काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्ने समयसीमा तोक्ने प्रश्ताव गरेका छन । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले संसदमा विधेयकहरू वर्षौंदेखि अल्झिरहने अभ्यास अन्त्य हुनुपर्ने बताए ।
विधेयक संसदमा टेबुल भएको मितिदेखि अधिकतम ६ महिनाभित्र त्यसले कानूनी स्वरूप पाउनुपर्ने व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ।
उनले विषयगत समितिले तीन महिनाभित्र विधेयकमाथिको छलफल टुंग्याउनुपर्ने, त्यसपछि राष्ट्रिय सभाले दुई महिनाभित्र निर्णय गर्नुपर्ने र अन्य संसदीय प्रक्रिया पूरा गर्न थप एक महिनाको समय तोकिन सक्ने प्रावधान ल्याउन सकिने बताएका छन्। यस्तो व्यवस्था लागू भए ६ महिनाभित्र कुनै पनि विधेयक पारित गर्न सकिने उनको तर्क छ।
“विधेयक संसदमा टेबुल भएपछि कति समयभित्र पारित भइसक्नुपर्छ भन्ने कुरा स्पष्ट हुनुपर्छ,” प्रमुख सचेतक घिमिरेले भने, “यस अधिवेशनबाटै सबैको सहमतिमा समयसीमा निर्धारण गरिनुपर्छ।”
उनले नीति निर्माणमा भइरहेको ढिलाइका कारण देशमा उत्पन्न समस्याहरू बढेका दाबी गर्दै हालै देखिएका शिक्षक, चिकित्सक लगायतका आन्दोलन त्यसैको परिणाम भएको तर्क प्रस्तुत गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology