काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरेका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी राजनीतिक दलहरुले विरोध जनाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन् ।
सदनलाई अवरुद्ध गरिरहेको बेलामा गृहमन्त्री लेखकले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने काम गर्नुले थप शंका पैदा गरेको उनले उल्लेख गरे । नागरिकहरु सुशासन खोजिरहेका बेला सरकारले झनै कुसंस्कारका काम गरिरहेको पाण्डेको आरोप छ ।
प्रमुख सचेतक पाण्डेले भने, ‘हामी सदनलाई अवरुद्धकै अवस्थामा लिएर गइरहेका छौँ । फेरि यही बेलामा मान्य गृहमन्त्रीज्युले एकैदिन अख्तियारमा पठाएको प्रहरी अधिकारी एक पटक पठाएको फेरि अर्को पटक फिर्ता गरेको, यो खालको विषयवस्तु आएर एउटा ठूलो कन्फ्युजन भएको छ । हामीले छानविन समिति आवश्यक पर्छ है । यो गम्भीर विषय वस्तु हो । सुशासन जस्तो कुरा हो ।’
प्रमुख सचेतक पाण्डेले सरकारले विधेयकहरु छिटो टुंगो लगाउने गरी नलागेको आरोप समेत लगाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology