तालिको गडगडाहट भयो ।
उनी अझै जोशिए र बोल्दै गए ‟अब गाउँ गाउँमा प्राविधिक शिक्षालय हुन्छन् । एक पालिका एक प्राविधिक शिक्षालय सरकारको नीति नै छ । हाम्रा युवाहरु सबै सीपयुक्त जनशक्तिमा रुपान्तरण हुन्छन् । अनि प्रविधिले देशमा फड्को मार्छ। देश समृद्ध बन्छ। ढुक्क हुनुहोस् तपाईँ हाम्रो पालामा नै यो सम्भव हुन्छ ।”
‟वाह! नेता त यस्तो पो हो । क्या भाषण छ । कस्तो दृष्टिकोण छ। देश समृद्ध बनाउने क्या दामी आइडिया।” भिडको बीचमा खासखुस सुनियो ।
‟कुनै नक्साङ्कन छैन्। कुन क्षेत्रमा कस्तो जनशक्ति कति चाहिने हो ? त्यसको कुनै योजना छैन्। तथ्याङ्क छैन्। खालि लहडको भरमा शिक्षालय खोले पढ्ने विद्यार्थी नै नभएर विजोग छ । पढाउने शिक्षकको स्थायीत्व छैन् । अझ भाषण छाँट्न पुगेको छैन् हाम्रा नेताजीहरुलाई ।” भाषण सुनिरहेका भक्तिरामले सँगै बसेका कविरामसँग असन्तुष्टि पोखे ।
‟युवाहरु जम्मै विदेशिन लागे अनि कहाँबाट हुनु शिक्षालयमा विद्यार्थी ? बरु अब त एक पालिका एक वृद्धाश्रमको नीति पो ल्याउनु पर्छ ।” भविष्य द्रष्टा झैँ गरि ढुक्कसँग बोले कविराम ।
- मित्र उराठी गौतम, अमरपुर, गुल्मी
हाल तिलोत्तमा नपा -२, रुपन्देही
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology