बुटवल । प्रेस सेन्टर नेपालले आफ्नो स्थापनाको १८औं बर्ष पूरा गरेको छ । स्थापना दिवसको सन्दर्भमा देशैभरी कार्यक्रम गरेको सेन्टरको रुपन्देही जिल्ला समितिले बृद्ध आश्रममा पुगेर स्थापना दिवस मनाएको छ ।
शनिबार रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित श्री सत्यसाई वृद्ध सेवा आश्रम पुगेर प्रेस सेन्टर रुपन्देहीले आश्रममा रहेका जेष्ठ नागरिक एवं व्यवस्थापन टिमसंग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा बोल्दै नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक नारायण जीसी 'निर्मल' ले सम्मानित बुवा आमाहरूलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताए । बुवा आमाहरू बृद्ध आश्रममा बस्नुपर्ने विविध कारण हुन सक्छन् तर राज्य संयन्त्रले उहाँहरूको खानपान, बसाई देखि स्वास्थ्यको विषयमा समेत ध्यान पुर्याउन सके जेष्ठ नागरिकप्रति सम्मान हुने र सेवा आश्रम व्यवस्थापन गरिरहनुभएका सेवकलाई समेत सहज हुने उनको भनाइ थियो ।
कार्यक्रममा सेवा आश्रमका व्यवस्थापक केशव शर्माले कैयौं आर्थिक कठिनाईका विच स्थानीय समाजसेवीहरूको सहयोगबाट आश्रम व्यवस्थापन भैरहेको बताए । नियमित आर्थिक श्रोत केही पनि नभएको उल्लेख गर्दै शर्माले राज्य संचालकको नजर अझैपनि यसप्रकारका आश्रमहरूमा पर्न नसकेको दुखेसो गरे ।
सोही कार्यक्रममा बोल्दै आश्रममा बस्दै आउनुभएका आमाहरूले जीन्दगीको अन्तिम समयमा परिवारबाट अलग भएर बस्नु रहर नभएर बाध्यता भएको उल्लेख गर्दै नेपाली समाज हिजोभन्दा आजबढी अमानवीय र स्वार्थी भएकोमा दु:ख व्यक्त गरेका थिए ।
बृद्ध सेवा आश्रमलाई विभिन्न खाद्यान्न समेत हस्तान्तरण गरिएको उक्त कार्यक्रम प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष कमल रायमाझीको अध्यक्षता, सचिव विष्णु पोखरेलको संचालन तथा जिल्ला सचिवालय सदस्य रिया बस्नेतको स्वागतमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology