राजेश पराजुली, पोखरा । पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्रोत, साधन केन्द्रमा राखेर प्रदेश र स्थानीय तह बलियो नहुने बताएका छन् । उनले स्थानीय तह बलियो भएमात्र देश बलियो हुनेमा जोड दिए । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै मन्त्री अधिकारीले स्थानीय तह बलियो भएमात्र विकास छिटो र दीर्घकालीन हुने बताए । उनले संघीयताको मर्म र भावना अनुसार स्थानीय तह र प्रदेशलाई बलियो बनाउन केन्द्र सरकार उदार नदेखिएको गुनासो गरे । उनले स्थानीय तह र प्रदेशलाई स्रोत र साधनयुक्त बनाए मात्र जनचाहना अनुसार विकास र पूर्वाधार निर्माण गर्न सकिने बताए ।
उनले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहको समस्या पहिचान गरी समाधन गर्नेतर्फ आफू लागि परेको बताए । प्रतिनिधि सभामा हुँदा पनि स्थानीय तहलाई नै बलियो बनाउनु पर्नेमा आफूले जोड दिएको मुख्यमन्त्रीको भनाइ थियो । अहिले प्रदेशमा हुँदा पनि जनताको नजिकको सरकार बलियो भए मात्र विकासले गति लिने पक्षमा रहेको मुख्यमन्त्रीले जोड दिए । स्थानीय तह जबसम्म बलियो हुँदैन तबसम्म विकास दीर्घकालीन नहुने उनको तर्क छ । मन्त्रिपरिषदको बैठकबाट स्थानीय तहमा स्वास्थ्य तथा प्राकृतिक पाठ्यक्रम विकास गरेर किशोर किशोरीको प्रतिरोध क्षमता पढाउने निर्णय गरेको पनि मुख्यमन्त्री अधिकारीले सुनाए ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल गण्डकी प्रदेशको अधिवेशनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागिता छ । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । गत स्थानीय तहमा भएको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष जितेको संख्याको आधारमा दलीय हिसाबले पद भागबण्डा गरिएको छ । सिट संख्याका आधारमा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष, नेपाली कांग्रेसले सचिव, सहसचिव र नेकपा माओवादीले कोषाध्यक्ष पद पाउने छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology