देवदह । देवदह नगरपालिकामा यही माघ २६ गते देखि सातौँ देवदह मेला सुरु भएको छ।
स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण' भन्ने मूल नारा सहित सुरु भएको महोत्सवमा पर्यटन, जातीय पहिचान झल्काउने स्टल, कृषि बिज्ञान र प्रविधि,पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनीमा राखिएको छ।
मेलाको मुख्य आकर्षकको रुपमा लुम्बिनी प्रदेश र देवदहमा रहेका ऎतिहसिक र धार्मिक स्थलहरुको प्रदर्शनी,मगर मौलिक घर, स्थानीय कृषि उत्पादन जातिय पहिचान झल्काउने स्टल संगै त्यहाँ बनाइएका परिकार दर्शकको मुख्य रोजाई बनेको छ ।
देवदह मेलामा मौलिक रुपमा बनाइएको मगर घर दर्शकको रोजाई बनेको नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभा कुमारी थापाले बताइन।
घुमाउने घर निर्माण गरि मौलिक संस्कृति झल्किने डोको,नाम्लो ,खुर्पेतो, पेरुङ्गो,ठेकी,डालो, मदानी, गाग्री,चकटी, माना, बटुको, करुवा,ओदान ताउलो ,लालटिन, हलो जुवा, ढिकी, सुपो, मौरीको घार,झातो, मादल,मकैको घोगा, फर्सी परेवाको खोर (गंज) आदि प्रयोग गरि बनाइएको घर दर्शकको रोजाई बनेको अध्यक्ष थापाले भनाइ छ ।
घर निर्माणका क्रममा सहयोग गर्ने सुनवल मगर संघ, मगर संसार फोटो ग्यालरी र श्रमदानमा खटिएका देवदह ५, ७ र ८ का मगर दाजुभाई र समग्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग प्रदान गर्ने सम्पुर्णलाई अध्यक्ष थापाले धन्यवाद समेत व्यक्त गरिन ।
करिब ४० हजार खर्च गरि बनाएको मगर घरमा मेलाको आठौँ दिनसम्म आइपुग्दा २० हजार बढीले अवलोकन गरेको नेपाल मगर संघ रुपन्देहीका जिल्ला सदस्य केशर बहादुर पुनले बताए ।मगर घर अवलोकन गर्न आउने दर्शकलाई प्रदर्शनीमा राखिएका मौलिक सामाग्रीको महत्व, विशेषता र प्रयोगका बारेमा जानकारी दिने गरिएको जिल्ला सदस्य पुनले बताए ।
मौलिक घरमा भान्सा घर राखिएको छ । उक्त भान्सा घरमा बिभिन्न परिकारहरु बटुक सेल, तरुल आदि बनाएर बिक्रि वितरणका लागि राखिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology