायक प्रिन्सिपलका रुपमा वि. सं. २०५६ सालसम्म पढाए । करिब १६ बर्ष भारतमा बस्दा त्यहाँको सरकारले प्रान्तीय भाषालाई महत्व दिएको देखेका दल बहादुरले यहाँ राज्यले नै एकल भाषा र संस्कृतिलाई मात्र प्रोत्साहन दिई अन्य भाषा संस्कृतिलाई महत्व नदिएको आफैले देखे, भोगे र बुझे । भारतमा रहँदा आफ्नो भाषा र संस्कृतिप्रति बढेको लगाव र मोहले अब झाङ्गिने मौका पायो । शिक्षकको भूमिकामा काम गरिरहँदा उनको संगत विभिन्न सामाजिक क्षेत्रमा काम गर्नेहरुसंग हुन थाल्यो । 

    यसै क्रममा उनमा आफ्नो भाषा र संस्कृतिमाथि एकल जातीय राज्यद्धारा गरिएको भेदभाव विरुद्ध संगठित भई काम गर्ने ईच्छा प्रबल भयो । उनी राजनितीक रुपमा काम गर्न राष्ट्रिय जनमुक्ति पार्टीमा आबद्ध भए । वि.सं. २०५६ सालको संसदीय निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ बाट पार्टीको तर्फबाट उम्मेदवार बने । यसरी उनी आफ्नो भाषा र संस्कृतिका लागि काम गर्ने क्रममै राजनितीक कार्याकर्ता पनि बने । उनले वि. सं. २०६४ को संविधानसभा सदस्यका लागि पनि सोही ठाउँबाट चुनाव लडे । वि. सं. २०७० को संविधानसभा सदस्यका लागि भने रुपन्देहीको क्षेत्र नं. १ बाट उम्मेदवारी दिए भने वि. सं. २०७४ मा देवदह नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिए । उनले कुनै पनि निर्वाचनमा नजिते पनि आफ्नो समुदायका मुद्दाहरुलाई स्थापित गर्न सफल भएको ठान्दछन् ।

    राजनीतिक रुपमा उनी अहिले पनि पार्टी गतिविधीमा सक्रिय छन् । वि.सं. २०५० सालमा युवा संगठन, रुपन्देहीको सल्लाहकारको रुपमा सुरु भएको राजनितीक जीवन, २०५६ सालमा स्याङ्जा जिल्ला अध्यक्ष, केही समय पछि रुपन्देही जिल्ला अध्यक्ष, २०६४ सालमा केन्द्रिय सदस्य, केन्द्रिय उपाध्यक्ष हुदै हाल उनी केन्द्रिय अनुगमन विभागका केन्द्रिय संयोजकका रुपमा क्रियाशिल छन् । 

    राजनीतिमा सक्रिय भएपनि उनको मुख्य योगदान भाषा संरक्षणमै छ । यसो भनौ, भाषा संस्कृतिको क्षेत्रमा काम गर्ने हुटहुटीकै कारण उनी जनमुक्ति पार्टीमा सक्रिय भएका हुन् । भाषा संरक्षणमै काम गर्ने हेतु वि.सं. २०५१ सालमै नेपाल मगर संघमा आबद्ध भएका थिए । रुपन्देहीको जिल्ला सचिव हुदै दुई कार्यकाल जिल्ला अध्यक्ष पनि भए । पछि केन्द्रिय उपाध्यक्ष र हाल उनी केन्द्रिय सह अध्यक्षका रुपमा कार्यरत छन् । उनले मगर भाषा संरक्षणमा गरेका कामहरुको फेहरिस्त लामो छ ।

    मगर भाषा कसरी सिक्ने भन्ने बिषयमा दुई वटा पुस्तकहरु ‘मगर ढुट’ र ‘मई ढुट’ समेत लेखेका उनको अर्को पुस्तक प्रकाशनको तयारीमा छ । फुटकर लेखहरु पनि धेरै प्रकाशित छन् । मगर भाषा सिकाउदै उनी देशका विभिन्न ठाउँहरुमा पुगेका छन् । भाषाको संरक्षणका लागि विभिन्न निकायहरुमा ज्ञापनपत्र त कति बुझाए कति । विभिन्न समयमा भाषिक आन्दोलन र अभियानहरु चलाए । राज्यलाई घच्घच्याउने काम गरे ।

    मगर भाषा कसरी सिक्ने भन्ने बिषयमा दुई वटा पुस्तकहरु ‘मगर ढुट’ र ‘मई ढुट’ समेत लेखेका उनको अर्को पुस्तक प्रकाशनको तयारीमा छ । फुटकर लेखहरु पनि धेरै प्रकाशित छन् । मगर भाषा सिकाउदै उनी देशका विभिन्न ठाउँहरुमा पुगेका छन् । भाषाको संरक्षणका लागि विभिन्न निकायहरुमा ज्ञापनपत्र त कति बुझाए कति । विभिन्न समयमा भाषिक आन्दोलन र अभियानहरु चलाए । राज्यलाई घच्घच्याउने काम गरे । उनी नेपाल मगर संघको भाषा प्रबद्र्धन उपसमितिको संयोजक हुँदा पहिलोपटक वि.सं. २०५७ सालमा तत्कालीन श्री ५ को सरकार पाठयक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरका शाखा प्रमुख जयप्रकाश लम्सालको संयोजकत्वमा गठीत ‘मगर भाषा पाठयक्रम निर्माण कार्यदल’को सदस्य भई मगर ढुटको कक्षा ५ सम्मको पाठयक्रम निर्माणमा काम गरे भने ‘मगर भाषा निती तथा कार्यक्रम’ तयार गरी सोही अन्तरगत नेपाल मगर संघको भाषिक कार्यक्रमहरु सञ्चालनमा रहेको उनी सुनाउछन्  । वुटवलको चौराहा चोकमा प्रथम शहिद लखन थापाको शालिक उनकै नेतृत्वमा राखिएको हो । मुख्य कुरा भाषा तथा संस्कृतिको किन जर्गेना गर्ने भन्ने कुरा मगर समुदायलाई नै बुझाउन उनी सफल भएको मान्दछन् । एक हदसम्म राज्य र समाजका विभिन्न तप्कालाई पनि बुझाउन सकेको उनी बताउँछन् । 

    वि.सं. २०५७ सालमा स्याङ्जाबाट बसाईसराई गरी देवदह ३, पेटबनिया, रुपन्देहीमा आएका उनी एक बौद्धिक र जुझारु अभियन्ता हुन् । वि.सं. २०३२ सालमा बुद्धिसरा थापा बिरकट्टा मगरसंग वैवाहिक बन्धनमा बाधिएका उनका २ छोरा, २ बुहारी र ३ नाती नातिनाहरु छन् । परिवारिक रुपमा खुसी र सुखी भएपनि देश र समाजको अवस्था प्रति उनी सन्तुष्ट छैनन् । सही राजनिती नहुँदा देशको विकास हुन नसकेको उनको ठम्याई छ । “हाम्रो देशको बिशेषता र सम्पत्ति भनेकै विविधता हो । अनेक जात, भाषा र संस्कृतिले लै हामीलाई सुन्दर र सम्पन्न बनाएको हो, तर हाम्रो राजनिती यहाँको समाज सापेक्ष नभएको कारण नै सबै समुदायको समुचित विकास हुन सकेको छैन । सबै समुदाय र वर्गको समान विकास भए पो समग्र देशको विकास हुने हो । यो किसिमको धरातलीय यथार्थ बुझ्ने सामर्थ्य हाम्रा राजनितीक दलहरु र नेताहरुमा रहेन ।” उनी देशको विकास हुन नसकेको कारण खोतल्छन् ।

    विविधता नै हाम्रो सम्पत्ति हो र हाम्रो सुन्दरता पनि । त्यही विविधताको फूलबारीका अनेक फूलहरु मध्ये एक फूल मगर भाषा र संस्कृतिको संरक्षणमा अहोरात्र समर्पित, ईमान्दार र वैचारिक रुपमा प्रष्ट दल बहादुर विरकट्टा मगरजस्तो व्यक्तित्व देवदहले पाउनु गर्वको कुरा हो । देवदहले उनलाई चिन्नुपर्दछ । 

    “तपाईको अनुभवमा मगर भाषा र संस्कृतिको संरक्षणका चुनौतीहरु के के हुन्?” मेरो प्रश्न खस्न नपाउदै उनी बोल्छन्, “पहिलो चुनौती त राज्य नै भयो । राज्यले सबै भाषाहरुको संरक्षण गर्ने भाषा निती बनाउन सकेको छैन । त्यसैगरी राज्यले देशभित्रै रोजगारी सिर्जना गर्न नसक्दा कमाउनकै लागि विदेशिने प्रवृत्तिले पनि हाम्रा भाषाहरुमाथि अतिक्रमण भएको छ र हाम्रा भाषिक आन्दोलनहरु क्षयीकरणमा पुगेका छन् । दोस्रो चुनौती हाम्रै समुदाय हो जसले मातृभाषाको यथेष्ट प्रयोग गर्न सकेको छैन भने नयाँ पुस्तामा भाषाप्रति जागरुकता कम छ । यसका विभिन्न कारणहरु छन् । एक, हामीले भाषा जोगाउने कुरालाई आर्थिक उपार्जनसंग जोड्न सकेनौ । दुई, राज्य र हाम्रै समुदायले पनि भाषा भनेको सम्पत्ति हो भन्ने बुझ्न सकेको छैन । अर्को चुनौती भनेको आधुनिकीरण हो ।” उनी एकोहोरो बोलिरहे । मैले थप अर्को प्रश्न तेर्साए, “भाषा संरक्षण गर्ने दायित्व क कसकोे हो?” उनी फेरी एकोहोरो बोल्न थाले, “भाषा बचाउने दायित्व राज्य, समुदाय र हरेक नागरिक सबैको हो । किनभने भाषा भनेका हाम्रा सम्पत्ति हुन् । कही न कही भाषा प्रयोगलाई राज्यले नै बाध्यकारी नबनाएसम्म भाषा जोगाउन कठिन छ । जस्तो कि लोकसेवा आयोगले लिने परिक्षामा निश्चित अंक (मानौ ४० पुर्णाङ्क) का प्रश्नका उत्तरहरु सम्बन्धित परिक्षार्थीहरुले मातृभाषामै लेख्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था गर्ने हो भने सबै भाषाको संरक्षणमा ठुलो काम हुन सक्थ्यो । त्यस्तै हरेक समुदाय र व्यक्तिले आफ्नो भाषाको संरक्षण र प्रयोगमा संवेदनशिल भई लाग्नुपर्छ । सबैभन्दा पहिले त भाषाको विविधता हाम्रो लागि कहिल्यै पनि बोझ होइन, यो सम्पत्ति हो भन्ने कुरा सबैले बुझ्नुपर्छ ।”

    “तपाईमाथि जातिवादी र भड्काउवादी भएको आरोप पनि लाग्ने गर्छ नि?” मेरो प्रश्नको सिलसिला टुटेको थिएन । उनले आफूमाथिका आरोपहरुको खण्डन गर्दै भने, “त्यो त हाम्रो ईतिहास र समाज विज्ञान नबुझ्नेहरुको आरोप हो । म कुनै जाति र भाषाप्रति पुर्वाग्रही पटक्कै छैन । मैले केबल ईतिहासमा विभिन्न भाषाहरुप्रति भएका दमनको वास्तविकताको बारेमा बताउने गरेको छु । ईतिहास नबुझी बर्तमान र भविष्य बनाउन सकिदैन भन्ने मेरो मत हो । मैले मेरो भाषाको संरक्षणमा काम गरे जस्तो हरेकले आफ्नो भाषाको संरक्षणमा काम गर्ने हो । तर एकले अर्को भाषा र संस्कृति माथि दमन गर्ने होइन । सहअस्तित्वका आधारमा अगाडि बढ्ने हो । विश्वका धेरै देशहरुले यस्तो काम गरेका छन् । हाम्रै छिमेकी देश भारतमा पनि धेरै भाषाहरुको संरक्षणमा सहअस्तित्वका आधारमा मनग्ये  कामहरु भएका छन् । हामीले एक अर्काको भाषा र संस्कृतिलाई सम्मान नगरी हाम्रो जस्तो बहुभाषिक र बहुसांस्कृतिक देशको समुचित विकास सम्भव नै छैन ।” उनी भन्दै छन्, म सुन्दैछु, “यद्यपी नयाँ संविधानले भाषा भनेको सम्पत्ति हो भनेर स्वीकार गरेकोले आशाका किरणहरु देखिएका छन् । अहिले विभिन्न प्रदेशहरुमा स्थानीय  भाषाहरुलाई दोस्रो भाषाको रुपमा प्रयोग गर्न स्थानीय सरकारहरु तयार भएका छन् तर कार्यान्वयनमा चाही समस्या देखिएको छ ।”

    दल बहादुर आफ्नो समुदायका लागि मात्र काम गर्दैनन् । सिंगो समाजका लागि पनि उत्तिकै क्रियाशिल हुन्छन् । विभिन्न सहकारीहरुका व्यवस्थापनमा समेत संलग्न रहेका उनी भविष्य निर्माण मा. वि. को व्यवस्थापन समितीको अध्यक्ष भई दुई कार्यकाल काम गरे । वैचारिक रुपमा आफ्नो भाषा र समुदायप्रति अटल र दृढ भएपनि सिंगो समाजमा भने उनी मिलेर काम गर्ने, सबैसंग शिष्ट र सभ्य व्यवहार गर्ने एक शालिन व्यक्तिका रुपमा धेरैले चिन्छन् उनलाई । जीवनका यतिका हिउँद भाषा आन्दोलनमा लगाएका दल बहादुरलाई कतै पछुतो त छैन? सोधी हेरे । “अहँ पटक्कै छैन । यो मैले आफैले रोजेको बाटो हो । यता लाग्दा धेरै अवसरहरुबाट बंचित पनि भए । धेरै आरोपहरुबाट घेरिए तर मलाई पछुतो एक रत्ती पनि छैन ।” उनको जवाफमा खुसी छचल्कियो । 

    विविधता नै हाम्रो सम्पत्ति हो र हाम्रो सुन्दरता पनि । त्यही विविधताको फूलबारीका अनेक फूलहरु मध्ये एक फूल मगर भाषा र संस्कृतिको संरक्षणमा अहोरात्र समर्पित, ईमान्दार र वैचारिक रुपमा प्रष्ट दल बहादुर विरकट्टा मगरजस्तो व्यक्तित्व देवदहले पाउनु गर्वको कुरा हो । देवदहले उनलाई चिन्नुपर्दछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।