"गर्दिनु न सर ।" विकलले विनयपूर्वक आग्रह गर्यो।
"अब कहाँ हुन्छ,यतिखेर ? तीन बज्न थालिसक्यो,देख्दैनौ ? आज शुक्रबार भन्ने थाहा छैन् ?"
कर्मचारी रुखो स्वरमा बम्कियो।
"टाढाबाट आउँदा आउँदै ढिला भयो । बाटोमा गाडी बिग्रिएर पो,नत्र त समयमै आइपुग्थेँ नि सर ! आज काम नभए त पर्सिसम्म बस्नुपर्छ ।प्लिज सर एकैछिन त हो गर्दिनु न ।" दुर्गम गाउँबाट आउँदाको सास्ती बयान गर्दै दुःख बिसायो विकलले ।
"ल छिटो निस्कौँ है, अस्तिको कटेजमा । मुर्गा राम्रै फसेको छ रे । फेरि उसलाई छिटो निस्कनु छ रे….।" कर्मचारी आफ्नै धुनमा मोवाइलमा गफिँदै थियो।
"प्लिज सर एकैछिन त हो । गर्दिनु न ।" विकलले विन्ति गरिरह्यो।
"ह्या, कस्तो जिद्धि रहेछ यो भाइ त । हुन्न भनेपछि पनि आफ्नो ढिपी नछोड्ने ? अब आज अफिस टाइम सकियो । पर्सि छिटो आऊ, शुरुमै गर्दिउँला नि त । मलाई ढिलो भै सक्यो ।" भन्दै बाहिरियो कर्मचारी ।
आइतबार दश बजे नै पुग्यो विकल ।
झ्यालमै टाँसिएर उभियो । कार्यालयभित्र सुनसान थियो ।
'अस्ति त छिट्टै आऊ भन्दै थियो । मोरो ! आज आफै आइपुगेको छैन् ।' मनमनै बोल्यो ऊ ।
घडीमा सवा दश भै सक्यो । विकलको पछाडि लाइन लम्बिंदै गयो तर कार्यकक्षमा कर्मचारी झुल्किएन ।
लाइनमा धक्कमधक्का चल्न थाल्यो । लाइनवालाहरु कर्मचारीप्रति तितो ओकलिरहेका थिए ।
यत्तिकैमा कार्यकक्षमा टुप्लुक्कियो कर्मचारी ।
"अस्ति त तीन बज्न नपाउँदै हतार थियो । आज भने साढे दश हुँदा पनि अफिस टाइम भएन ?" विकल जङ्गियो।
खाउँला झैँ गरि चस्मा तल सारेर माथिबाट राता आँखा देखायो कर्मचारीले ।
- मित्र 'उराठी' गौतम
तिलोत्तमा - २, रुपन्देही
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology