राजेश पराजुली, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तन जनताबाटै सुधार हुनुपर्ने बताएका छन् । उनले जनताले मतदानमा सुधार नगरेसम्म राजनीतिक दलहरु नसुध्रने टिप्पणी गरे ।
पोखराको अमरसिंह चौरमा भएको बृहत चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले दल परिवर्तन नगरेपनि यसपालि मत परिवर्तन गर्न सुझाव दिए । "तपाई श्रदेय विपि कोईरालालाई देखेर कांग्र्रेस हुनुभएको हो भने श्रदेय पुष्पलाललाई देखेर कम्युनिष्ट हुनुभएको हो भने तपाईको जिम्मेवारी आफ्नो दललाई प्रतिपक्षमा राखेर सुधार्ने पनि हो । यदि तपाईको दल सप्रियो भने झ्यांगियो भने ठुलो हुन्छ । तपाई कुनै पनि बेला आफ्नो दलमा जान सक्नुहुन्छ । आफ्नै दललाई जिन्दवाद भन्न सक्नुहुन्छ । तपाईले प्रतिपक्षमा राख्दाराख्दै पनि तपाईको दल सप्रिएन भने हामी नयाँ दल विकल्पका रुपमा आएका छौं । पाँच बर्षपछि सोच्नुहोला अहिले सोच्न पर्दैन्", यसपालिको निर्वाचनमा मत परिवर्तन गर्न आग्रह गर्दै उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएर काम गर्ला कि नगर्ला भन्ने अन्योलमा नपर्न उनको सुझाव छ । ‘भोट खेरा जान्छ कि भन्ने पिर धेरैलाई भएको म सुन्छु । म भन्छु भोट त आजसम्म खेरा गएको होइन र ?’, उनको प्रश्न छ । अबको पाँच बर्ष पुरानै दललाई नेतृत्व सुम्पिएमा देश सिमित व्यक्तिको हातमा पर्ने उनको टिप्पणी छ ।
सरकारमा गएर गलत गर्ने आफ्ना पार्टीका उम्मेदवारलाई ठाउँको ठाउँ ठेगान लगाउने लामिछानेको दाबी छ । ‘हामी कसैको घर भाडामा बसेका छैनौं । कसैको पिर छैन् कसैलाई कारवाही गर्न । हामीलाई कसैले रोक्न सक्दैन् । हाम्रा नेतालाई व्यवस्थापन गर्नुपर्ने छैन् । हामीसँग कार्यकर्ता छैन्न, शुभेच्छुक छन्’, उनले सुनाए । पार्टीमा कोही लोभि पापिहरु भएको भए उनीहरुलाई जनस्तरमै कारबाही गरेर देखाउने उनको प्रस्टोक्ति छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति ढाकाकुमार श्रेष्ठले पुराना नेतृत्व जनतालाई सदैव सडकमा पु¥याएको बताए । ‘जनता सधैं सडकमा, नेता सत्तामा छन् । हामी जनताको सरकार बनाउनेछौं’, उनले भने । व्यवस्था फेरिएपनि पात्रहरु उहीँ हुँदा मुलुक बन्न नसकेको श्रेष्ठको भनाई छ ।
लामिछानेले पोखरामा करिब ४४ मिनेट लामो सम्बोधन गरे । सम्बोधनको अधिकांश समय उनी पुराना नेतृत्वको आलोचना गर्दै आफ्नो आत्माप्रशंसा गर्थे । पुराना नेतृत्वको खरो आलोचनामा सभामा सहभागीको परररर ताली बज्थ्यो । दिउँसो २ बजे सुरु हुने भनिएको कार्यक्रम झन्डै आधा घण्टा ढिलो भयो । धेरै जनाले सम्बोधन गर्दा कार्यक्रम केही लामो भयो । तर, रविको सम्बोधन सुन्ने हुटहुटीले सहभागी अन्तिमसम्म बसेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology