देवदह । देवदह नगरपालिका वडा नं. ५ ले आर्थिक वर्ष २०८३/८४ का विकास योजनालाई कार्यान्वयन गर्न साउन मसान्तभित्र सबै टोलमा उपभोक्ता समिति गठन गर्ने र भदौ १५ गतेभित्र सबै योजनाको सम्झौता गर्ने निर्णय गरेको छ ।
वडा समिति तथा टोल विकास संस्था अध्यक्षहरूको सोमवार बसेको संयुक्त बैठकले समयमै योजना कार्यान्वयन गर्ने निर्णय गरेको वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए । 'हामीले गत आर्थिक वर्षमासमेत शतप्रतिशत योजना सम्पन्न गरेका छौं ।' नगर प्रवक्तासमेत रहेका वडाअध्यक्ष डुम्रेले भने, 'त्यसैको निरन्तरतासंगै अझै प्रभावकारी ढंगले योजना कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको छ ।'
बैठकले नवगठित टोल विकास संस्था तथा उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरूको क्षमता अभिवृद्धिका लागि भदौ महिनाभित्र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।
त्यसैगरी, वडा स्तरीय कार्यक्रमलाई सफल बनाउन साउन १७ गते आयोजना हुने महिला साइकल रेस प्रतियोगितामा प्रत्येक टोलबाट कम्तीमा पाँच जना महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको जनाइको छ ।
साथै, साउन २७ गते हुने युवा उद्यम प्रवर्द्धन कार्यक्रममा वडाभरिका युवाको व्यापक सहभागिता गराउन सबै टोल विकास संस्थाले आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णयसमेत गरिएको वडा कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology