कविता : भ्रम
हजुरबुबाको सुका मानो घ्यु र
हजुरआमाको चारआने भैंसीको कथाले
कान दुखाएको मान्छे म ।
सात वर्षे गोमा ब्रम्हाणी र
सत्तरी वर्षीय शिव शर्मा ब्राह्मणको कथाले
टाउको दुखाएको मान्छे म ।
हिजो जस्तै लाग्छ
सुनपानीले भाँडाकुँडा अनि
गहुँत पानीले शरीर चोख्याएको मान्छे म ।
समय फेरिएला फेरिएन
फेरिएला फेरिएला जस्तो हुन्छ फेरिदैन
लाग्छ कहिलेकाही म भ्रममा रम्छु ।
त्यसैले त आजभोलि
साम्यवादको मीठो सपनाले कानेखुसी गर्दैगर्दा
समाजवादी सिरेटोले शरीर स्पर्श गर्दैगर्दा
आइफोनको स्क्रिनमा मार्क्सवादका ठेली पल्टाउँदै सोच्नेगर्छु
न जातीयताको पर्खाल न वर्गीय आसमानताको खाडल
अनि भन्ने गर्छु वाह! समृद्ध नेपाल
हैट म फेरि भ्रममा रहेछु ।
लाग्छ अब
प्रेम गर्दैमा मारिनु पर्ने छैनन नवराज विकहरु
जिवनजल नपाएरै मर्नुपर्ने छैनन राजु सदाहरु
संविधानका पानापाना मोबाईलमा पढ्दैगर्दा
मानव तस्करहरुको हातबाट बेचिएको
भाईको म्यासेजले झस्काउँछ र सोच्छु
हैट म फेरि भ्रममा रहेछु ।
सत्य त यो हो
यहाँ भ्रम रोपेर सत्ता फलाईन्छ
यहाँ कानेखुसीमै भत्ता पचाईन्छ
चाँदी घोटेर फलाम अनि
सुन घोटेर पित्तल बनाईन्छ ।
सोझालाई सुली चढाएर
फटाहालाई फेटा लगाईन्छ ।
रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी, नुवाकोट
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology