देवदह । स्वर्णिम सगरमाथा कलेजले संचालन गरेको मोबाइल एप डिजाइन प्रतियोगितामा अक्सफोर्ड कलेज बुटवल प्रथम भएको छ । रुपन्देही र नवलपरासीका १५ कलेजका विद्यार्थी सहभागी प्रतिष्पर्धामा अक्सफोर्ड प्रथम भएको कार्यक्रम संयोजक दिपेश विक्रम मल्लले जानकारी दिए ।
प्रतियोगितामा अक्सफोर्डका विद्यार्थी प्रज्जवल केसी र डेभिड खत्रीले ज्ञान सागर नामक मोबाइल एपको डिजाइन गरेका थिए ।
प्रतियोगितामा एभरेष्ट कलेज बुटवलका कुशल न्यौपाने र सम्भव अर्यालको समूह दोस्रो भएको छ । एभरेष्टका विद्यार्थीहरुले इडियु नेपाल नामक मोबाइल एप डिजाइन गरेका थिए ।
त्यसैगरी कालिका कलेजका विद्यार्थी प्रतियोगितामा तेस्रो भएका छन् । विद्यार्थीहरु सिद्धान्त पन्थी र संयोग पाण्डेको समूहले ज्ञान ज्योति नामक मोबाइल एप डिजाइन गरेका थिए ।
प्रतियोगितामा रुपन्देही जिल्लाका देवदह, बुटवल, सैनामैना र नवलपरासीको सुनवलबाट कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी थिए ।
विद्यार्थीहरूलाई UX/UI को संसारमा अभिरुचि जगाउँदै प्रतिस्पर्धात्मक तथा सहयोगात्मक वातावरणमा प्रविधिमैत्री सीप सिकाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कलेजका कक्षा ११, १२ का संयोजक दिपेश विक्रम मल्लले जानकारी दिए ।
स्वर्णीम आई टी क्लबको अग्रसरतामा भएको कार्यक्रममा प्रतिस्पर्धी समूहले तोकिएको विषयको आधारमा ३–४ घण्टाभित्र ल्यान्डिङ पेज डिजाइन गरी बुझाएका थिए । प्रत्येक समूहले कार्यक्रम स्थलमै एउटा ल्यापटपको प्रयोगबाट स्टक आइकन, फन्ट, इमेज र सामान्य अनुसन्धानका लागि मात्र इन्टरनेट प्रयोग गरेर डिजाइन गरेको जनाइएको छ ।
कार्यक्रमको उद्घाटनमा कलेजका अध्यक्ष समेत रहेका देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्री, क्याम्पस प्रमुख कृष्ण प्रसाद पौडेल, स्वर्णीम आई टी क्लबका अध्यक्ष स्पर्श राई लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology