प्रतियोगितामा जिल्लाभरका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरू सहभागी थिए । प्रतियोगितामा केरवानी मा.वि.ले उत्कृष्ट प्रदर्शन गर्दै शान्ति नमुना मा.वि.को ‘ए’ टिमलाई ३–२ गोल अन्तरले, लुम्बिनी सिटी कलेजलाई ३–० ले तथा अक्सफोर्ड मा.वि.लाई ३–० गोल अन्तरले पराजित गरेको थियो । विद्यालयले असोज ७ गते भएको फाइनलमा शान्ति नमुना मा.वि.को ‘बी’ टिमसँग प्रतिस्पर्धा गर्दै ३–० गोल अन्तरले पराजित भई दोस्रो स्थान हासिल गरेको हो ।
प्रतियोगितामा अक्सफोर्ड मा.वि. तेस्रो र देवदह इङ्लिस बोर्डिङ स्कुल चौथो भएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले शिल्ड, मेडल र ४५ केजीको बोका पाउँदा, द्वितीय हुने केरवानी मा.वि.ले शिल्ड, मेडल र ४० केजीको बोका प्राप्त गर्यो । त्यस्तै, तेस्रो हुनेले शिल्ड, मेडल र ३० केजीको बोका तथा चौथो हुनेले शिल्ड, मेडल र आकर्षक ठूलो भाले पुरस्कारस्वरूप पाएका थिए ।

उपलब्धिको खुशीका साथै बडादशैं, भाईटीका र छठ पर्वको अवसर पारेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक–कर्मचारी परिवार, विद्यालय व्यवस्थापन समिति, सल्लाहकार समिति, शिक्षक–अभिभावक संघ र शैक्षिक गुणस्तर सुधार समिति बीच शुभकामना आदान–प्रदान समेत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगाना, सहायक प्राचार्य कमल ज्ञवाली, शिक्षक हिरण्यलाल लम्साल, नारायण भुसाल, होमनाथ शर्मा, जीवन पाण्डे, पवित्रा रिमाललगायतले शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्य पूर्णचन्द्र पुरी, बिनीता अधिकारी, सुष्मा रिजाल, माया भण्डारी, सल्लाहकार भरत तिवारी, शंकर चन्द, अभिभावक संघ अध्यक्ष गणेश तिमिल्सिना र सदस्य अम्बिका सापकोटाले पनि शुभकामना दिएका थिए ।