देवदह । सातौं देवदह महोत्सवमा प्रस्तुति दिन बुधबार देवदह आएकी चर्चित लोक गायिका ज्योति मगरले दर्शक तान्न सफल भएकी छन्। ज्योति मगरको प्रस्तुतिसंगै हालसम्मकै सर्वाधिक दर्शकले देवदह महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ। बुधबार मात्रै २० हजार दर्शकले मेला अवलोकन गरेको टिकट व्यवस्थापन उप-समिति संयोजक शिव ढकालले जानकारी दिए।

महोत्सवमा ज्योतिसंगै गायक थानेश्वर गौतमले दर्शकलाई नचाएका थिए। लोक आधुनिक र गजल गायक गौतमको प्रस्तुतिलाई समेत दर्शकले उत्तिकै महत्वका साथ हेरेका थिए । साथमा लोक गायिका शिलु भट्टराईले पनि बुधबार देवदह महोत्सवमा आफ्नो प्रस्तुति राखेकी थिईन।

माघ २६ देखि संचालन भएको महोत्सवमा बिहिबार लोक गायक रामजी खाण, श्याम राना र गायिका पुनम सुनारको प्रस्तुति रहने मेलाका सांस्कृतिक उपसमिति संयोजक प्रशान्त गैरेले जानकारी दिए ।

साथै बिहिबार नै देवदह महोत्सवमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बिहान ८ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । बिहिबार नै वक्तृत्वकला प्रतियोगिता समेत संचालन हुने मेलाका विद्यालय समन्वय उपसमिति संयोजक सीबी थापाले जानकारी दिए ।

यसैगरी महोत्सवमा बुधबार भएको विद्यालयस्तरिय लोकनृत्य प्रतियोगितामा सगरमाथा आवासिय माध्यमिक विद्यालय प्रथम भएको छ। देवदह नगरपालिका क्षेत्रभित्रका १४ वटा विद्यालय सहभागी प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्दै सगरमाथा मावि प्रथम भएको हो । प्रतियोगितमा नमूना एभरग्रीन इंलिश बोर्डिंग स्कूल दोस्रो भएको छ भने तृतीय स्थानमा रहन न्यू लुम्बिनी इंलिश बोर्डिंग स्कूल सफल भएको छ ।

प्रतियोगितामा सहभागी विद्यालयले सांस्कृतिक कला झल्किने नृत्य प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा देवदहका केरवानी माध्यमिक विद्यालय, ग्रीनप्लाण्ट आवासीय मावि, देवदह मावि, देवदह बुद्ध पब्लिक आवासीय मावि, ज्ञान ज्योति मावि, सेभेन स्टार आवासीय मावि, युगज्योति मावि, सीता मावि, जनप्रिय मावि र न्यू नमूना आवासीय मावि सहभागी भएका थिए ।

फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा स्वास्थ्य शिविर संचालन भैरहेका छन् ।
१५० स्टल र बालउद्यान समेत रहेको मेला मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन।
महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology