काठमाडौं । नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता बोलेकै आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ । बिहिवार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले प्रमुख प्रतिपक्षी दलको हैसिएतमा पुष्पकमल दाहालले भनेकै भरमा सरकार बन्ने र ढल्ने नहुने बताएका हुन् ।
‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने उसको स्वभाविक धर्म नै हो ।’ महतले भने, ‘प्रचण्डले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’
प्रवक्ता महतले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने बताउँदै समन्वय आवश्यक भएको उल्लेख गरे । ‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबै थोक हुँदैन । समन्वयको आवश्यकता छ । सबैको कुरा समेट्नपर्ने आवश्यकता हुन्छ ।’ उनले भने , ‘नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ । डेलिभरी गर्नुपर्छ भन्ने कुरामा हामी अडिग छौं ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology