सुनवल । नवलपरासीको सुनवल नगरपालिका -७ तरगौलीमा रहेको 'देवदह ताल' को संरक्षण र विकासका लागि गुरुयोजना तयार गरिने भएको छ। बुधबार देवदह तालको अवलोकन गर्दै विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मैत्तय) लगायतको टोलीले ऎतिहासिक देवदह तालको संरक्षण र विकासका लागि गुरूयोजना बनाएर काम गर्नुपर्ने बताएको हो।
सुनवल नगरपालिकाका उपप्रमुख सुर्य प्रसाद दुबे, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्य, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), योजना प्रमुख सरोज भट्टराई, सुनवल-७ का वडा अध्यक्ष नारायण आचार्य लगायतले तालको अवलोकन गर्दै देवदह तालको संरक्षण र विकास गर्नसके पर्यटन विकासमा सुनवल क्षेत्रले उल्लेख्य फड्को मार्न सक्ने धारणा व्यक्त गरे ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले ताल संरक्षण समितिका पदाधिकारी र स्थानीय आमा समूहका प्रतिनिधिसंग कुरा गर्दै पहिलो चरणमा ताललाई बुद्ध सर्किटको नक्सामा राख्ने बताए । उनले देवदह तालका लागि लुम्बिनी विकास कोषले उच्च महत्व दिएर आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अवलोकन पश्चात सेतोमसीसंग कुरा गर्दै सुनवल नगरपालिका उपप्रमुख दुबेले नगरपालिकाले ताल संरक्षणकालागी बजेट विनियोजन गरेको र तालको विकास र त्यसलाई पर्यटनमा जोड्ने कार्य नगरपालिकाको प्राथमिकता रहेको बताए।
सोही छलफलमा बोल्दै नवनिर्वाचित वडाध्यक्ष नारायण आचार्यले सबैखाले काममा वडा कार्यालयले समन्वय गर्ने र बृस्तित योजना बनाएर तालको ऎतिहासिकता पुष्टि गर्दै संरक्षण र विकासको लागि आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । "हामीले गर्नुपर्ने सबै काम हामी गर्छौं, यसमा लुम्बिनी विकास कोषले आवश्यक सहयोग गरिदिनुपर्यो", लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तसंग आचार्यले अनुरोध गरे ।
उचित संरक्षण तथा सम्वर्द्धनको अभावमा उक्त ऐतिहासिक प्राकृतिक ताल ओझेलमा पर्दै आएको छ । तालमा पर्याप्त पानी भएपनि जलकुम्भी र झार धेरै भएकाले तालको सुन्दरता छोपिएको छ । यो तालको गहिराइ कति छ भन्ने अहिलेसम्म मापन गरिएको छैन । पर्यटकीय सम्भावना बोकेको तालको संरक्षण हुन नसक्दा पर्यटक भित्राउन सकिएको छैन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल नगरपालिकाको ज्यामिरेबाट ४ किलोमिटर दक्षिण तर्गौलीमा रहेको यो ताल क्षेत्रमा ऐतिहासिक साम्यमाई मन्दिर, बौद्ध गुम्बा सहितको हरियाली र रमणीय वातावरण रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology