काठमाडौँ । आज २५६९औँ बुद्ध जयन्ती नेपालभर विविध कार्यक्रमका साथ मनाइँदैछ। नेपालमा मात्र नभएर विश्वभरीका बुद्ध धर्मावलम्बीहरूले भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको पवित्र दिनको रूपमा बुद्ध जयन्ती मनाइन्छ।
आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा बुद्ध जयन्तीको मूल समारोहलाई सम्बोधन गर्नेछन । बौद्ध धर्मावलम्बीहरू बिहानैदेखि लुम्बिनीको मायादेवी मन्दिर परिसरमा पूजा आराधनामा व्यस्त छन्। मायादेवी मन्दिर सहित लुम्बिनीलाई चिटिक्क सजाइएको छ । बौद्ध भिक्षुहरूको प्रभातफेरी, शान्तिका कामना गर्दै गरिएको दीप प्रज्वलन, तथा बुद्ध स्तुपामा विशेष पूजा गरिएको छ।
लुम्बिनी मात्र नभएर देवदह, तिलौराकोट, रामग्राम लगायतका स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । लुम्बिनी विकास कोष, स्थानीय तह र संघसंस्थाहरूको सहकार्यमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना भएका छन्।
देशभरका बौद्ध गुम्बा, मन्दिर र स्तुपाहरूमा बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। काठमाडौँको स्वयम्भू, बौद्धनाथ, र पाटनका विभिन्न गुम्बाहरूमा पनि श्रद्धालुहरूको उपस्थिति उल्लेख्य छ। बुद्धका उपदेशको स्मरण गर्दै प्रवचन कार्यक्रम, शान्तिका लागि सामूहिक ध्यान तथा रक्तदानजस्ता समाजसेवी कार्यक्रमहरू भइरहेका छन्।
बुद्ध जयन्तीको सन्देश मात्र नेपालमा नभएर विश्वभर फैलिएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा बुद्ध जयन्तीलाई विश्व शान्ति दिवसको रूपमा समेत मनाइन्छ। बुद्धका शान्ति र अहिंसाका सन्देशले आजको चुनौतीपूर्ण विश्वमा सहअस्तित्वको पाठ दिन्छ।
नेपाल सरकारले आजको दिन सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता तथा विभिन्न राजनीतिक तथा धार्मिक व्यक्तित्वहरूले बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गरेका छन्। बुद्धले दिएको अहिंसा, करुणा र सह-अस्तित्वको सन्देशको आजको समाजमा अझै बढी आवश्यकता देखिएको छ। युद्ध, द्वन्द्व र वैमनस्यताका कारण अशान्ति बढेको वर्तमान समयमा बुद्धका शिक्षालाई आत्मसात् गर्नुपर्नेमा उनीहरुको जोड छ।
गौतम बुद्धको शिक्षा मात्र धार्मिक दृष्टिकोणबाट नभई मानव जीवनका सकारात्मक मूल्यहरूको प्रवर्द्धनका लागि पनि महत्त्वपूर्ण छ। बुद्धको जीवन र दर्शनले समाजमा दयालुता, सहिष्णुता र मानवतावादको सन्देश फैलाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology