देवदह । रुपन्देहीको देवदह बजार आसपासका मुख्य सडक खण्डमा पछिल्लोपटक बढ्दो ओभर–स्पीडका कारण दुर्घटनाको जोखिम चुलिंदै गएको भन्दै स्ववियु, देवदह आदर्श बहुमुखी क्याम्पसले प्रहरीको ध्यानाकर्षण गराएको छ ।
स्ववियुका अध्यक्ष आश्विन न्यौपानेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा पछिल्ला केही महिनामा ओभर स्पीडकै कारण दुर्घटना भई अनेकौं व्यक्ति घाइते भएका तथा कतिपयले ज्यानसमेत गुमाउनुपरेको उल्लेख गरिएको छ । ध्यानआकर्षण पत्रमा सडक दुर्घटनाको समस्या सामूहिक सुरक्षा संकटका रूपमा विकसित भइसकेको जनाईएको छ ।
स्ववियुका प्रतिनिधिहरुले दैनिक सवारी चापसँगै ‘अत्याधिक गतिका कारण स्थानीय बासिन्दादेखि विद्यार्थी, व्यापारी तथा सर्वसाधारणको सुरक्षामा गम्भीर असर पारिरहेको बताए ।
प्रहरी चौकी देवदहका प्रमुख भिमसेन विष्टलाई ध्यानआकर्षण पत्र बुझाउँदै स्ववियु सभापति न्यौपानेले भने, ‘शैक्षिक संस्था, बजार क्षेत्र, भीडभाड हुने स्थान, घुम्ती र जोखिमयुक्त मोडहरूमा समेत चालकहरूले गति नघटाई सवारी सञ्चालन गर्ने प्रवृत्ति बढ्दो छ । यसबारे सुरक्षा निकायसँगै सर्वसाधारण समेत सचेत हुन आवश्यक छ ।’
स्ववियुले समुदायको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आवश्यक कदम तत्काल चालिए सडक दुर्घटनामा न्युनिकरण हुने उल्लेख गर्दै विद्यार्थी तथा स्थानीय युवाहरू समुदायको सुरक्षा र सवारी व्यवस्था सुदृढ बनाउन प्रहरी प्रशासनसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।
ध्यानाकर्षण पत्रमार्फत प्रहरी चौकी खैरेनीले सार्वजनिक सुरक्षामा निभाउँदै आएको निरन्तर सेवा र सक्रियताप्रति कृतज्ञता व्यक्त गर्दै स्ववियुले आगामी दिनमा पनि उस्तै सहकार्य रहिरहने विश्वास व्यक्त गरेको छ ।


Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology