कविता : मेरो छोरो हराएको सूचना!
भन्दा लर्बराइरहेछ जिब्रो, अनि मन डराएको छ
हजुर
बिवाह पछि हामी बुढाबुढीको छोरो हराएको छ
वर्षा अनि मौसमले ठगेसी किसान समेत मर्छन
सहारा नपाए साउनमै उम्रने धान समेत मर्छन
कसरी सुनाउँछ छिमेकीलाई बाउआमा खुसी हुनुहुन्छ भन्दै
यहाँ सन्तानले लात हानेसी कोखमा भगवान समेत मर्छन
छोरो!
तिमी बिरामी पर्दा सधै आमा रोकै हुन्थी
ढल्थी पिर मानी हप्तौ सम्म भोकै हुन्थी
खुसी हुन्छे आफ्नै भाग्य खोटो देख्दा पनि
सन्सार बिर्सन्छे उ तिम्रो फोटो देख्दा पनि
छोरोले मन पराउछ भन्दै महिको कडी पकाउछे उ
आज पनि
छोरो आउला भन्दै आधा गिलास चामल बढी पकाउछे उ
पहिलो पटक मलाई तिम्री आमाको सपना गन्हाएको छ
तिमी फर्किने आशैले उसलाइ कमजोर बनाएको छ
दुख पर्दा त मुसाको पनि साप मीत हुन्छ
छोरैद्वारा हेपिनुभन्दा बाझो कोख उचित हुन्छ
बिहेको भोलिपल्टैबाट
यो घरले खुसीको बहार देखेको छैन
आजसम्म
यो बुढो आखाले पनि नातिको अनुहार देखेको छैन
जवाफ फर्काएनम तिम्री जहानद्वारा अपशब्द बोलिदा पनि
मौन छम तिम्रा हर्कतले खुसीमा जहर घोलिदा पनि
तिमी आरामले निदाउदा कम्मल ओढि मोटो गद्दा माथी
गाली गरेनम जाडोले हाम्रो निन्द्रा बिथोलिदा पनि
जलेका हौँ, छोराको मतिमा कसैले आँखा लगाएसी
मर्म बुझ्छौ आफ्नो छोरोलाइ तिमीले काखा लगाएसी
तिम्रो छोरोले पनि तिमीबाट यहि सिकेको छ भोली
खुसी बढ्दो रहेछ बा आमा लाई पाखा लगाएसी
समाजले नै सिकायो होला बाआमा छाडिदे भन्दै
अब
आफन्त नपठाउनु पैसो भए सन्तानमा बाडिदे भन्दै
आमाले आफ्नो पटुकीमा दुइचार हजार बचाएकी छ
बरु, छिमेकी माइला दिनुपर्ला हाम्रो लास गाडीदे भन्दै
सकिए खेत, सकिए अन्न,
बाकी बर्षदिन पुग्ने गाँस मात्र छ
अब अट्दैनौ कोहि यहाँ
केबल दुई जना अटिने कपास मात्र छ
सम्पती बाढ्न आउनु अगाडि सम्झनु छोरा तिम्रो घरमा
सास फेर्दै बसेका दुइ को लास मात्र छ
कोख दुख्यो सारो गरि दुधको थुन कराएको होला
आमाको, अनि बाउको भरोसा पनि उस्तै डराएको होला
फिजिक्स सिक्दा, अर्थशास्त्र सिक्दा, सस्कार नसिकेपछि
धेरैको घरमा बिबाह पछि छोरो हराएको होला
अन्तत:
सभ्य बनोस मानेर हाम्रो शर्त नदोहोरिओस
नातीको पालोमा उसको बाको जस्तो हर्कत नदोहोरिओस
माफ गरिदिनु!!!
छोरो ! तिमीले सोचेजस्तो फरक बन्न सकेनौँ
निर्धक्क भन्न सकेनौ, तिम्रो अधिकार र हक बन्न सकेनौँ
तिमीले चाहिँ आफ्नो छोरोलाइ राम्रो पर्वरिश दिनु
सरी! हामी त खोइ गतिलो
अभिभावक बन्न सकेनौ !
- अस्मित रेग्मी, देवदह
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology