देवदह । रुपन्देहीको देवदहमा वातावरण व्यवस्थापन सम्बन्धि प्रारम्भिक वातावरण अध्ययन (आई ई ई) प्रतिवेदन सार्वजनिक गरिएको छ । लुम्बिनी एग्रो इन्भारोमेन्ट ल्यावले स्थलगत रुपमा गरेको अध्ययनको प्रतिवेदनमा देवदह क्षेत्रमा रहेका विभिन्न खोलाहरुबाट २ लाख ७७ हजार १५६ घनमिटर नदीजन्य पदार्थ निकासी गर्न सकिने उल्लेख छ ।
शुक्रबार देवदह नगरपालिकामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको प्रतिवेदनमा देवदह नगरपालिका–१०, चरेङ्गे खोलाको ३ वटा साईडबाट चुरेभन्दा तल्लो भागबाट १७ हजार १६ घनमिटर, भलुही खोलाको ४ वटा साईडबाट ११ हजार ५ सय ६० घनमिटर,, घोडाहा खोलाको दक्षिण तर्फबाट १० हजार २ सय ८० घनमिटर निकासी गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी रोहिणी खोला टटेराबाट ९ हजार ६ सय घनमिटर, वसन्तपुरबाट २ हजार ४ सय घनमिटर, रोहिणी ड्याम साईडबाट ५८ हजार ५ सय घनमिटर, रोहिणी पुल माथिबाट ४० हजार १ सय ५० घनमिटर निकासी गर्न सकिने जनाईएको छ । देवदह–११ को ५ वटा साईडबाट ४५ हजार घनमिटर, घोडाहा दाउन्ने साईडबाट ८२ हजार ६ सय ५० घनमिटर नदीजन्य पदार्थ निकासी गर्न मिल्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
देवदह नगरपालिका–६, केउली खोला र सरनवारी खोलामा भने स्थानीयले प्रारभिक वातावरण ( आई ई ई ) गर्न नदिएको नगरपालिकाले जनाएको छ । स्थानीयवासीको माग नगरपालिकाले सम्बोधन नगरेको भन्दै केउली र सरनखोलामा प्रारभिक वातावरण ( आई ई ई ) गर्न नदिएको नगरपालिकाका ईन्जिनियर रवि पाण्डेले बताए । नदीजन्य पदार्थ निकासी गर्दा पानीको श्रोत सुक्ने, वस्ती जोखिममा पर्ने र उक्त क्षेत्रमा विकास निर्माणको लागि नगरपालिकाले बजेट विनियोजन नगरेको भन्दै स्थानीयवासीले विरोध गर्दै आईरहेको छन् ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै नगर प्रमुख धुव्रप्रसाद खरेलले नगरलाई समृद्ध बनाउन श्रोत आवश्यक रहेकोले सवैले सहयोग गर्नुपर्नेमा जोड दिए । सामुदायिक वनहरुले स्थानीय तहको सरकारले गरेको निर्णयलाई पालना गर्नुपर्ने बताउदै उनले कानुनलाई सवैले स्वीकार गर्नुपर्ने जिकिर गरे । नदीजन्य पदार्थबाट हुने आम्दानीको २५ प्रतिशत सोही क्षेत्रको विकासको लागि विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख खरेलले बैधानिक तरिकाले उत्खनन नगरिए पनि नदिजन्य पदार्थ चोरी हुने र राजश्व र नदिजन्य पदार्थ दुवै गुम्ने खतरा रहेकोले सामुदायिक वनका अध्यक्षले परिपक्क निर्णय लिनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, स्मृति सामुदायिक वनका अध्यक्ष भरतकुमार गुरुङ्ग, जनप्रिय सामुदायिक वनका उपाध्यक्ष टेकबहादुर विक लगायतले आ–आफना भनाई राखेका थिए । कार्यक्रममा देवदह क्षेत्रका रहेका सामुदायिक वनका प्रतिनिधि र वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology