देवदह । देवदह नगर कार्यपालिकाको 'विशेष' प्रथम बैठक बुधबार सम्पन्न भयो । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने २ करोड समपुरक बजेटको लागि योजना तर्जुमा गरि पठाउनुपर्ने र त्यसको लागि समय नभएको हुनाले कार्यपालिका पूर्ण नहुँदै प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको विशेष बैठक बसि केही योजनाहरू पारित गरियो । जसको पुष्टि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराज बेल्बासेले यस अघि नै गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत बेल्बासेका अनुसार बैठकले शीत भण्डारको लागि एक करोड पचास लाख, नगरपालिकाको भवनमाथि ट्रस निर्माण गर्न १ करोड, खैरेनी बजारबाट नगरपालिका कार्यालय जाने बाटो बिस्तारका लागि ५० लाख, भलुहीबाट चरङ्गे जाने भित्री बाटोको नाली सहित कालोपत्रे गर्न ५० लाख र वडा नं. ११ मा बाटो पिच गर्न ५० लाख गरि ४ करोड बराबरको योजनाका लागि प्रदेश सरकारबाट २ करोड रकम माग गरेको छ । जसमा लाग्ने अर्को २ करोड नगरपालिकाले आफ्नो कोषबाट खर्च गर्नेछ ।
नगरकार्यपालिकाको प्रथम बैठकले लिएका अन्य निर्णयहरूमा त्यति प्रतिक्रिया नआएपनि नगरपालिका भवनमा ट्रस लगाएर सभाहल बनाउने १ करोड बजेट लागतको योजनाले भने सामाजिक संजाल तताएको छ ।
सामाजिक संजालमा कस्ले के लेखे ?
सामाजिक संजालमा लेख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानु तिवारीले नवनिर्मित नगरपालिका भवनको माथि एक करोडको ट्रस निर्माण गर्नुपर्ने बाध्यता के हो ? आम नागरिकलाई जानकारी होस् भनेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कै अर्का युवा नेता तोयानाथ लम्सालले नवनिर्मित नगरपालिका भवनको माथि एक करोडको ट्रस निर्माण गर्नुपर्ने निर्णय शंकास्पद भएको हुँदा नगरपालिकाबाट सत्यतथ्य केहो नगरवासीलाई जानकारी गराइयोस भनेका छन् ।
पत्रकार त्रीलोचन दाहालले नगरपालिकाको निर्णयमा अचम्मित हुँदै 'देवदह नगरपालिकाकाे कार्यपालिका बैठकले प्रदेशकाे समपुरक बजेटमा गरेका निर्णय हेर्दा अचम्म लाग्याे' भनेका छन् ।
नेकपा माओवादी केन्द्रका देवदह इन्चार्ज तुल्सी न्यौपानेले नगरपालिकाका निर्णयको 'स्कृन सर्ट' पोस्ट गर्दै देवदह नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको निर्णय क्षमता माथि प्रश्न खडा भएको बताएका छन् । उनले देवदह क्षेत्रभित्रका कयौं विद्यालयका पुर्वाधार जिर्ण छन्, नगरपालिकालाई किन चाहियो ट्रस भन्ने प्रश्न गर्दै तीन तलामाथी ट्रसको आबस्यकता देखिदैन यो फजुल खर्चमात्र हो । यसभित्र भ्रष्टाचारको गन्ध लुकेको महसुस हुन्छ' भनेका छन् ।
देवदह ११ को वडाध्यक्षका स्वतन्त्र उम्मेदवार समेत रहेर पराजित भएका असिम श्रेष्ठले ७५ लाखको लागतमा देवदह १ मा बनेको सुविधा सम्पन्न हल नगरपालिकाले प्रयोग गरि अनावश्यक ठाउँमा लगानी गर्न नहुँने धारणा राखेका छन् । उनले नगरपालिकाको भवनमा चुहिने समस्या छ भने त्यसको छानबिन गरिनुपर्ने माग समेत राखेका छन् ।
पत्रकार समेत रहेका युवा व्यवसायी पवन पौडेलले नगरले बिनियोजन गर्ने बजेट उपभोक्तामुखी बनुन्, ठेकेदारलाई हेरेर बजेट बिनियोजन गरियो भने भ्रष्टाचार त्यहिबाट सुरु हुन्छ भन्दै युबाले त्यस्तो प्रवृत्तिको खुलेरै बिरोध गर्ने बताएका छन् ।
माओवादी नेता ॠषि लामिछानेले नगरपालिकाको निर्णयलाई व्यंग गर्दै देवदहको सुशासन र समृद्धिको पहिचान १ करोडको नवनिर्मित भवनमा ट्रस निर्माण लेखेका छन् ।
नगरपालिकाका कर्मचारी समेत रहेका एफ पि बगालेले भने नगरपालिकाको निर्णयमा समर्थन जनाएका छन् । उनले नगरपालिकाको भवनलाई पानी आउदा चुइनबाट बचाउन ( उपमेयर हाकिम साब साथै पछाडिको भागमा ) र ५० जना भन्दामाथिको सहभागी सहितको बैठक हुँदा होटेलमा जानुपर्ने अवस्थाको अन्त्य गर्न ट्रस आवश्यक रहेको दावी गरेका छन् ।
यस विषयमा सेतोमसीसंग कुरा गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बेल्बासेले सभाहलको आवश्यकता र भवनका कोठामा पानी पस्ने समस्याको समाधानको लागि ट्रस आवश्यकता रहेकोले उक्त निर्णय लिईएको बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology