देवदह । विदाको समयमा विद्यालयहरुले विद्यार्थीलाई गृहकार्यको भारी बोकाएर पठाउने चलन पुरानै हो । छुट्टीको समय सदुपयोग गरुन् भन्ने उद्देश्यले लामो विदाको समयमा धेरै गृहकार्य दिइने विद्यालयहरुको दावी छ ।
तर देवदह-७ स्थित ग्रेट फ्यूचर किड्स मन्टेश्वरीमा भने फरक अभ्यास गरियो । बिहिवार दशैं विशेष कार्यक्रम गर्दै विद्यालयले टिका-जमरा लगाइदिएर विद्यार्थीलाई खुत्रुके वितरण गर्यो ।
बाबुनानीहरुलाई चार्डपर्व र संस्कृतिबारे सिकाउन टिका-जमरा लगाइएको र बचत गर्न प्रेरित गर्ने उद्देश्यले खुत्रुके वितरण गरिएको विद्यालयकी प्रिन्सिपल गीता भुर्तेलले जानकारी दिइन् । 'हामीले बालबालिकालाई सानैबाट संस्कार सिकाउने र व्यवहारिक ज्ञान दिइनुपर्छ भन्ने मान्यता राख्छौं ।' प्रिन्सिपल भुर्तेलले भनिन्, 'दशैंको विदामा पनि बालबालिकाले केही बचत गरुन् र हामीले बचत गर्नुपर्छ भन्ने बुझुन् भनेर खुत्रुके वितरण गरिएको हो ।'
विद्यालयले विद्यार्थीलाई विशेष परिकारसमेत खुवाएर दशैं विदा गरिएको विद्यालयले जनाएको छ ।
ग्रेट फ्युचर किड्स मन्टेश्वरीमा १०० बढी बालबालिका अध्ययनरत छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology