"फेरि आज पनि त्यही बोकेर आउनु भयो ?" झर्कँदै भनेकी थिइन् हरिकलाले ।
"के गरौँ त ? दिएको कुरा अस्वीकार गर्न पनि त भएन । पाउने भए त जोसुकैले पाउँथे नि । अरुलाई यसको कति महत्व छ ? बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भनेको यही हो।" नेत्रबन्धुले सम्झाउने पाराले जवाफ दिए।
"घरै यस्तो छ । कतै राख्ने सजाउने ठाउँ समेत छैन् । कहाँ राख्नु सम्मानपत्र र प्रशंसापत्र ? कता थुपार्नु यी टाला ? न ओढ्न ओछ्याउन मिल्ने, न पोचा बनाउन मिल्ने । खाली ल्याएको छ । थुपारेको छ । मुसालाई गुँड मात्र । दिने पनि कस्ता ? नचाहिने चिजमा फजुल खर्च । देखासिकीले खत्तम भयो मुलुक ।" हरिकलाको असन्तुष्टिको ज्वाला शान्त भएको थिएन ।
मञ्चासीन नेत्रबन्धु विगतमा घोत्लिरहेका थिए । पत्नीका वचनवाण एक-एक गर्दै कानमा घन्किरहे । उद्घोषकले आफ्नो नाम भन्नासाथ झसङ्ग भए ।सम्हालिएर उठे । सम्मानपत्र र खादा ग्रहण गरे ।
कार्यक्रम समापन पश्चात सबै आआफ्नो बाटो लागे । उनी पनि आफ्नो बाटो लागे ।
बाटोमा जङ्गल पर्थ्यो । नेत्रबन्धुले आफ्नो गलामा बेरिएको खादा निकालेर रुखको हाँगामा झुण्डाइदिए ।
भारी बिसाएर हल्का भए झैँ महसुस गरि निर्धक्क अगाडि बढे उनी ।
- मित्र 'उराठी' गौतम, तिलोत्तमा नपा-२, रुपन्देही
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology