देवदह । देवदह क्षेत्रको पर्यटन विकासबाटै समृद्धि सम्भव रहेकोमा वक्ताहरूले जोड दिएका छन्। सातौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७९ द्वारा आयोजित 'देवदह क्षेत्रमा पर्यटन विकासका अवसर र योजना' विषयक पर्यटन गोष्ठीमा बोल्ने वक्ताहरूले स्पष्ट योजना र त्यसको कार्यान्वयनसहित पर्यटन विकास गर्नसके समृद्धि सम्भव भएको बताएका हुन्।
आइतबार मेलास्थल देवदह मण्डपमा भएको गोष्ठीमा कार्यपत्र पेश गर्दै लुम्बिनी विकास कोषका पर्यटन विज्ञ हरिध्वज राईले देवदह क्षेत्र प्रचुर पर्यटकीय सम्भावना भएको क्षेत्र भएपनि नीतिगत र योजनागत रूपमा काम हुन नसक्दा अपेक्षित विकास हुन नसकेको धारणा व्यक्त गरे । पर्यटकीय क्षेत्रको डिजाइनमा पर्यटकलाई लोभ्याउने शैली, पर्यटकले खर्च गर्ने बातावरण र पर्यटकको बसाई लम्ब्याउने गरि गर्नुपर्नेमा विज्ञ राईले जोड दिए।

पर्यटकीय क्षेत्रको ब्रान्डीङ्ग, सोहि अनुसारको सुरक्षा र हस्पिटालिटिको व्यवस्थापन र टुरिष्टको लागि विशेष प्याकेज समेतको व्यवस्था भए पर्यटकको संख्यामा वृद्धि हुने र उनीहरूले गर्ने खर्चबाट अर्थतन्त्रमा समेत योगदानसंगै विजनेश र रोजगारीका क्षेत्रहरू समेत खुल्ने राईको भनाई छ।
एक अध्ययन अनुसार धर्ममा आस्था राख्नेहरूमध्य ६७ प्रतिशत व्यक्तिहरू बच्चा जन्माउनका लागि आफुले मान्ने भगवानसंग सम्बन्धित स्थानमा जान चाहने देखाएको उल्लेख गर्दै पर्यटन विज्ञ राईले लुम्बिनीमा सोहि अनुसारको प्रसुति अस्पतालको आवश्यकता रहेको बताए। त्यसैगरी ५२ प्रतिशत धार्मिक व्यक्तिहरू आफ्नो निवृत्त अर्थात् बृद्धावस्था आफ्नो धर्मसंग जोडिएका स्थानमा विताउन चाहने तथ्यांक प्रस्तुत गर्दै उनले त्यस तर्फ समेत ध्यान दिनुपर्ने बताए।
गोष्ठीमा बोल्दै देवदह नगरपालिका प्रमुख धुर्ब प्रसाद खरेलले नगरपालिकाले पर्यटनको विकासमा काम गरिरहेको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । सरनबारी-माथागढ़ी पदमार्ग निर्माण लगायतका क्षेत्रमा पालिकाले ध्यान केन्द्रित गरेको उल्लेख गर्दै प्रमुख खरेलले पर्यटनको विकास विना समृद्धि सम्भव नभएको धारणा व्यक्त गरे । हिजोका दिनमा भएका कामलाई समेत निरन्तरता दिंदै थप योजनासहित नगरपालिकाले पर्यटन विकासको क्षेत्रमा काम गरेको उनको भनाई छ।
कार्यक्रममा आफ्नो धारणा राख्न्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले नगरपालिकाको पर्यटन समितिलाई कामकाजी बनाउने र त्यसको लागि आवश्यक ऎन निर्माणमा नगरपालिकाले ध्यान दिनुपर्ने बताए । लुम्बिनी विकास कोषले पालिकाहरूसंग सहकार्य गरेर काम गर्ने निर्णय गरेको उल्लेख गर्दै कोषाध्यक्ष भट्टराईले देवदह नगरपालिकासंग पनि साझेदारी गर्न विकास कोष तयार रहेको बताए। देवदहका धेरै क्षेत्र उत्खनन हुन् बाँकी रहेको बताउंदै भट्टराईले यसैबर्ष खयरडांडाको उत्खनन गर्ने जानकारी दिए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका निवर्तमान नगर प्रमुख हिरा बहादुर खत्रीले देवदह क्षेत्रमा उत्खनन गर्न र उत्खनन गर्दा भेटिएका पुरातात्विक बस्तुहरूको संरक्षण र त्यसको तथ्यांक संकलन आवश्यक रहेको बताए। पुरातत्व विभाग, लुम्बिनी विकास कोष र नगरपालिकाले आवश्यक समन्वय गरि काम गर्नुपर्नेमा उनले जोड दिए।
कार्यपत्रमा टिप्पणी गर्दै देवदह नगरपालिकाका पुर्व कार्यकारी अधिकृत गणेश घिमिरेले देवदह पर्यटकीय सम्भावनाको खानी भएको धारणा व्यक्त गर्दै भवानीपुर, बैरी माई, कन्या माई, देवदह, चरंगे लगायतका क्षेत्रमा प्रचुर पर्यटकीय सम्भावना रहेको विचार व्यक्त गरे। चरंगेमा फेवा ताल जत्तिकै विशाल मानव निर्मित ताल निर्माण, भवानीपुरको गोल्डेन टेम्पलमा मायादेवीले बुद्धलाई काखमा लिएको लविङ् बुद्धको मुर्ति, मेडिटेसनस्थल, धर्म चक्र स्तम्भ, रोहिणी नदि किनारमा देवदह शान्ति स्तुपा लगायतका पर्यटकीय सौन्दर्य थप्दै देवदहलाई मदिरा मुक्त, यौनहिँसा मुक्त र हिँसा निषेधित क्षेत्रको रूपमा विकसित गरिनुपर्ने उनको भनाइ छ।
त्यसैगरि कार्यपत्रमाथि टिप्पणी गर्दै देवदहको पर्यटनको विकासमा लामो समयदेखि क्रियाशिल यम रानाले मायादेवीले विवाह नगर्ने भनी बसेको भए पनि उनलाई एकदिन तिमि विहे गर तिम्रो कोखबाट महामानवको जन्म हुनेछ भन्ने आकाशवाणी भएको र तत्पश्चात मायादेवीले विहे गरेर बुद्धको जन्म भएको उल्लेख गरे । मायादेवीलाई भएको उक्त आकाशवाणी जनाउने आकृति निर्माण गर्नसके त्यसले देवदहको पर्यटनमा थप योगदान हुन सक्ने उनको भनाई छ ।
गोष्ठीमा लुम्बिनी प्रदेश पर्यटन विकास परिषदका प्रमुख रामु जोशी, स्थानिय अगुवा प्रकाश अर्याल, स्वामी सोमराज, भिम गुरुङ, लगायतले आफ्नो भनाई राखेका थिए ।
गोष्ठीमा महोत्सव मूल आयोजक समितिका संयोजक मेघराज ढकाल सहित आयोजकहरू, देवदह नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सामुदायिक बन, सहकारी तथा विभिन्न संघ संगठनका प्रमुख एवं प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।
महोत्सवका पर्यटन समन्वय उपसमितिका संयोजक भरत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक प्रमोद खरेलको स्वागत तथा सचिवालय संयोजक थालेश्वर लम्सालको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology