जब झिसमिसे साँझ पर्न थाल्छ, अनि भरिभराउ देखिन्छ, राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । त्यहाँ दृश्य अनेक हुन्छन् । त्यस्ता दृश्यले मन भक्कानिन्छ, पिडा बोध हुन्छ । भर्खर बिहे गरेका जोडी अङ्गालोमा बेरिदै रोइरहेका बेला सबैका आँखा रसाउँछन् । ५ दशक काटेका पाका मान्छेहरु श्रम गर्नकै लागि सुटकेस बोकेर खाडी पस्दै गरेका तस्बीरले कसको मन थामिएला ? अर्कोतर्फ खुसी लिन गएको युवा पुस्ता रातो बाकसमा फर्किएको दृश्यले साच्चिकै भावुक बनाउँछ । त्यसो त छोराछोरी लिन बिमानस्थल पुगेका बुवाआमा खुसी देख्दा कतिपय बेला मुस्कुराउने अवसर नमिल्ने पनि होइन ।
दैनिक ३ हजार मान्छे रोजगार, अध्ययन अनि भ्रमणको लागि युरोप अमेरिका, अस्ट्रेलिया, क्यानडा अनि खाडी मुलुक जाने गरेको तथ्याङ्कले देखाउँछ । यो तथ्याङ्कले दैनिक ३ हजारको हिसाब गर्दा मासिक ९० हजार अनि बार्षिक रुपमा १० लाख युवा बिदेसिएको देखाउँछ ।
किन भर्खर जुङ्गाको रेखी बस्न लागेका किशोर अनि किशोरीहरु बिदेसिन लालहीत छन् ? बर्षौदेखि देशमै बसेर व्यापार व्यवसाय गरेकाहरु र सरकारी जागिरेहरु पनि किन बाहिर हिड्न आतुर देखिन्छ ? सरकारी तथ्याङ्क अनुसार विदेसिनेहरुको संख्यामा ठुलो हिस्सा अध्ययनका लागि जाने विद्यार्थीहरुको छ । किन हाम्रा अभिभावकहरु आफ्ना छोराछोरीलाई बाहिर पठाउन हतारिएका छन् ? किन सरकारी सेवामा भएकाहरु बाहिर हिड्न लालायित छन् ? किन व्यापार व्यवसाय गरेर बसेकाहरु सटर बन्द गरेर हिड्न तम्सिएका छन् ? के यो देश बस्न लाएक नभएकै हो ? के हामिले सम्भावना देख्न छाडेकै हो ? के यो देशमा अवसर नै नभएको हो ? पक्कै पनि होइन, यो देश सम्भावना नै सम्भावना भएको देश हो ।
हामी बन्ने क्रममा छौं । देश बन्ने क्रममा छ, हामीले ल्याएको ब्यवस्था पाको हुने क्रममा छ । एउटा घर बन्ने बेला त्यसको वरिपरि के कति कुरा लथालिङ्ग र छरपस्ट हुन्छ, सोचौ त ! बालुवा गिटीदेखि काठका टुका, फलामका टुक्रा, काटीदेखि बेन्डिङ्ग तारका टुक्रा फालिएको हुन्छ । कतिपय अवस्थामा ख्याल नगर्दा काँटी बिझ्न सक्छ । हो, हाम्रो देश अहिले त्यस्तै अवस्थामा छ । यसरी छरपस्ट भएको अवस्थालाई बिस्तारै सफा र ब्यवस्थित गर्दै जानुपर्छ ।
निरास भएर पासपोर्ट बनाउन कुद्नु पर्ने, मेनपावर कन्सल्टेन्सी धाउनुपर्ने छैन । हामी बिचलित हुन आवश्यक छैन । यहि माटोमा प्रशस्त सम्भावना छ । हामी पटक्कै आत्तिनु हुँदैन । सबै विदेशिए भनेर चिन्तित हुनपर्ने छैन । आज विकसित भनिएका देशहरु केही बर्ष अघि हामी जस्तै थिए । राज्यको ठोस योजना, स्थिर नीति, सोही अनुसार हामी जस्तै युवाहरुको जोश, जाँगर, परिश्रम र अठोटले आज ति देशहरु विकसित भएका हुन् । त्यसैले हामी युवा शक्ति एक भएर योजनासहित लाग्ने हो भने सफल हुन कुनै शक्तिले रोक्ने वाला छैन ।
हामीमा धैर्यता हुन जरुरी छ, सकारात्मक सोँचको विकास हुन जरुरी छ । योजनाहरु बनाउनुपर्ने छ, अनि एकजुट हुनुपर्ने छ । हामीले परिवर्तनको सपना देख्न आवश्यक छ तर त्यस्तो परिवर्तन आफैबाट अनि सानोबाट सुरु गर्न जरुरी छ । एकै पटक ठूलो खोज्दा, ठुलो महत्वाकांक्षा बोक्दा हामीले दुख पाएका छौ, त्यो बुझ्न जरुरी छ । राज्य संचालन गर्ने नेता, कर्मचारीलाई अनि देशको ब्यवस्थालाई दोष थुपारेर हामी स्वच्छ कहिल्यै बन्न सक्दैनौं । हामी सच्चिन मात्रै सक्यौं भने हाम्रो परिवार, हाम्रो समाज अनि देश नै सबल बन्न सक्छ ।
देश खत्तम भयो, डुब्यो, सकियो भन्ने भाष्य पटक–पटक सयौं हजारौको मुखबाट, पत्रपत्रिका, सामाजिक सञ्जाल लगायत मुख्य मिडियाबाटै आउन थालेपछी हाम्रो मनोविज्ञान नै बिग्रिएको छ ।
हाम्रो विशेष क्षमता हाम्रो दक्षता हो । त्यसको पहिचान गर्न नसकेर हामीले दुःख पाएका छौं । हरेक युवा ब्यक्तिगत रुपमा सचेत र जिम्मेवार बन्न जरुरी छ । कुनै नराम्रो कुरा पटक-पटक राम्रो हो भन्दै गएपछी त्यो आफै राम्रो लाग्न थाल्छ । त्यसरी नै देश खत्तम भयो, डुब्यो, सकियो भन्ने भाष्य पटक–पटक सयौं हजारौको मुखबाट, पत्रपत्रिका, सामाजिक सञ्जाल लगायत मुख्य मिडियाबाटै आउन थालेपछी हाम्रो मनोबिज्ञान नै बिग्रिएको छ । यथार्थ के हो ? तथ्याङ्कले के भन्छ ? कसैले अध्ययन नै गर्न चाहदैन ।
केवल देश छोड्न पाए संसार जित्ने थिएँ । विदेशमा सुख सयल मात्रै छ । चिल्ला बाटा, ठुला अग्ला भवन, समुन्द्री तट, आहा ! त्यो पो दुनियाँ ! त्यही परिकल्पनाले हामी ग्रसित भएका छौ । त्यहाँको दुःख कष्ट कसैले बुझेको छैन । हामी आफै बसेको गाउँ ठाउँमै एकपटक हेरौं न ! हामीकहाँ के कुराको सम्भावना छ ? हाम्रो आफ्नो उत्पादन के छ ? अनि खपत कति छ ? व्यापार ब्यवसायको सम्भावना के छ ? साना उद्योग चलाउन कतिको सम्भावना छ ? कच्चापदार्थ आफ्नैमा छ कि छैन ? त्यो हामीले सोच्न सक्दैनौं । एउटाले फेन्सी पसल खोल्यो भने त्यसैको सिको गरेर अझै २/५ वटा त्यस्तै प्रकृतिका पसल खोल्ने हाम्रो संस्कार छ । हाम्रो क्षमता सीप छ छैन, ख्याल नै नगरी व्यवसाय तर्फ लाग्दा पनि हामी असफल भएका हौं कि ? यसतर्फ सोंच्न आवश्यक छ । ऋण धन गरेर व्यवसाय गर्दा अनुत्पादक क्षेत्रमा हात हाल्यौं कि ? सम्भाब्यता र चुनौती अध्ययन नै नगरी सुरु गर्यौं कि ?
सम्बन्धित क्षेत्रमा ज्ञान सीप क्षमता नै नभई विशेषज्ञसंगको राय सल्लाह बिनै अन्धाधुन्ध व्यवसायमा लाग्दा पनि बिग्रेको हुन सक्ने कुरा मनन गर्नुपर्छ । यी सबै कुराको विश्लेषण गरेरै हामीले काम सुरु गर्दा त्यो कामबाट असफल हुने अवस्था आयो भने त्यसपछिको हाम्रो योजना के त ? त्यसको समेत तयारी गरेर काम सुरु गर्ने हो भने सफल हुन गाह्रो छैन । नयाँ युवा पुस्तालाई यस्ता कुराहरुमा सचेत बनाउन पर्ने देखिन्छ ।
त्यसैगरी राज्यको तर्फबाट पनि हुन सक्ने आवश्यक पहल नभएको मान्न सकिन्छ । स्थिर नीति-नियम निर्माण गरि सहज रुपमा काम गर्ने वातावरण बनाईदिने हो भने कुनै युवा निराश हुने नै थिएनन् । राज्यका तीन सरकार मध्यको स्थानीय निकाय सबैभन्दा नजिकको र कार्यकारी सरकार भएको हुँदा युवालाइ देशमै सम्भावना खोज्न, सपना देखाउन, नविन कामको थालनी गर्नका लागि अभिप्रेरित गर्न पहल थाल्न आवश्यक छ ।
सक्रिय युवा विदेश लाग्ने वा निराश भएर डिप्रेसनमा जाने अवस्थाले हाम्रो समाजमा आउने परिणाम कस्तो होला ? सरोकारवाला निकाय गम्भिर बन्नुको बिकल्प छैन । हामीकहाँ प्रशस्त स्रोत भएर पनि त्यसको समुचित प्रयोग नहुँदा हामी पछि परेका छौं । अर्को कुरा, हामी युवामा अन्य युवासङ्ग तुलना गर्ने प्रवृत्ति हाबी छ । फलानाले विदेश गएर गाडी चढ्यो, घर किन्यो, सुख सयल काटिरहेको छ । यहि मनोबिज्ञानले गर्दा हामीमा ठूलो समस्या देखिएको छ ।
म को हुँ र म के गर्न सक्छु ? भन्ने कुराको सामान्य हेक्कासम्म राख्न हामीले सकेका छैनौं । अरुलाइ हेरेर हामीले आफुमा समस्या देख्छौ । अनि आफैलाई रोगी बनाउँछौ । हरेक युवामा प्रगती गर्ने राम्रो जीवन बिताउने चाहना हुनुपर्छ । तर त्यसको लागि आफू परिपक्व र तत्पर हुन जरुरी छ । जसका लागि समकालीन समाज कता गैरहेको छ ? प्रबिधि कस्ता भित्रिएका छन् ? कसरी सहज ढङ्गले गर्न सकिन्छ ? सो को गहिरो अध्ययन हुन आवश्यक छ ।
हामीकहाँ प्रशस्त कृषिको सम्भावना छ । हरेक बर्ष अरबौको खाद्यान्न, तरकारी दालजन्य सामग्री आयात हुन्छ । पछिल्लो तीन महिनामा १९ अर्ब बराबरको खाद्यान्न आयात भएको तथ्याङ्क हामीमाझ लुकेको छैन । हामी कृषि कर्ममा जोडिन किन सक्दैनौ ? कृषिलाई व्यावसायिक बनाउन किन सकेका छैनौ ? हाम्रा डाँडापाखा त्यसै खाली छन् । कागती, तेजपत्ता, अदुवा, इलाइची जस्ता खाद्यान्न त्यहाँ लगाउन सकिन्छ । कम लगानीमा गर्न सकिने यस्ता काम हामी गर्न खोज्दैनौ ।
कृषिबाट उपलब्धि हासिल भएका उदाहरण हामी कहाँ प्रशस्त छन् । विदेशमा सिकेको सीपलाई त्यस्ता उदाहरणीय युवाहरुले नेपाल आएर उपयोग गरिरहेका छन् । उनिहरुले कसरी काम गरेका छन् ? अवलोकन गरौं, उपयोगी तालिम चलाउँ, सीप सिकेर पेशा सुँरु गरौं ।
त्यस्तै कुखुरा खसी बोकाको मासु, अन्डा, दुग्धजन्य सामग्रीहरु हामीकहाँ बाहिरबाटै आयात भैरहेका छन् । यसतर्फ हामीले सोंच्न सकेका छैनौ । बार्षिक रुपमा आयात हुने खाद्यान्नको केही प्रतिशत मात्र रोक्न सक्ने हो भने ठूलो उपलब्धि हुन सक्थ्यो ।
अर्को कुरा हामीकहाँ दुःख गरेर उत्पादन गर्यो बजार छैन भन्ने हल्ला फैलाइन्छ । राम्रो उत्पादन दिन सके माग धान्न गाह्रो हुने स्वयम् काम गरिरहेकाहरुले नै बताउँछन् । बजारीकरण गर्न खासै समस्या छैन भन्ने कुरा पछिल्लो समयमा कृषि कर्म गरिरहेका कतिपय युवाहरुलाइ हेरेर बुझ्न सकिन्छ । तरपनि यतिमै सन्तुष्ट हुनुपर्ने अवस्था छैन, राज्यले बजारीकरणको ठोस योजना अघि बढाएर उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
त्यसैगरि हामीकहाँ प्रशस्त वन जङ्गल छ । त्यहाँबाट हामी फाइदा लिन सकिरहेका छैनौं । हाम्रा वनमा भएका जडिबुटी हर्रो, बर्रो, जाइफल, जटामसी, आदि बाहिर पुगेर प्रसोधन भएर हामीकहाँ प्याकेजिङ्ग भएर महङ्गोमा आउने गर्छन् । त्यो कुरा हामिले बुझ्न सकेका छैनौं । प्रशोधन गर्ने प्रणालीको विकास गर्ने र प्याकेजिङ्ग गर्न सके मात्र पनि कम लागतमा उत्पादन दिन सकिन्छ ।
सूचना प्रबिधिमा हामीकहाँ प्रशस्त सम्भावना छ । हरेक बर्ष अरबौं रुपैंया आइटिबाट नेपाल भित्रिन थालेको सरकारी तथ्याङ्कले देखाइसकेको छ । आइटि अध्ययन गरेकाहरुलाइ जोड्ने, तालिमहरु चलाउने, सङ्गठित गराउने अनि हरेक संघसस्था समुहलाइ डिजिटल बनाउन प्रेरित गर्नसके सम्भावना आफै खुल्न थाल्छन् । हामीले गर्ने कामलाई आधुनिक ढङ्गबाट सम्पादन गर्ने अटोमेटिक प्रणाली भित्राउन सके लागत कम पर्ने हुन जान्छ । जसले गर्दा बजारमा हामी प्रतिस्पर्धा गर्न सक्छौ ।
वि.सं २०७२ सालको महाभुकम्प पछि देश पुनः निर्माण गर्ने अभियानमा जुट्यो । जुन अहिलेसम्म चलिरहेको छ । भौतिक संरचना निर्माण हुने क्रममा रहेकाले व्यापारीक हिसाबले पनि हाम्रो देश उर्वर रहेको कुरा प्रस्ट हुन्छ ।
हाम्रो भौगोलिक सुन्दरताले गर्दा विदेशबाट प्रशस्त पर्यटक भित्राउन सकिने सम्भावना छ । सडक निर्माण कार्य सम्पन्न हुनासाथ पर्यटन व्यवसायको अपार सम्भावना हामीसंगै छ । हरेक कुरा राज्यले गरिदियोस् । सरकार कहाँ छ ? भनेर प्रश्न मात्रै गर्ने कि आफुले कदम चाल्न सुरु गर्ने ? आँफै कस्सिने, मेहनत गर्ने र लगनशिल हुनसके मात्र सफलता प्राप्त हुन सक्छ ।
त्यसैगरी हाम्रो भौगोलिक सुन्दरताले गर्दा विदेशबाट प्रशस्त पर्यटक भित्राउन सकिने सम्भावना छ । सडक निर्माण कार्य सम्पन्न हुनासाथ पर्यटन व्यवसायको अपार सम्भावना हामीसंगै छ । हरेक कुरा राज्यले गरिदियोस् । सरकार कहाँ छ ? भनेर प्रश्न मात्रै गर्ने कि आफुले कदम चाल्न सुरु गर्ने ? आँफै कस्सिने, मेहनत गर्ने र लगनशिल हुनसके मात्र सफलता प्राप्त हुन सक्छ ।
हामीले सम्भावना आफै खोज्ने हो । अवसर आफै सृजना गर्ने हो । आफै अगाडि बढ्ने हो । यो देशमा केही पनि छैन, हुँदैन, सकिदैन भनेर निरास भएर बसियो भने आफैलाइ आफैले सक्ने मात्रै हुन्छ । भनिन्छ “चिन्ताले चितामा पुर्याउँछ” हरेक मानिसको जीवनमा कठिन परिस्थिति आइपर्छ त्यसलाइ संयमित र सुझबुझपूर्ण ढङ्गले सामना गर्दै जानुपर्छ । अहिले देश कठिन परिस्थितिमा गुज्रिएको छ । पछिल्लो क्रममा कोभिडको प्रकोप सङ्गै देखिएको चरम आर्थिक संकट, अस्थिर राजनैतिक माहोल, बैंङ्कको चर्को ब्याजदर, यी र यस्ता कुराहरुले अहिले सम्पूर्ण देश नै अप्ठ्यारोमा परेको छ । धैर्य भएर काम गर्दै जाने हो भने पुनः राम्रा दिन आउनेछन् । सकारात्मक विचार बोकेर हिड्ने र अरु युवाहरुमा पनि सकारात्मक बिचारको प्रवाह गर्नु हामी सबैको सामाजिक दायित्व पनि हो ।
युवाहरुले एकल भन्दा सामुहिकतामा जोड दिन आवश्यक छ । स्थानीय स्तरमा विभिन्न समूह तथा क्लबहरु स्थापना गर्ने, सामाजिक आर्थिक रुपमा जोडिदै काम गर्ने, श्रम गर्ने, एक अर्कालाइ सहयोग गर्ने, विकृति विसङ्गति विरुद्ध आवाज उठाउने, राजनीतिमा जोडिएर परिवर्तनका लागि भुमिका खेल्ने र नयाँ पुस्तालाई सँस्कार सिकाउने जस्ता कार्य अहिलेको युवाले गर्न आवश्यक छ । समूहमा बसेर काम गर्दा सम्भावनाका थुप्रै अवसरहरु सृजना हुँदै जान्छन् । हामी आँफै सोंच्न सक्ने सृजनशिल र रचनात्मक हुन थाल्छौं । निरासाबाट मुक्त भएर बाँच्न सिक्छौ । लागू औषध, जाँड रक्सिको लत, नकारात्मक भाव साथै अन्य अपराधिक क्रियाकलापबाट हामी टाढिदै जान्छौं । जसबाट उत्साहपुर्वक हरेक पटक नयाँ काम गर्नको लागि उर्जा प्राप्त हुन्छ ।
अब हामी आफैले आफैलाइ विश्वास गर्ने र चिन्ने बेला आएको छ । आफ्नो क्षमता र दक्षता पहिचान गर्दै त्यसैमा निरन्तर मेहनत गरौं, सीप सिकौ, निरन्तर लागौ, सानोतिनो जे सकिन्छ गरौ, खाली बस्दै नबसौं, यसो गरे सफलता अवश्य मिल्नेछ । सामाजिक रुपमा जोडिएर समाज परिवर्तनका लागि लागौं । हामी आफ्नै लागि, घर, समाज अनि देशको लागि, हाम्रो सन्ततिको लागि, आउने पुस्ताको लागि देशको मुहार फेर्न हातेमालो गरौं । नकारात्मकतालाई चिरेर सकारात्म पाटो अँगाल्न सकियो भने परिवर्तन हाम्रै पालामा सम्भव छ । एउटा संकल्प गरौँ - यो देश नछोड्ने संकल्प । अबको दश वर्ष आफ्नो र यो देशको भविष्यको लागि कुरा होइन, काम गर्ने संकल्प ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology