काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताले सडकमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनको छानबिन गर्न बनेको कार्की आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
एमाले केन्द्रीय कार्यालय च्यासल नजिक कार्यकर्ताले टायर र कार्की आयोगको प्रतिवेदनको प्रति जलाएर प्रदर्शन गरेका हुन् । उक्त स्थानमा प्रहरीको उपस्थिति भने न्यून रहेको छ ।
प्रदर्शनका क्रममा एमाले कार्यकर्ताले पत्रकारलाई समेत धम्कीपूर्ण भाषा समेत प्रयोग गरेका छन् । पत्रकारलाई उनीहरुले ‘देश जल्दा कहाँ थियौ ? अहिले किन खिच्या ? ब्याक हौ ।’ भन्दै धम्की दिएका थिए ।
जेनजी आन्दोलनको छानबिन गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । चुनावपछि गठन भएको बालेन नेतृत्वको वर्तमान सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय हिजो गरेको थियो ।
सरकार गठन भएको पहिलो दिन नै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने प्रक्रिया सुरु गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology