कुरा कुरै हो,
कुराको कुरै नगर ।
तताए कुरा तात्छ, कुरै बन्छ
सेलाए कुरा जम्छ र पनि कुरै बन्छ
बोकेर हिंडे जेल्छ कुराले
लडाए त झन् पेल्छ कुराले ।
कुरा चलेपछि चल्छ
यो गाउँघर, शहरबजार
गल्ली, पाखा- पखेरा
देश-विदेश, ग्रह-उपग्रह
चारैतिर चल्छ र चलिरहन्छ ।
चल्छ, चल्छ र पनि
थकाइ मान्दैन कुरा
टाढा नजिक केहि जान्दैन कुरा
न भोक-प्यास लाग्छ कहिल्यै
न लाज छोप्न लत्ता चाहिन्छ
कुरा कुरै खान्छ, कुरै पहिरहन्छ ।
दिनरात, रातदिन
कुरा हिंडेको हिंड्यै गर्छ
न सुस्ताउँछ कहिल्यै
न बिरामी पर्छ
जहाँ पनि कुरा
कुरा मात्र गर्छ ।
न काट्न सकिन्छ कुरा
न साट्न सकिन्छ
बरु काट्छ कुराले
मान्छे साट्छ कुराले
कुरा कुरै हो
कुराको कुरै नगर ।
कुरा जन्मिन्छ कुराबाट
कुराले जन्माउँछ कुराबाटै
न धनी हुन्छ कुरा
न त गरिब नै
न रुप छ यसको
न रङ्ग छ कुनै
कुरा कुरै हो
कुराको कुरै नगर ।
✍️ विष्णु पोखरेल
२०६७ असार ५, बुटवल
(कविता संग्रह 'आस्था, म एक्लै छु' बाट)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology