रूपन्देही । देवदह नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरूले नगरका विकास आयोजना, अधुरा पूर्वाधार, अव्यवस्थित बसोबास, स्वास्थ्य सेवा तथा अन्य समसामयिक विषयमा संघीय जनप्रतिनिधिसँग भेट गरी आवश्यक पहलको माग गरेका छन् ।
स्थानीय जनप्रतिनिधिहरूले नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम तथा संघीय सांसद श्रद्धा कुँवरसँग छुट्टाछुट्टै छलफल गर्दै देवदहको विकास र प्राथमिकताका मुद्दा उठाएका हुन् ।
छलफलमा खैरेनी-शंकरपुर-धकधई सडक निर्माण आयोजनामा भइरहेको ढिलाइ, सडक हिलाम्मे तथा धुलाम्मे हुने समस्या, कल्भर्ट निर्माणमा भएको ढिलाइ तथा केरवानी-देवदह नगरपालिका कार्यालय हुँदै वडा नं. २ देबिस्थान जोड्ने सडकको अधुरो पुल निर्माण शीघ्र सम्पन्न गर्न माग गरिएको थियो ।
त्यस्तै, अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापन, राजस्व सूचना प्रकाशित भइसकेपछि पनि राजस्व बुझाउन नपाएका नागरिकको समस्या तथा लालपुर्जा वितरण प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ । आवास कम्पनीअन्तर्गत रहेका जग्गाको लालपुर्जा वितरण र राजस्व व्यवस्थापनको प्रगतिबारे समेत संघीय जनप्रतिनिधिको ध्यानाकर्षण गराइएको देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
मन्त्रीहरुसँगको भेटमा स्वास्थ्य क्षेत्रतर्फ देवदह नगर अस्पतालका लागि भिडियो एक्स-रे मेसिनसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन माग गरिएको छ । साथै, देवदहमा लाग्ने हाटबजारको व्यवस्थापन तथा स्तरोन्नति, आर्थिक वर्ष २०८३÷८४ का शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारलगायतका विकास योजनामा आवश्यक बजेट तथा कार्यक्रम सुनिश्चित गर्न आग्रह गरिएको डुम्रेले सेतोमसीलाई बताए ।
भेटमा नगर प्रवक्ता डुम्रेसहित वडा नं. १ का अध्यक्ष दीपक प्रसाद नेपाल, वडा नं. ३ का अध्यक्ष यज्ञप्रसाद अर्याल, वडा नं. ८ का अध्यक्ष हरिप्रसाद पाण्डे, वडा नं. ५ का जनप्रतिनिधि होमनाथ भट्टराई, देवदह खानेपानी सञ्जालका अध्यक्ष गुमानसिंह कुँवर, सुपरमाई हाइड्रो कम्पनीका प्रमुख कार्यकारी अधिकृत रवि पौडेल तथा कलाकार श्रीस देवकोटालगायतको सहभागिता थियो ।
छलफलका क्रममा संघीय जनप्रतिनिधिहरूले अधुरा सडक आयोजनाको निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग समन्वय गर्ने, अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापनसम्बन्धी कानुनी प्रक्रिया अघि बढिरहेको, आवास कम्पनीअन्तर्गतका जग्गाको व्यवस्थापनलाई प्राथमिकता दिइने तथा देवदह नगर अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको सहभागीहरूले जानकारी दिएका छन् । साथै, सडक, हाटबजार र अन्य पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन भइसकेको जानकारी पनि गराइएको थियो ।
स्थानीय जनप्रतिनिधिहरूले सामाजिक सञ्जाल वा सार्वजनिक अभिव्यक्तिमा मात्र सीमित नभई नागरिकका समस्या समाधानका लागि सम्बन्धित निकायमा प्रत्यक्ष पहल गर्ने उद्देश्यले भेटघाट गरिएको बताएका छन् । उनीहरूले यस पहलबाट देवदहको विकासका मुद्दा सम्बोधन हुने अपेक्षा व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology