काठमाडौँ । काठमाडौं महानगरपालिकाले ७० वर्षभन्दा माथिका २ हजार ८४७ जना ज्येष्ठ नागरिकमा गरेको स्वास्थ्य सर्वेक्षणले अधिकांश ज्येष्ठ नागरिक दैनिक ५ देखि १५ प्रकारसम्मका औषधि सेवन गरिरहेको देखाएको छ ।
सर्वेक्षणका क्रममा एक ९० वर्षीय ज्येष्ठ नागरिकले दैनिक २१ प्रकारका औषधिसमेत प्रयोग गरिरहेको पाइएको छ । सर्वेक्षणअनुसार ८० प्रतिशत ज्येष्ठ नागरिकमा उच्च रक्तचाप र करिब ४० प्रतिशतमा मधुमेहको समस्या देखिएको छ। महिलामा बाथ तथा हाडजोर्नीसम्बन्धी समस्या बढी रहेको छ भने पुरुषमा प्रोस्टेटसम्बन्धी समस्या उल्लेख्य रूपमा देखिएको महानगरपालिकाले जनाएको छ ।
अध्ययनले ७५ प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिकलाई नियमित घरमै स्वास्थ्य निगरानी र हेरचाह आवश्यक रहेको देखाएको छ। करिब १० प्रतिशत ज्येष्ठ नागरिक तत्काल अस्पतालमा विशेषज्ञ उपचार आवश्यक पर्ने अवस्थामा रहेको तथा १५ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ ।
महानगरपालिकाका अनुसार औषधिको धेरै प्रयोग, निरक्षरता, एक्लोपना र पारिवारिक स्याहारको अभावले ज्येष्ठ नागरिकको स्वास्थ्य थप जटिल बन्दै गएको छ । सर्वेक्षणले वडा तहमा ज्येष्ठ नागरिक नर्सिङ डेस्क स्थापना, घरदैलो स्वास्थ्य सेवा विस्तार र औषधि व्यवस्थापनलाई सरल बनाउने प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology