देवदह । देवदह नगरपालिकाको न्यायिक समितिले नगरका मेलमिलापकर्ताहरूलाई सम्मान गरेको छ । सोमबार नगरपालिकाको न्यायिक कार्यबारे अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरि मेलमिलापकर्ताहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले मेलमिलाप गराउने र न्याय दिलाउने कार्य सजिलो नभएको उल्लेख गर्दै सफलतापुर्वक आ-आफ्नो जिम्मेवारी पूरा गरेकोमा मेलमिलापकर्तालाई बधाई दिएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै नगरपालिकाका कानुनी सल्लाहकार डासिराम पाण्डेले कैयौं जटिलताका बाबजुद पनि न्याय सम्पादनमा देवदह नगरपालिकाले राम्रो काम गरेको उल्लेख गरे ।
मेलमिलापकर्ताको तर्फबाट बोल्दै मेलमिलापकर्ताहरू निमकला पुन, रामचन्द्र पौडेल, रुकु सापकोटा, डिल्लीराज मरासिनी, अजय रौनियार र माधव रिमाल लगायतले आफुहरूले भोगेका अनुभव सहित आफ्ना सुझाव राखेका थिए ।
नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक विद्यालक्ष्मी गुरुङको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा ७४ जना मेलमिलापकर्ता र ४ जना कर्मचारीलाई नगद दुई हजार ५ सय, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नगरपालिका न्यायिक समितिका अनुसार हालसम्म जम्मा ३७७ मुद्दा परेकोमा १९० मुद्दामा मेलमिलाप भएको, १०८ मुद्दा अदालतमा पठाईएको तथा १७७ मुद्दा टुङ्याँउन बाँकी छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology